चीनमा काेराेनाकाे नयाँ लहर फैलिएपछि डब्ल्यूएचओद्वारा चिन्ता व्यक्त

काठमाडौं । चीनमा कोरोना संक्रमणको नयाँ लहर फैलिरहेकाे छ । काेराेनाकाे नयाँ संक्रमण लहर फैलिएपछि विश्वभरबाट चिन्ता व्यक्त हुन थालेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले चीनको कोरोना लहरप्रति चासो व्यक्त गरेको छ । डब्ल्यूएचओका इमरजेन्सी चिफ डाक्टर माइकल रायनले चिनियाँ अधिकारीहरुले बिरामीहरुको संख्या कम भने पनि अस्पतालका आईसीयू बेड भरिँँदै जानु चिन्ताको विषय भएको बताएका छन् ।

जेनेभाको एक कार्यक्रममा उनले भनेका छन्, ‘निकै संक्रामक कोरोना भाइरसलाई सार्वजनिक स्वास्थ्य र सामाजिक नियमहरुबाट मात्रै रोक्न निकै मुस्किल छ । खोप अभियान यसबाट जोगिने उपाय हुनसक्छ ।’

चिनियाँ अधिकारीहरुले कोरोनाको पछिल्लो लहरका कारण मंगलबार ५ जना र सोमबार दुई जनाको मृत्यु भएको बताएका छन् ।

तर अहिलेको संक्रमणको प्रभावलाई हेर्दा यति थोरै संख्यामा शंका गर्न सकिने बीबीसीले जनाएको छ । बीबीसीका अनुसार चीनमा कोरोना महामारी बढेपछि राजधानी बेइजिङसहितका शहरहरुका अस्पतालमा भर्ना हुने बिरामीहरुको संख्या बढिरहेको छ ।

सन् २०२० देखि चीनमा जिरो कोभिड नीति अनुसार तमाम स्वास्थ्य प्रतिबन्ध लगाइएको छ ।

यद्यपि अर्थव्यवस्थामा यसबाट नकारात्मक असर परेपछि केही हप्तायता प्रतिबन्ध केही खुकुलो पनि पारिएको छ ।

यसैगरी, चीनमा काेराेना संक्रमण फैलिएपछि भारतले पनि सतर्कता बढाएको छ । भारत सरकारले २१ डिसेम्बर २०२२ अर्थात् बुधबारदेखि अन्य देशबाट भारत आउने यात्रुको लागि विमानस्थलमा कोरोना परीक्षण सुरू गरेको छ ।

चीनमा कठोर लकडाउन खुकुलो बनाएपछि संक्रमणदर बढेकाले भारतमा पनि सङ्क्रमितको संख्या बढ्न सक्ने भन्दै देशमा भेटिएका सबै सङ्क्रमितको जिनोम सिक्वेन्सिङ गर्न मन्त्रालयले निर्देशनसमेत दिएको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७