प्रचण्डको ढिपीले अर्को अस्थिरता निम्त्याउँदै

काठमाडाैं । नयाँ सरकारको प्रधानमन्त्री बन्न मुख्यतः कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच विवाद छ । दुवैले अबको सरकारमा प्रधानमन्त्री दाबी गरेकाछन् । उनीहरु दुवैमा आलोपालो प्रधानमन्त्री बन्ने कुरामा बिमति नभए पनि पहिलो प्रधानमन्त्री को हुने कुरामा विवाद छ ।

स्वभावतः चुनावको परिणाम र गठबन्धनको प्रमुख नेताको हैसियतमा पहिलो प्रधानमन्त्री हुने देउवाको प्राकृतिक अधिकार हो । उनी सबैभन्दा ठूलो दलको सभापति मात्र होइन संसदीय दलको नेतासमेत हुन् । सरकारको नेतृत्वमा उनको दाबी स्वभाविक हो । तर, तेस्रो दल भएर पनि प्रचण्ड प्रधानमन्त्रीमा दाबी गरिरहेकाछन् । यो अली अस्वभाविक देखिन्छ ।

चुनावअघि आलोपालो प्रधानमन्त्रीको सहमति भएको कुरा उठाउँदै प्रचण्डले पहिलो प्रधानमन्त्री आफू हुनुपर्ने बताइरहेका छन् । यो कुरा उनले प्रधानमन्त्री देउवालाई भेटेरै बताइसकेका छन् । उनले नेकपा एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुसमेत आफ्नो समर्थनमा रहेको भन्दै देउवामाथि दबाब बढाएकाछन् ।

प्रचण्डले अन्य पार्टीका सांसदहरुको समर्थन आफूलाई छ भनेर बार्गेनिङ गर्नु नै उचित देखिँदैन । समाजवादी र स्वतन्त्र पार्टीले प्रचण्डलाई समर्थन गर्ने भनेर अहिलेसम्म कुनै निर्णय गरिसकेका छैनन् । समाजवादीले प्रचण्डलाई समर्थन गर्नसक्ने सम्भावना भएपनि रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टीले यसबारेमा कुनै संकेत गरेको छैन । यो अवस्थामा प्रचण्डको बार्गेनिङ तर्कसंगत देखिँदैन ।

कुरा यतिसम्म अघि बढेको छ कि पहिलो नेतृत्व नपाए गठबन्धन टुटाएर एमालेसँग सहकार्य गर्ने हल्ला पनि प्रचण्डले फिँजाएका छन् । यो सरासर गठबन्धनप्रतिको बेइमानी र चुनावमा तेस्रो स्थानमा पुग्दासमेत आफ्नो हैसियत नबुझ्नु हो । यहीबेला एमालेले पनि प्रचण्डलाई प्रयोग गर्ने रणनीति बनाएको छ । गठबन्धन टुटाएर आए प्रचण्डलाई प्रधानमन्त्री दिन सकिने आश्वासन एमालेले दिएको छ । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंह पनि प्रचण्ड पहिलो प्रधानमन्त्री नभए गठबन्धन टुट्ने धारणा राख्छन् ।

नेपाली कांग्रेसको केन्द्रीय सम्पादन समिति त झन आफनै नेतृत्वमा सरकार गठन गर्ने निर्णय नै गरिसकेको छ । यो अवस्थामा कांग्रेस पछि हट्ने सवाल उठ्दैन । कांग्रेसले त अझ प्रधानमन्त्रीसहित राष्ट्रपतिमा पनि दाबी गरेको छ । कांग्रेसको दाबी स्वभाविक देखिन्छ र यो चुनावको जनादेश पनि हो ।

तर, जुन हिसाबले प्रचण्डको अडान आएको छ यसले मुलुकमा अस्थिरता चाहने शक्तिहरुलाई बल पुग्ने देखिन्छ । प्रचण्डले सुरुमा नेतृत्व नपाए गठवन्धन टुट्छ भनेर चेतावनी दिनुको कारण के हो ? उनलाई सुरुमै प्रधानमन्त्री पद किन चाहिने ? कांग्रेसले भने जस्तै पहिले देउवा, त्यसपछि प्रचण्ड र अन्तिममा माधव नेपाल प्रधानमन्त्री बन्दा के समस्या छ ?

सरकार निर्माणको कसरत चलिरहेकाबेला विदेशी शक्तिहरुको दौडधूप तीव्र भएको छ । राजदूतहरु नेताहरुका घर–घरमा पुगिरहेकाछन् । उनीहरु आफू अनुकुलको सरकार बनाउने मात्र होइन राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र प्रमुख मन्त्रालयका मन्त्रीसमेत आफनो इच्छाअनुसार बनाउन चाहिरेका छन् । गठवन्धनभित्र अविश्वास उत्पन्न भए विदेशीहरुका लागि आफनो स्वार्थ पूरा गर्न यो उपयुक्त अवसर हुनेछ ।

गठबन्धनका नेताहरुको मुख्य ध्यान ५ वर्ष स्थिर सरकार दिएर विकास र समृद्धिलाई अघि बढाउने हुनुपर्ने हो । तर, पहिला को प्रधानमन्त्री बन्ने विवादले फेरि अस्थिरता मच्चिने, बीचमै सरकार ढल्ने लगायतका संकेत देखा पर्न थालेका छन् । यसले गठबन्धन र दलहरुप्रति मात्र होइन यो व्यवस्था र नेताहरुप्रति नै वितृष्णा उत्पन्न गराउनेछ ।

प्रचण्ड गठबन्धनको प्रमुख नेता भएकाले मुलुकमा शान्ति, स्थायित्व, विकास र समृद्धिको वातावरण बनाउनु उनको प्रमुख दायित्व हुन्छ । को पहिला प्रधानमन्त्री बन्ने भन्ने झिनो कुरामा उनी अल्झिनु हुँदैन । सबैभन्दा ठूलो दललाई पहिलो, दोस्रोमा आफू र तेस्रोमा माधव नेपाललाई जिम्मा दिने सहमति गरेर अघि बढ्नु नै बुद्धिमानी हुन्छ । अन्यथा, उनको ढिपीले मुलुक फेरि भड्खालोमा नजाला भन्न सकिँदैन ।