काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटमा वेष्ट इण्डिजविरुद्ध नेपालले फराकिलो हार व्यहोरेको छ । दुई पटकको विश्वकप विजेता वेष्ट इण्डिजसँग नेपाल १०१ रनले पराजित भएकाे हाे ।
जिम्बाव्वेको हरारेमा जितका लागि ३४० रनको लक्ष्य पछ्याएको नेपाल ४९.४ ओभरमा २३८ रनमा अल आउट भयो । नेपालका लागि सर्वाधिक आरिफ शेखले ६३ रन बनाए । यसैगरी, गुल्सन झाले ४२ रन बनाए ।
२८.१ ओभरमा १२९ रन बनाउँदा ६ विकेट गुमाएको नेपालको स्कोर आरिफ शेख र गुल्सन झाले केही उकासेका थिए । ओपनर कुशल भुर्तेल ५ रनमा आउट भए भने आसिफ शेख ३६ बल खेल्दै ३ चौका सहित २८ रन बनाए ।
कप्तान रोहित पौडेलले ४३ बलमा ३ चौका सहित ३० रन जोडे । भीम सार्की २ रन बनाएर आउट भए ।
सातौं ब्याटर दिपेन्द्र सिंह ऐरी क्रिजमा आक्रमक देखिए । उनले २४.६ ओभरमा एकेल होसिनको बलमा लामो छक्का प्रहार गर्दै मिडिया बक्सको सिसा फुटाएका थिए । तर उनी पनि २३ रनमा आउट भए ।
त्यसअघि, वेष्ट इण्डिजले निर्धारित ओभरमा ७ विकेट गुमाएर ३३९ रनको योगफल बनाउँदा दुई ब्याटरले शतकीय पारी खेलेका थिए ।