नेता तथा कार्यकर्ताकाे भेटमा प्रचण्डले भने- आन्दोलनबाट प्राप्त उपलब्धि उल्टिने खतरा छ

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्दोलनबाट प्राप्त उपलब्धि उल्टिने खतरा रहेको बताएका छन्।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीका नेता तथा कार्यकर्तासँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

संविधान सभामै उल्लेख भइसकेका र आत्मसात् गरिसकेका कुरालाई अहिले तर्क, वितर्क गरेर असफल बनाउने र उल्ट्याउन खोज्ने प्रयास भइरहेको उनले बताए ।

परिवर्तनलाई विचलनमा लैजाने काम भइरहेको भन्दै सबै सजग रहन पनि प्रधानमन्त्री प्रचण्डले आग्रह गरे ।

अहिले आफ्नो पार्टी नेकपा (माओवादी केन्द्र) सरकारमा रहेकाले परिवर्तन उल्टिँदैन जस्तो लागे पनि स्थिति सहज नरहेको उनको जिकिर छ । जिम्मेवारी बोध गरी संघर्ष नगर्ने हो भने अफ्ठ्यारो स्थिति आउनसक्ने प्रधानमन्त्रीले बताए ।

उनले भने- ‘हामीले बुद्धि नपुर्‍याउने, जिम्मेवारीबोध नगर्ने हो, संघर्ष नगर्ने हो भने धेरै अफ्ठ्यारो स्थिति आउन सक्छ ।’

प्रधानमन्त्री प्रचण्डले आगामी दिनमा नेकपा (माओवादी केन्द्र) ले नेताहरूको समर्थन लिएर नेतृत्व प्राप्त गर्ने प्रणाली बदल्नुपर्ने बताए । नेतृत्वलाई दबाब दिएर नेतृत्व पाउने प्रणालीको अन्त्य नगरेसम्म पार्टी बन्न नसक्ने उनको भनाइ छ । उनले पार्टी जनतामा नजानु भनेको नेताहरूको सहयोगमा नेतृत्व लिने प्रणाली हाबी हुनु भएको पनि बताए ।