पत्रकारिता विकास कोष र आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पत्रकारिता विकास कोष स्थापना गर्ने घोषणा गरेका छन् ।

बिहीबार ललितपुरमा सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को राष्ट्रिय सम्मेलन तथा १७औँ साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले साना लगानीमा सञ्चालित तथा मोफसलका सञ्चारमाध्यमको सञ्चालन र स्थायित्वका लागि स्थायी प्रकृतिको पत्रकारिता विकास कोष स्थापना गर्ने घोषणा गरेका हुन् ।

उनले भने, ‘पत्रकार र सबै प्रकारका सञ्चारमाध्यमको पेसागत तथा भौतिक सुरक्षाको प्रत्याभूति, सम्पूर्ण पत्रकारहरूको स्वास्थ्य, दुर्घटना तथा हुलदंगा वा आतंकको बिमा, साना लगानीमा सञ्चालित तथा मोफसलका सञ्चारमाध्यमको सञ्चालन र स्थायित्वका लागि स्थायी प्रकृतिको पत्रकारिता विकास कोष स्थापना गरिनेछ ।’

यस्तै, प्रधानमन्त्री प्रचण्डले केन्द्र र प्रदेश तहमा आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

उनले भने, ‘सञ्चारकर्मीहरूको सीप तथा दक्षता अभिवृद्धि र अद्यावधिक गर्न एवं उच्चतम व्यावसायिक अभ्यासका लागि प्रेरित गर्न संघ र प्रदेश तहमा आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने सरकारको प्रतिबद्धता छ।’