संघीयता नेता व्यवस्थापनका लागिमात्र भयाे, यसकाे औचित्य छैन : विप्लव

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द विप्लवले मुलुकमा संघियताको औचित्य नभएको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यलयले कपिलवस्तुमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता विप्लवले वर्तमान संघीयता जनताको लागी नभई नेता व्यवस्थापनको मात्र भएकाले मुलुकमा संघीयताको औचित्य नभएको बताएका हुन् ।

साक्षात्कार कार्यक्रममा महासचिव चन्दले प्रदेश र संघको निर्वाचनमा आएको मतपरिणामले दलहरुको औचित्य नभएको प्रस्ट पारेको बताए । उनले राज्य आर्थिक संकटको भुमरीमा फसेकोले राज्यले विशेष आर्थिक निति नल्याए नेपाल श्रीलंकाभन्दा थप संकटमा पर्ने उल्लेख गरे ।

उनले आफूहरुले थालेको क्रान्ति मान्छे मार्ने नभइ वैज्ञानिक समाजवाद ल्याएर आर्थिक क्रान्ति गरि देशको स्वाधीन अर्थतन्त्रको क्रान्ति भएकाे प्रष्ट पारे । महासचिव चन्दले भर्खरै सम्पन्न मंसिर ४ को निर्वाचनले जनतामा खुसी,उल्लास नछाएको भन्दै दल र दलका नेताहरु सुध्रिनुपर्नेमा जोड दिए ।

उनले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार हुँदा गरिएको ३ बुँदे सहमति भएको र वर्तमान सरकारसँग पनि सहमति कार्यान्वयन गर्नका लागि विभिन्न कोणबाट छलफल भइरहेको बताए ।

महासचिव चन्दले नेपालमा कम्युनिष्टहरु बलियो हुदाँ कम्युनिष्ट र देश सिध्याउन चाहने विदेशी शक्तिहरुको निन्द्रा हराम भएको भन्दै उनले नेपालमा कम्युनिष्ट पार्टीहरु एक हुनुपर्ने बताए ।