काठमाडाैं । पराष्ट्रविद् एवम् पूर्वराजदूत प्रा.डा. लोकराज बरालले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण नेपालका लागि सुखद् हुने बताएका छन् । उनले प्रधानमन्त्री देउवाकाे भ्रमणले दुई देशबीचको सम्बन्धमा गतिशिलता देखिने विश्वास पनि व्यक्त गरेका छन् ।
प्रधानमन्त्री देउवाको भारत भ्रमणको पूर्व सन्ध्यामा मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बरालले भारतसँगको नेपालको सम्बन्धमा गतिशिलता थपिने विश्वास व्यक्त गरेका हुन् । उनले भने,‘अब दुई देशका प्रधानमन्त्रीबीच के-के कुराकानी हुने भन्ने कुरा त बाहिर नै आइसकेको छ, पूर्वाधार निर्माणको कुरा, विकास परियोजना, कृषि, व्यापारको कुरा छ, जलस्रोतको प्रयोगबारे आदि छलफल हुन्छ । नेपाल र भारतबीचको सम्बन्ध त इनफर्मल छ । त्यही भएर दुई प्रधानमन्त्रीबीच अनौपचारिक कुराकानी पनि हुनसक्छ । उहाँको भारत भ्रमण सफल होस भन्ने कामना छ । दुई देशबीच सहयोगात्मक सम्बन्ध हुनुपर्छ ।’
उनले राष्ट्रवादको कुरा उठाएर सम्बन्ध बिगार्ने काम गर्न नहुने धारणा पनि राखे । उनले भने,‘प्रधानमन्त्री देउवाले अठोटका साथ एमसीसी पास गर्नुभयो । यो राम्रो काम गर्नुभयो । चिनियाँ विदेशमन्त्री भर्खरै नेपाल आउनुभयो, यो पनि राम्रो काम हो । उहाँ आँफै भारतीय प्रधानमन्त्रीको निम्तोमा भारत जाँदैहुनुहुन्छ । यो सरकारको विदेश सम्बन्ध राम्रो छ। अझै काम हेर्न बाँकी छ ।’
डा. बरालले नेपाल–भारत सम्बन्ध भन्नेबित्तिकै यसका बहुआयामिक सम्बन्ध रहेको उल्लेख गरे । उनले भने,‘यसका संरचनागत सम्बन्ध कस्तो छ ? गतिशील सम्बन्ध कस्तो छ ? सम्भावनाहरु के हुन सक्छन् ? अनि घट्नाहरुले कसरी प्रभावित पार्न सक्छन् भनेरचाहीँ विभिन्न कोणबाट हेर्नुपर्ने हुन्छ । जहाँसम्म प्रधानमन्त्रीको भारत भ्रमणको कुरा छ, यसले कुनै संरचनागत सम्बन्धलाई असर गर्दैन्, सम्बन्धमा हामीले जुन मान्यता तय गरेका छौं, १९५० को सन्धि पनि छ, यो पनि एउटा सम्बन्धको संरचना हो, त्यसमा परिवर्तन हुने त्यस्तो केही पनि छैन्, नेपाल–भारत सम्बन्ध सन्धि नै नभए पनि उस्तै रहन्छ, खाली भारतले हामीले पाउँदै आएको सुविधा सन्धिबिना दियो भनेमात्रै है ।’
भूगोलले पनि नेपालको परराष्ट्र नीतिलाई निर्धारण गरेको उनको भनाइ छ । उनले भने,‘भूगोल भनेको बोल्दैन । तर भूगोलचाहीँ के हो भने त्यो छ त्यहाँ, ठूलो ठूलो घट्नाक्रम भैरहन्छन्, तर भूगोल त जहाँको त्यहीँ छ नि । त्यसलाई परिवर्तन गर्न सकिँदैन् । मान्छेले भू–राजनीति, भू–राजनीति भन्छन्, सबै मुलुकको आफ्नो भू–राजनीति हुन्छ । हाम्रो परिवेशमा भू–राजनीति भनेको दुई वटा मुलुकको बीचमा बसेको मुलुक हो नेपाल, भूगोलले नै हाम्रा धेरै कुरा निर्धारण गर्दछ ।’
उनले भारतसँगको सन्धि नै असमान छ र यसलाई परिवर्तन गर्नुपर्छ भन्नेहरु पनि प्रधानमन्त्री भएर आएको तर उनीहरुले परिवर्तन गर्न नसकेको सुनाए । उनले भने,‘नेपाल र भारतबीच जुन सम्बन्ध छ, यो अचम्मै खालको छ । संसारमा अरु मुलुकबीच यस्तो सम्बन्ध बहुत कम होला । हामीले जतिसुकै नाका उत्तरतिर खोलेपनि, भारतसँगको सम्बन्ध आफ्नै खालको हुन्छ । चीनसँगको सम्बन्ध पनि हाम्रो आफ्नै खालको हुन्छ । हरेक सम्बन्धलाई तुलना गर्न मिल्दैन ।’
उनले पछिल्लो समय भारतसँगको नेपालको सम्बन्ध अलिकति चिसिएको जस्तो देखिएको पनि सुनाए । उनले भने,‘अब त्यसलाई गतिशिल बनाउनेमात्रै कुरा हो । अहिले प्रधानमन्त्री देउवाको भारत भ्रमण, यो सद्भावना यात्राजस्तै हो । भएका परियोजनाहरु जुन छन्, अगाडि नै सुरु गरेका कतिपय काम छन्, यसलाई कसरी समयमै बनाउने कुरा हो । अरु तात्विक नयाँ कुरा आउँछन् जस्तो लाग्दैन । मान्छेले लिम्पियाधुरा, लिपुलेक, कालापानीको कुरा उठाउँछन्, यो सबै हुन्छन् भन्ने होइन । यो धेरै लामो प्रक्रियाको हो । भारतका पनि आफ्नै बाध्यताहरु होलान् । सिमा विवादको कुरा, वार्ता सुरु गर्नु राम्रो हो ।’
बरालले अब नेपाल–भारत प्रवुद्ध व्यक्ति समूहले तयार पारेको प्रतिवेदन स्वतः खारेज भएको सरह रहेको टिप्पणी गरे । उनले भने,‘पहिले सार्कको समयमा पनि इपिजी बनेको थियो । नेपाल–भारत सम्बन्धमा पनि इपिजी बनेको हो । भारतले इपिजीको प्रतिवेदन नुबझ्नु थियो भने यो समूह नै बनाउनुहुँदैन थियो भन्ने लाग्छ, अथवा प्रतिवेदन बुझेर राखेको भए पनि हुन्थ्यो । अब भारतले प्रतिवेदन नबुझेपछि कुटनीतिक भाषामा भन्ने हो भने यो ईपिजीको प्रतिवेदन स्वतः खारेज भएको बुझिन्छ। ईपिजीको प्रतिवेदनको कन्टेन्ट उसलाई चित्त बुझेन होला । यो त अनुमानको कुरा नै हो ।’
उनले नेपाल–भारत सम्बन्धको कुरा गर्दा भारतले नेपाललाई दिने सहयोग बढाउनेजस्तो लागेको अनुमान सुनाए । तर, पैसामात्रै बढाएर नहुने भन्दै अहिले भएका परियोजना समयमै सम्पन्न हुनुपर्नेमा उनले जोड दिए ।