नेपाली समाजको रुपान्तरणका लागि योगदान गर्ने बाहेक मेरो अन्य कुनै उद्देश्य छैन : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतासँग माओवादी : विषेश रुपान्तरण अभियानको उद्घाटन गरेका छन् । अभियानको उद्घाटन गर्दै संघर्ष र आन्दोलनभन्दा पर आफ्नो जिवन नरहेको बताएका उनले अब नेपाली समाजको रुपान्तरणका लागि योगदान गर्ने बाहेक आफ्नो अन्य कुनै उद्देश्य नभएको दाबी गरेका छन् ।

शनिबार बिहान उक्त अभियानको पार्टी केन्द्रीय कार्यालयबाट उद्घाटन गर्दै अध्यक्ष दाहालले नेपाली समाजको परिवर्तका लागि आफूले संघर्ष र आन्दोलन गर्दै आएको उल्लेख गर्दै आफ्नो जिवनमा अबको बाटो नेपाली समाजको रुपान्तरणका लागि योगदान गर्ने मात्रै भएको दाबी गरे ।

उनले भने, ‘मैले बारम्बार भन्दै आएको छु, मेरो जिवन संघर्ष र आन्दोलन भन्दा पर छैन् । देश र जनताप्रति समर्पित हुदै नेपाली समाजको रुपान्तरणका लागि योगदान गर्ने बाहेक मेरो अन्य कुनै उद्देश्य पनि छैन् ।’
उनले आफूले प्रधानमन्त्री भएदेखि नै लिएको भ्रष्टाचारविरुद्धको अभियान र सुशासनको पक्षमा लिएको प्रतिज्ञालाई नतोड्ने पुन प्रतिवद्धता जनाए । त्यस्तै उनले क्रान्ति देखि शान्तिसम्मको यात्रामा आफ्नो हरेक समय,पाइला र पल जनताको पक्षमा वितेको दाबी गरे ।

‘जिवनको युवा अवधिदेखि मेरो पूर्ण समय क्रान्ति ,परिवर्तन र जनताको पक्षमा वित्यो । अब जनताले चाहेको सुशासन,संमृद्धि र सामाजिक न्यायको क्षेत्रमा दृढतापूर्वक अगाडि बढ्ने प्रतिज्ञा मैले लिएको छु । हिजो क्रान्तिको क्षणमा होस या आज शान्तिको क्षणमा मेरा हरेक पाइला,हरेक क्षण ,हरेक समय देश र जनताकै पक्षमा वितेका छन्,’ दाहालले भने ।

साथै,अध्यक्ष दाहालले आफ्नो नेतृत्वको सरकारले इतिहासकै राम्रो काम गरेका कारण राजनीतिक दल र नेतृत्वप्रतिको निराशालाई आशामा परिणत गराएको चर्चा गरे ।

उनले जनतामा अब केही हुन्छ भन्ने आशाको रक्तसञ्चार गराएको भन्दै प्रचण्डले भुटानी शरणार्थी प्रकरण,ललिता निवास प्रकरण, सुन तस्करी प्रकरणलगायतका घटनामा भएका निष्पक्ष छानविन र कारवाहीले जनतामा उत्साह आएको दाबी गरे मात्र गरेनन् अभियानले माओवादी देशको सबैभन्दा बलियो शक्ति बन्ने समेत बताएका छन् ।