चीनले नेपाली भूमि मिचेको प्रमाण छैन (भिडिओसहित)

काठमाडाैं । नेकपा एमालेले दार्चुलाबाट चुनावी अभियान सुरु गर्दै भारतीय नियन्त्रणमा रहेको नेपाली भूमि (लिपुलेक, कालापानी र लिम्पियाधुरा) बाट भारतीय सेना हटाउने उद्घोष गरे लगत्तै पुनः एकपटक अतिक्रमित नेपाली भूमिबारे बहस प्रारम्भ भएको छ ।

वरिष्ठ पत्रकार एवम विश्लेषक गोपाल खनालका अनुसार अतिक्रमित नेपाली भूमि नेपालको नक्शामा अंकित गरी आफनै स्वामित्व कायम गर्ने कुराको अगुवा एमालेले गरेकाले दार्चुलामा अध्यक्ष केपी शर्मा ओलीको उद्घोष त्यसैको निरन्तरता भएको बताए ।

ओली प्रधानमन्त्रीहुँदा परराष्ट्र विज्ञसमेत रहेका खनाल भारतीय गुप्तचर सामन्त गोयलसंगको भेट र पुस्तकमा चुच्चे नक्शा नछापिएको कुरालाई लिएर ओलीको तेजोबोध गरिनु सरासर अन्याय भएको बताउँछन् ।

पुस्तकमा नक्सा नछापिनुको कारणबारे तत्कालिन शिक्षा मन्त्री गिरिराजमणि पोखरेलतर्फ संकेत गर्दै उनले ओलीविरुद्ध षडयन्त्र गरेर मुलुकलाई नै कमजोर पार्ने खेल भएको धारणा राखे ।

खनालका अनुसार भारतले नेपाली भूमि मिचेको तथ्यलाई लुकाएर कांग्रेसले घोषणापत्रमार्फत चीनले हुम्लामा सीमा मिचेको कुरा उठाएर विषयान्तर गर्न खोजेको आरोप लगाए ।

खनाल भन्छन्, ‘तत्कालिन समयमा प्रदीप ज्ञवालीको नेतृत्वमा बनेको समितिले चीनले सीमा नमिचेको निष्कर्ष निकालेको हो । कांग्रेस नेता जीवनबहादुर शाहीले एकतर्फीरुपमा हुम्लामा सीमा मिचिएको जिकीर गरे र कांग्रेसले पनि सोही बमोजिम धारणा बनायो । पछि कांग्रेस नेतृ्त्वको सरकारले सह–सचिव जयनारायण आचार्यको संयोजकत्वमा छानबिन समिति बनायो । त्यो समितिको प्रतिवेदन सार्वजनिक भएको छैन । प्रतिवेदन नै सार्वजनिक नगरी चीनले भूमि मिच्यो भन्न मिल्छ ? ’

नेकपा एमाले भारत र चीनसहित सबै देशसंग सन्तुलित सम्बन्ध स्थापित गरेर अघि बढिरहेको बताउँदै उनले कम्युनिष्ट मुलुक भएका कारण चीनसंग एमाले नरम भयो भन्ने कुरामा सत्यता नभएको बताए ।

मंसिर ४ गतेको निर्वाचनमा एमालेले १०० प्रत्यक्ष र समानुपातिकतर्फ ५० सिट जितेर बहुमत ल्याउने खनालको दाबी छ । चुनावपछि अध्यक्ष ओली प्रधानमन्त्री बन्ने र त्यसपछि मुलुकमा विकास र समृद्धिको नयाँ युग प्रारम्भ हुने उनी बताउँछन् ।

विस्तृत भिडिओमा :

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१