
काठमाडाैं । नेपाली काङ्ग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासँग चुनाव लड्ने भन्दै उम्मेदवारी घोषणा गरेका सागर ढकालले चन्दा असुल्न थालेका छन् ।
आसन्न प्रतिनिधि सभाको निर्वाचनमा देउवालाई पराजित गर्दै प्रधानमन्त्री नै बन्छु भनेर लामो समयदेखि डडेल्धुरामा रहेर चुनाव लक्षित कार्यक्रम गर्दै नागरिकहरुसँग भेटघाटमा व्यस्त रहेका ढकालले सामाजिक सञ्जाल फेसबुकमा एक पोष्ट राख्दै आर्थिक सहयोगका लागि अपिल गरेका हुन् ।
उनले भनेका छन् ‘म आगामी मंसिर ४ मा हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनमा डडेल्धुराबाट उम्मेदवारी दिँदै छु । यसरी म चुनावी मैदानमा होमिँदा धेरै जना मलाई आर्थिक सहयोग गर्नका लागि इच्छुक हुनुहुन्छ ।’ उनले आर्थिक सहयोगका लागि अपिल गर्दै बैंक खाता नम्बर, ई–सेवा नम्बर र खल्ती नम्बर सेयर गरेका छन् । केही समय अगाडिसम्म चुनाव लड्न पैसा आवश्यक छैन भन्ने अभिब्यक्ति दिने ढकालले अहिले चन्दा असुल्न थाले पछि सामाजिक सञ्जालमा उनको चर्को आलोजना भइरहेको छ ।
को हुन् सागर ढकाल ?
सागर ढकालको घर गुल्मी हो । उनले अक्सफोर्ड विश्वविद्यालयबाट पोलिसी एन्ड म्यानेजमेन्टमा एमएस्सी गरेका छन् । केही वर्ष अगाडि बीबीसीको साझा सवाल कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवालाई चर्को प्रश्न सोधेको र देउवाले नराम्रोसँग हप्काए पछि ढकाल चर्चामा आएका थिए ।
देउवालाई प्रश्न सोध्ने बेला सागरले पुल्चोक क्याम्पसबाट हाइड्रो मेकानिकलमा बीई गरेका थिए भने ४१० मेगावाटको नलसिङगाड जलविद्युत आयोजनामा करारको काम गर्थे । अक्सफोर्डमा एक वर्षको पढाइ पूरा गरेपछि ६–७ महिना उतै बसेको र पछि चीनमा काम गर्न गएको उनी बताउँछन् । अहिले आएर ४० वर्ष माथिका राजनीतिज्ञहरुलाई अब आराम दिनु पर्छ भनेर उनी प्रधानमन्त्री देउवाकै क्षेत्रबाट चुनाव लड्न तम्सिएका छन् ।
सागरले जित्लान् त देउवालाई ?
काङग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न प्रतिनिधिसभाको निर्वाचन डडेल्धुराबाट लड्ने पक्कापक्की भइसकेको छ । सागरको पक्षमा केही जनमत देखिए पनि देउवालाई हराउनु उनको दिवा सपना भएको धेरैले टिप्पणी गरेका छन् ।
२०७८ साल असार २९ गते पाँचौ पटक प्रधानमन्त्री बनेका देउवाले २०४८ सालदेखि डडेल्धुराबाट निरन्तर चुनाव जितिरहेका छन् । नेपाली काङ्ग्रेस भित्र डडेल्धुरामा देखिएको केही गुटबन्दी र टुटफुटले देउवाको राजनितिक भबिष्यमा केही प्रभाव परे पनि एक्लै चुनाव लडेर आगामी निर्वाचन जित्न देउवालाई धेरै सकस भने छैन । अहिले ५ दलीय गठबन्धनको साझा उम्मेदवारको रुपमा देउवा अघि सारिएकाले देउवालाई हराउँछु भन्नु सागरको हास्यास्पद कुरामात्र भएकाे स्थानीय नागरिकहरु बताउँछन् ।
गुल्मीका सागरले डडेल्धुरावासीका समस्या कसरी बुझ्लान् ?
नेपाली नागरिकले आवश्यक मापदण्डको पालना गर्दै देशको जुनसुकै निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन लड्न पाउने अधिकार छ । तर गुल्मी घर भएका सागरले यदी निर्वाचन जिते पनि डडेल्धुरावासीका समस्या कसरी बुझ्लान् भन्ने प्रश्न कडा रुपमा उब्जिएको छ ।
अलग भाषा, संस्कृति, भेषभुषा र भु–गोल बुझ्न सागरलाई कति वर्ष लाग्ला ? के गुल्मीको मान्छेले डडेल्धुराको विकासका लागि काम गर्ला त ? धेरैको जिज्ञासा छ । यी प्रश्नकाे जवाफ समयक्रममा पाइएला । तर धेरैले प्रधानमन्त्री देउवाले कार्यक्रममा हप्काएका कारण सागरमा देउवासँग चुनाव लड्ने भुत चढेको दाबी गर्ने गरेका छन् ।
सागरले बुझेकै छैनन् संवैधानिक व्यवस्था
प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘हजुर बुवा’ को संज्ञा दिएर अब आराम दिने र आफू प्रधानमन्त्री बन्ने दाबी गर्दै आएका सागर ढकालले प्रधानमन्त्री बन्न नेपालको संविधानिक व्यवस्था नै नबुझिएको देखिएको छ ।
नेपालको संविधानमा देशको प्रधानमन्त्री बन्न कुनै राजनीतिक दलको बहुमत प्राप्त संसदीय दलको नेता हुनुपर्ने उल्लेख गरिएको छ । तर सागरले स्वतन्त्रबाट चुनाव जिते पनि कसरी प्रधानमन्त्री बन्ने दाबी गरिरहेका छन् अचम्मको कुरा छ । सागरको यो दावीले उनको अल्लारेपन प्रष्ट पारेको छ ।
उनले बिहीबार मात्रै ‘नेपालले विश्वकै बुढो प्रधानमन्त्री पाउने कि विश्वकै कान्छो प्रधानमन्त्री जन्माउने भन्ने कुरा मंसिर ४ मा डडेल्धुराका जनताले छान्नेछन् । बाजे जिते बाल, नाति जिते बब्बाल । भूतलाई सम्मान भविष्यलाई मतदान’ भन्दै एक ट्वीट गरेका छन् । उनको यो ट्वीटमा सकरात्मकभन्दा पनी नकरात्मक टिप्पणीहरु बढी आएका छन् ।