स्कुटर दुर्घटना हुँदा ३ जनाको मृत्यु

हेटौडा। मकवानपुरको मनहरी गाउँपालिका–९ ज्यामिरेमा स्कुटर दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत ज्यामिरेमा गएराति करिब पौने ११ बजेतिर स्कुटर दुर्घटना भएको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्ष कृष्णराज ढकालले जानकारी दिए ।

मृत्यु हुनेमा मकवानपुरको मनहरी गाउँपालिका–८ सिमपानी बस्ने अन्दाजी ३० वर्षीय धर्मराज मोक्तान, सोही ठाउँका मिलन मोक्तान र मकवानपुरको राक्सिराङ गाउँपालिका–३ लावती बस्ने रुपेश तामाङ छन् ।

मिलन मोक्तान र रुपेश तामाङलाई पुरानो मेडिकल कलेज, चितवनमा पुर्याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए भने धर्मराज मोक्तानको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीयले भने सवारी साधनले ठक्कर दिंदा स्कुटरमा सवार तीनै जनाको मृत्यु भएको भन्दै दोषीलाई कारबाहीको माग गरेका छन् । ठक्कर दिनेलाई कारबाहीको माठट गदैँ बिहान ५ घण्टा सडक बन्द गरेका थिए । उक्त सडक प्रहरीले बिहान ८ बजेतिर खुलाएको छ । ठक्कर दिने सवारीलाई यथाशीघ्र पत्ता लगाइ नियन्त्रणमा लिने निष्कर्षसहित सडक खुलाइएको प्रहरीले जनाएको छ ।