
काठमाडाैं । विश्वकप फुटबलको क्वाटरफाइनलबाट ब्राजिल बाहिरिएसँगै नेपालमा चुनावताका चलेको ‘नो नट अगेन’ अभियान मानिसहरुले पुनः एकपटक सम्झेका छन् । विश्वकपको बुढो बाघ ब्राजिल आउट भएपछि धेरैले ‘नो नट अगेन’ अभियान सफल भएको भन्न थालेका छन् ।
हुनपनि ब्राजिल बुढो जस्तै देखियो । कुनै युवा जोश ब्राजिलका खेलाडीमा देखिएन । प्रमुख खेलाडी नेयमारसहित अधिकांश खेलाडीहरुले कपाल सेतो पारेका थिए । फुलेको कपाल देखाएर उनीहरु मैदानमा ओर्लिएका थिए । फुलेको कपाल बुढ्यौलीको संकेत हो । ब्राजिलको बर्हिगमनबारे खेलाडीहरुको सेतो कपालले संकेत गरिसकेको थियो ।
हारसँगै ६१ वर्षीय प्रशिक्षक टेटेले पदबाट राजीनामा दिइसकेका छन् । लिग चरणका खेलबाटै ब्राजिलको यात्रा लामो नहुने थाहा भैसकेको थियो । ब्राजिलको खेल कौशलता र खेलाडीहरुको क्षमता प्रदर्शन हुन सकेको थिएन । मानिसहरुले पुरानै ब्राजिलको खेल अपेक्षा गरे पनि यसपटक ब्राजिलको खेल स्तर खस्किएको थियो ।
प्रमुख खेलाडी ३० वर्षीय नेयमारले पनि सन्यासको संकेत गरेका छन् । अर्को विश्वकप आउँदा उनी ३५ वर्षका हुनेछन् । खेलैपिच्छे घाइते भइरहने नेयमार फिट रहन सक्छन् वा सक्दैनन शंकाको घेरामा छ ।
नेयमारले पनि कपाल सेतो पारेका छन् । आध्यात्ममा कतिपय घटना हुनु भन्दा अघि नै पूर्व संकेत प्राप्त हुन्छ भन्ने विश्वास गरिन्छ । नेयमारको सेतो कपाल उनको खेल जीवनको ओरोला यात्राको संकेत हो । नभन्दै उनले सन्यासको कुरा गरिरहेका छन् ।
ब्राजिलको तर्फबाट पेनाल्टीमा सुरुमै चुक्ने खेलाडी रोड्रिगोले पनि कपाल सेतो पारेका थिए । यो पेनाल्टीमा चुकेसँगै उनको खेल जीवन पनि ओरोलो लाग्ने निश्चित छ ।
यो विश्वकपबाट ब्राजिललाई हेर्ने नजरिया पनि परिवर्तन भएको छ । ब्राजिल अब फुटबलको जादुगर रहेन । ब्राजिल फुटबलको ‘गोल मेसिन’ हुन सकेन । ब्राजिलको खेल निकै खस्केको छ ।
ब्राजिलियन फुटबलका पुराना खेलाडी रोनाल्डो, रोबर्ट कार्लोस, रिभाल्डो, रोमारियो, डुंगालगायतको छाप परेकाले मानिसहरु अहिले पनि ब्राजिललाई त्यही रुपमा हेर्छन् । यो पुरानो छाप हो । अहिले ब्राजिल कमजोर भैसकेको छ ।
क्रोएसियाका गोलकिपर र ब्राजिलका गोल किपरको तुलना गरौँ । क्रोएसियाका किपर कति चनाखो र फूर्तिलो छन् । उनले ब्राजिलका कति सम्भव गोलहरुलाई पनि असम्भव बनाए । तर, बल्लतल्ल डि एरियामा बल लगेको क्रोएसियाको एउटै प्रहार पनि ब्राजिलका किपरले रोक्न सकेनन् ।
नेपालको राजनीतिमा ‘नो नट अगेन’ भनेर बुढा नेताहरुलाई रोक्न खोजिएको थियो । फुटबलमा ब्राजिललाई रोक्न सकियो तर नेपालमा राजनीतिका ब्राजिल जस्तै शक्तिशाली मानिएका नेताहरु भने विजयी भए । शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, केपी शर्मा ओली, माधव नेपाल जस्ता ब्राजिल जस्तै प्रभाव भएका नेताहरुले शानदार जित निकाले ।
अहिले नेपाली राजनीतिका नेयमार हुन शेरबहादुर देउवा । उनले गठबन्धन गरेर चुनावमार्फत् आफनो पार्टीलाई एक नम्बर बनाए । गठबन्धनमा अनेक असन्तोषका बावजुत प्रचण्ड, माधवहरु देउवासँगै टाँस्सिएर बस्न तयार छन् ।
देउवा जति बुढा भए पनि ‘नो नट अगेन’ होइन उनका लागि ‘देउवा वन्स अगेन’ भन्ने नारा लागेको छ । उनी पुनः प्रधानमन्त्री हुँदैछन् ।