फाइनल खेलपछि मेराे विश्वकप यात्रा सकिन्छ : लियाेनल मेसी

काठमाडाैं । अर्जेन्टिनाका कप्तान लियोनल मेसीले कतारमा जारी फिफा विश्वकपको फाइनल खेलेपछि आफ्नो विश्वकप यात्रा सकिने बताएका छन् ।

मंगलबार राति भएको क्रोएसियाविरूद्धको खेलमा ३-० को जित निकालेर फाइनल पुगेपछि ३५ वर्षीय मेसीले अर्को विश्वकप आफूले नखेल्ने बताएका हुन् ।

अर्को विश्वकप आउन चार वर्ष बाँकी रहेको र त्यतिबेला आफूले अहिलेजस्तै खेल्न सक्छुजस्तो नलागेको मेसीले उल्लेख गरेका छन् ।

‘यो यात्रालाई फाइनल खेलेर टुंग्याउनु सबैभन्दा राम्रो हो,’ उनले भनेका छन् ।

अर्जेन्टिनाले सन् १९८६ पछि विश्वकपको उपाधि उचाल्न पाएको छैन । दुई पटकको विश्व विजेता अर्जेन्टिना यसपालि तेस्रो उपाधिको नजिक आइपुगेको छ ।

बुधबार राती हुने मोरक्को र फ्रान्सबीचको सेमिफाइनल विजेतासँग आइतबार अर्जेन्टिनाले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।