माधव नेपाल र उपेन्द्र यादवसँग प्रधानमन्त्री प्रचण्डकाे छलफल, ‘सकारात्मक’ भएकाे प्रतिक्रिया

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले भेटेका छन् ।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न अध्यक्ष नेपाल र यादव सिंहदरबार पुगेका थिए । प्रधानमन्त्रीले मंगलबार लिने विश्वासको मत, वामपन्थी एकतालगायतको विषयमा छलफल भएको थियाे ।

भेटपछि प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)सँग विश्वासको मतका लागि भएको छलफल सकारात्मक भएको संक्षिप्त प्रतिक्रिया दिएका छन् ।

जसपाले सरकारलाई समर्थन गरिसकेको छ भने नेकपा एस अझै पर्ख र हेरेको अवस्थामा छ ।

न्यूनतम साझा कार्यक्रमको खाकामा पार्टीको राजनीतिक समितिको बैठकबाट सरकारमा सहभागी हुनका लागि राखिएका सर्तहरूमध्ये २ वटा सर्तहरू समेटिएको भन्दै जसपाले शनिबार विश्वासको मत दिने आधार खडा भएको निर्णय गरेको थियो ।

यता, माओवादी, नेकपा एस र जसपाले वामपन्थी एकताको लागि भन्दै कार्यदल गठन गरेर छलफल अगाडि बढाएका छन् ।

बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले पनि माओवादीसँग पार्टी एकताको लागि आज वार्ता टोली गठन गर्दैछ । प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष भट्टराईबीच शानिबारको भेटवार्तामै तत्काल पार्टी एकत गर्ने सहमति बनेको थियो।

यता, सत्ता गठबन्धनको बैठकअघि तीन नेताहरूको भेटलाई अर्थपूर्णरूपमा हेरिएको छ । मुख्यमन्त्रीको भागबण्डा मिलाउन ५ बजे गठबन्धनको बैठक बस्दैछ ।