काठमाडाैं । कतारमा सम्पन्न लिजेन्ड्स क्रिकेट लिगको उपाधि नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का आबद्ध एसियन लायन्सले जितेको छ ।
कतारको दोहास्थित वेस्ट इन्ड पार्क क्रिकेट मैदानमा भएको फाइनलमा वर्ल्ड जायन्ट्सलाई ७ विकेटले पराजित गरी एसियन लायन्स च्याम्पियन बनेको हो ।
जायन्ट्सले दिएको १४८ रनको चुनौती पछ्याएकाे एसियन लायन्सले १६.१ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य भेटाएकाे हाे ।
एसियन लायन्सको जितमा तिलकरत्ने दिल्शान र उपुल थारंगाले उत्कृष्ट ब्याटिङ गरे ।
दिल्शानले ४२ बलमा ५८ रन बनाए । अर्का ओपनर थारंगाले २८ बलमा ५७ रन बनाए ।
जायन्ट्सका लागि मोन्टी पेनिसर, समित पटेल र ब्रेट लीले समान १-१ विकेट लिए ।
टस जितेर पहिला ब्याटिङ गरेको जायन्ट्सले २० ओभरमा ४ विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो ।
जायन्ट्सका लागि ज्याकक्विस कालिसले ५४ बलमा अविजित ७८ रन बनाए । रोस टेलरले ३२ र लिन्डल सिमोन्सले १७ रन बनाए ।
एसियन लायन्सका लागि अब्दुर रज्जाकले दुई तथा थिसारा परेराले एक विकेट लिए ।