फण्डा गर्नेहरुलाई मंसिर ४ मा ‘ब्याटल बक्स’बाट जवाफ दिनेछाैँ : रवि लामिछाने

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेले निर्वाचनको मुखमा भ्रम फैलाउने उद्देश्यले विभिन्न किसिमका फण्डा भइरहेको बताएका छन् ।

आफ्नो ४ वर्षअघि सल्टिएको नागरिकतासम्बन्धी विषय चुनावी फण्डामात्र भएको उनको दाबी छ ।

लामिछानेले आफ्नो अमेरिकी पासपोर्ट र नेपाली नागरिकतासम्बन्धी विवाद ४ वर्षअगाडि नै सल्टिएको विषय भएको स्पष्ट पनि गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुक लाइभमार्फत लामिछानेले भनेका छन्, ‘हामीमाथि फिजिकल र डिजिटल दुवै आक्रमण निरन्तर चलिरहेको छ यसबाट विचलित भएको छैन र कोही पनि नहुनुहोला । आयोगको पत्र आएको छैन । आएपछि आयोगलाई उचित जवाफ दिने छु । त्यसैका आधारमा यहाँहरूलाई जानकारी हुने नै छ ।’

उनले ७ दिनको म्याद दिएर पत्र काटेको सुनेको भन्दै पत्र प्राप्त भएपछि सबै जवाफ दिइने बताए । उनले आफूविरुद्ध फण्डा गर्नेहरूलाई मंसिर ४ गते ब्याटल बक्सबाट जवाफ दिइने पनि बताए ।

उनले आफूविरुद्ध भ्रम फैलाउनका लागि केही मान्छे चितवनमा अड्डा जमाएर बसेको पनि दाबी गरे ।

मंगलबार चितवनको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा लामिछानेको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी दर्ता भएकाे थियाे ।

राजकुमार पाण्डेले दर्ता गरेको उजुरीमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लामिछानेले अमेरिकाको नागरिकता नत्यागेका कारण उम्मेदवारी खारेजी हुनुपर्ने माग गरिएको छ ।