काठमाडाैं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध दर्ता भएको रिट निवेदनमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।
शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले बाटो म्याद बाहेक १५ दिनभित्र कारण पेश गर्न विपक्षीका नाममा आदेश जारी गरेको हो ।
सर्वोच्चले उक्त मुद्दालाई अग्राधिकार प्रदान गरेकाे छ ।
रिट निवेदकले माग गरेबमोजिम प्रचण्डविरुद्ध जाहेरी लिने, पक्राउ गर्नुपर्ने भन्दै दाबी गरेको अन्तरिम आदेश भने जारी भएन ।
प्रचण्डले २०७६ माघ १ गते काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा ‘सामन्ती राजाहरूले १२ हजार जनता मारेका हुन् । मलाई पाँच हजारको जिम्मा दिनुहुन्छ भने म लिन्छु’ भनेर सार्वजनिक अभिव्यक्ति दिएका थिए ।
दाहालको यही सार्वजनिक अभिव्यक्ति द्वन्द्वकालमा पाँच हजार व्यक्तिको हत्या गरेको स्वीकार गरेकाले उनीविरुद्ध मुद्दा चलाउन आदेशको माग गरी अधिवक्ता ज्ञानेन्द्रराज आरणलगायतले सर्वोच्चमा रिट निवेदन दिएका हुन् ।
सुरुमा प्रशासनले दरपिठ गरेको आदेश गत शुक्रबार दर्ता गर्न इजलासबाट आदेश भएको थियो । अदालत प्रशासनबाट दरपीठ भएको थियो ।
न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको संयुक्त इजलासले दरपीठको आदेश शुक्रबार बदर गरेको थियो । दरपीठ आदेश बदर भएपछि गएको मंगलबार प्रचण्डविरुद्ध अदालतमा रिट दर्ता भएर शुक्रबार प्रारम्भिक सुनुवाइ भएको हो ।