आईपीएल प्लेअफमा पुग्ने चौथो टोली कसको होला ?

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएलअन्तर्गत शनिबार दुई खेल भए । पहिलो खेलमा चेन्नई सुपर किंग्स र दोस्रो खेलमा लखनउ सुपर जायन्ट्स विजयी हुँदै प्लेअफका लागि सुरक्षित भए । योसँगै आईपीएल २०२३ प्लेअफका लागि तीन टोलीको टुंगो लागेको छ । अब चौथो टोलीको टुंगो आज लाग्दैछ ।

आजको पहिलो खेल मुम्बई इन्डियन्स र सनराइजर्स हैदरावादबीच हुनेछ भने दोस्रो खेल रोयल च्यालेन्जर्स बैंग्लोर र गुजरात टाइटन्सबीच हुनेछ । शनिबार आ–आफ्ना खेल जित्दै चेन्नई र लखनउले अंक तालिकामा समान १७ अंक जोडेका छन् । तर, दिल्ली क्यापिटल्सलाई ७७ रनको ठूलो अन्तरले पराजित गरेको चेन्नईले आफ्नो नेट रन रेट सुधारेर अंक तालिकामा दोस्रो भयो ।

अर्कोतर्फ, कोलकाता नाइट राइडर्सलाई एक रनले पराजित गरेको लखनउ १७ अंक भए पनि नेट रन रेटकै कारण चेन्नईभन्दा पछाडि तेस्रो स्थानमा रहेको छ ।

को बन्ला प्लेअफ खेल्ने चौथो टोली ?
प्लेअफको पहिलो क्वालिफायर शीर्ष दुई टोली गुजरात टाइटन्स र चेन्नई सुपर किंग्सबीच मे २३ मा हुनेछ । यो खेल चेन्नईको घरेलु मैदानमा हुनेछ । पहिलो इलिमिनेटर खेलमा लखनउसँग भिड्ने टोलीको नाम अहिलेसम्म टुंगो लागेको छैन । अंकतालिका हेर्ने हो भने समान १४ अंकसहितका तीन टोली छन् । तर नेट रन रेटका आधारमा चौथो स्थानमा रोयल च्यालेन्जर्स बैंग्लोर, पाँचौँमा राजस्थान रोयल्स र छैटौँमा मुम्बई इन्डियन्स रहेको छ ।