रविन्द्र मिश्र वंशवादको भूत बोकेर हिँडेपछि प्रकाशमानलाई काठमाडौं १ मा सजिलो

काठमाडाैं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका छन् ।

गठबन्धनका तर्फबाट उनले आइतबार मनोनयन दर्ता गराएका हुन् । उनकै निर्वाचन क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता रविन्द्र मिश्रको पनि उम्मेदवारी छ । नेकपा एमालेबाट युवा नेता किरण केसी, नेपाल शुसासन पार्टीका रमेश खरेल र स्वतन्त्रबाट पुकार बमसहित स्वतन्त्रबाट केही नयाँ अनुहारहरुसमेत यो क्षेत्रमा उम्मेदवारको रुपमा देखिएका छन् ।

यस्तो अवस्थामा काठमाडौं क्षेत्र नम्बर १ मा कसले बाजी मार्ला ? भनेर विभिन्न किसिमका अड्कलबाजी गर्न थालिएको छ । राप्रपाका मिश्र प्रकाशमान सिंहका निकटतम प्रतिद्वन्द्वी मानिन्छन् । यो पटक पनि उनीहरुबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । अन्य उम्मेदवारहरुलाई केही हदसम्म भोट काट्न सक्ने कैँचीको रुपमा हेरिएको छ ।

२०७४ सालको निर्वाचनमा सिंह र मिश्रबीच कडा प्रतिस्पर्धा भएको थियो । त्यती बेला मिश्रले विवेकशील साझा पार्टीबाट निर्वाचन लडेका थिए । मिश्रलाई भारी मतान्तरले पराजित गर्दै सिंहले बाजी मारेका थिए । उसो त प्रकाशमान सिंह २०६४ / २०७० सालमा पनि काठमाडौं क्षेत्र नम्बर १ बाटै विजयी भएका थिए ।

यो निर्वाचनमा पनि गठबन्धनका उम्मेदवार प्रकाशमान सिंहले नै बाजी मार्ने आँकलन गरिएको छ । ०७४ को निर्वाचनमा नेकपा माओवादी केन्द्र र नेकपा एमालले चुनावी गठबन्धन गरेका थिए । काठमाडौं क्षेत्र नम्बर १ मा बामगठबन्धनका तर्फबाट अनिल शर्मा उम्मेदवार थिए । उनले ५३३६ मत मात्र प्राप्त गरेका थिए । जबकी नेपाली कांग्रेसका प्रकाशमान सिंहले १०९३६ मत प्राप्त गर्दै विजय हासिल गरेका थिए । यो नेपाली कांग्रेसकाे चोखो मत मानिएको थियो । अहिले गठबन्धनका अन्य दलहरुको मत पनि सिंहले पाउनेछन् ।

सिंहका निकटतम प्रतिद्वन्द्वी मिश्रले १०११८ मत प्राप्त गरेका थिए । ७४ मा यो क्षेत्रमा विवेकशील साझाको राम्रो प्रभाव थियो तर मिश्र अहिले राप्रपाबाट लडिरहेका छन् ।

०७४ मा वैकल्पिक शक्तिकाे रुपमा उदाएकाे साझा पार्टी र विवेकशील नेपाली दलकाे एकीकरण भएर बनेकाे विवेकशील साझा पार्टीबाट चुनावमा हाेमिएका मिश्र यतिबेला राप्रपाबाट चुनावमा उठेका छन् । वैकल्पिक राजनीतिकाे धारमा उनी टिक्न सकेनन् ।

पुराना पार्टीले केही काम नगरेकाे भन्दै आक्राेश व्यक्त गरेर नयाँ अनुहारमा केही आशा गरेका कतिपय मानिसहरु यतिबेला मिश्रसँग रुष्ट बनेका छन् । अहिले मिश्रले खुलेर राजसंस्था र राजाकाे बारेमा बाेलिरहेका छन् । राजसंस्था मन नपराउनेकाे जमात पनि बाक्लाे भएका कारण उनकाे मत झन् कम हुने कतिपयकाे बुझाइ छ ।

राप्रपा प्रवेश गरेर २१ औँ शताब्दीमा शाह वंशकाे भूत बाेक्दै धर्मकाे नाममा राजनीति गरेर सांसदकाे लाेगाे लगाउन कस्सिएका रविन्द्र मिश्रकाे पूरातन र साम्प्रदायिक राजनीतिलाई काठमाडाैं १ का सचेत जनताले पत्याउन मुश्किल पर्ने राजनीतिक वृत्तमा चर्चा छ ।

काठमाडौं क्षेत्र नम्बर १ मा नेपाल सुशासन पार्टीका रमेश खरेल र स्वतन्त्रबाट पुकार बमलगायतका अन्य स्वतन्त्र उम्मेदवारहरुले पनि उम्मेदवारी दिएका छन् ।

भ्रष्ट्राचार अन्त्य गरी नेपालमा सुशानसन कायम गर्न भनी आएकाे खरेलकाे पार्टीकाे पनि खास राजनीतिक मुद्दा छैन । खरेलले देश सुहाउँदो, सुशासनलाई प्रमुख एजेन्डा बनाएर पार्टीलाई अघि बढाउने बताए पनि याे पार्टीकाे खास राजनीतिक उदेश्य भने प्रष्ट छैन । पार्टीकाे राजनीतिक उदेश्य नै नभएकाे पार्टीलाई नागरिकले अहिले नै विश्वास गरिहाल्ने कुनै पनि आधार देखिँदैन ।

स्वतन्त्र उम्मेदवारी दिएमा जित पक्का हुन्छ भन्ने मानसिकताले केहीले हचुवाको भरमा उम्मेदवारी दिएको देखिन्छ । स्वतन्त्र उम्मेदवारहरु धेरै भएकाले उनीहरुको मत बाडिँने र प्रकाशमान सिंहलाई चुनाव जित्न अझ सहज हुने आँकलन पनि गरिएकाे छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१