• २०८३ असार ११
  • 2026 June 25, Thursday

काभ्रेकाे बेथानचाेक बस दुर्घटनामा मृत्यु भएकामध्ये १३ जनाको सनाखत

काठमाडाैं । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ मा मंगलबार साँझ भएको बस दुर्घटनामा मृत्यु भएकामध्ये १३ जनाको पहिचान खुलेको छ ।

प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार बनेपा नगरपालिका–११ की ७९ वर्षीया निर्मला तामाङ, ११ वर्षीय योगेश तामाङ, ५० वर्षीय अंकुर तामाङ, ४३ वर्षीया हेमा तामाङ, १० वर्षीय पुष्कर तामाङ, २५ वर्षीया कोपिला तामाङ र ६ वर्षीया श्रेया तामाङको मृत्यु भएको छ ।

त्यस्तै बनेपा नगरपालिका–१४ का ३९ वर्षीय राजकुमार तामाङ, २८ वर्षीया गीता श्रेष्ठ, मण्डनदेउपुर नपा–१ का ३७ वर्षीया जेली तामाङ, धुलिखेल नपा–११ का ३० वर्षीय बुद्ध तामाङ र बेथानचोक गाउँपालिका–५ की ३२ वर्षीया मञ्जु तामाङको पनि मृत्यु भएको छ ।

बस चालक ललितपुरको महाँकाल–४ घर भइ हाल पनौती नपा–४ बस्ने २२ वर्षीय सन्तोष तिमल्सिनाको पनि दुर्घटनामा मृत्यु भएको जोशीले बताए ।

घाइते केहीको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । मृतकमध्ये चार जनाको नाम खुल्न बाँकी छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार बस तीव्र गतिका कारण दुर्घटना भएको हो । बसमा ३९ यात्रु सवार थिए ।

बनेपा नगरपालिका–११ का कुमार तामाङको नातिको व्रतबन्धमा बेथानचोक गाउँपालिका–५ च्याल्टी पुगेर फर्किएकाे बस दुर्घटनामा परेको हो ।