गाेंगबु लुटपाट घटना गम्भीर रूपमा अनुसन्धान गर्न सुरक्षा निकायका प्रमुखलाई प्रधानमन्त्रीकाे निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार काठमाडौंको गोंगबुमा भएको तोडफोड र लुटपाटको घटनाको गम्भीर रूपमा अनुसन्धान गर्न सुरक्षा अंगका प्रमुखहरूलाई निर्देशन दिएका छन् ।

बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सुरक्षा अधिकारीसहितको बैठक राखेर गाेंगबु घटनाकाे बारे चासाे राखेका हुन् ।

प्रधानमन्त्रीले घटनाको गहिरो अनुसन्धान गर्न र अन्यायमा परेकाले न्याय पाउने गरी कारबाही अघि बढाउन निर्देशन दिएकाे उनको सचिवालयले जानकारी दिएकाे छ ।

सोमबार दिउँसो यातायात मजदुरले गोंगबु क्षेत्रमा गरेको आन्दोलनका क्रममा यातायात अवरुद्ध पार्नुका साथै बसपार्क क्षेत्रमा रहेको ल्होत्से मलमा तोडफोड र त्यहाँको मोबाइल पसलमा लुटपाट भएको थियो ।

त्यस्तै, आन्दोलनकारीले माछापोखरीमा प्रहरीका दुईवटा गाडी र प्रहरी विट पनि जलाएका थिए ।