
काठमाडाैं । ब्राजिल विश्वकपबाट बाहिरिएपछि नेयमारले ब्राजिलकाे राष्ट्रिय टाेलीबाट सन्यास लिनसक्ने संकेत गरेका छन् । उनले ब्राजिलका लागि खेल्न जारी राख्ने ‘शत प्रतिशत ग्यारेन्टी दिन नसक्ने’ बताएका हुन् ।
२०१८ को उपविजेता क्रोएसियासँग पेनाल्टीमा पराजित भएर विश्वकपको दाबेदार टोली क्वार्टरफाइनल चरणबाट बाहिरिएको छ ।
ब्राजिल बाहिरिएपछि नेयमारले भने, ‘मैले राष्ट्रिय टोलीका लागि कुनै पनि ढोका बन्द गरिसकेको छैन तर म फर्किन्छु भनेर शत प्रतिशत सुनिश्चित गर्न पनि सक्दिनँ ।’ उनले थपे, ‘मैले यसबारे थप सोच्नुपर्ने हुन्छ, मेरो लागि र राष्ट्रिय टोलीका लागि के सही हो भनेर मैले सोच्नुपर्ने हुन्छ ।’
उता, प्रशिक्षक टिटेले भने राजीनामा दिने बताइसकेका छन् । उनले प्रतियोगिता अघि नै उनले आफ्नो टोलीको प्रदर्शनका बाबजुद राजीनामा दिने बताइसकेका थिए ।
१८ वर्षको उमेरदेखि अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा खेल्न सुरु गरेका नेयमारले तीनवटा विश्वकपमा आफ्नो देशको प्रतिनिधित्व गरेका छन् ।
सन् २०१४ मा आफ्नो टोलीलाई सेमिफाइनलसम्म पुर्याउन सहयोग गरेका उनी घाइते भएका कारण जर्मनीविरुद्धको सेमिफाइनल खेल्न पाएका थिएनन् ।
सो खेलमा ब्रजिल ७-१ गोल अन्तरले लज्जास्पद रुपमा पराजित भएको थियो ।
ब्राजिल अघिल्लो विश्वकप क्वार्टरफाइनलमा बेल्जियमसँग २-१ अन्तरले पराजित भएकाे थियाे । उक्त पराजयभन्दा पछिल्लो हार पीडादायी रहेको उनले बताएका छन् ।