देउवाले पेलेपछि टुटेको गठबन्धनबारे गगनलाई ‘बाल मतलब !’

गत वर्ष पुस १० गते तत्कालीन चुनावी गठबन्धन तोडेर एमालेको सहकार्यमा प्रचण्ड प्रधानमन्त्री बन्दा नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पोखरामा भएको लिटरेचर फेस्टिभलमा सहभागी थिए । त्यतिबेला भइरहेको सरकार गठनबारे सभापति शेरबहादुर देउवाले पार्टीभित्र छलफल नगरेको गगनको दुखेसो थियो ।

उनले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीमा छलफल गर्नुपर्छ भनेको सुनेको र कतिबेला बोलावट हुन्छ भनेर फोन कुरेर बसेको तर छलफलका लागि नबोलाइएपछि अपमान महसुस गरेर पोखरा आएको अभिव्यक्ति दिएका थिए ।

मंसिर ४ को चुनावमा ५ दलसँग तालमेल गरेर सबैभन्दा बढी सिट ल्याएर पनि निरिह बनेको टिप्पणीसहित थापाले अब कांग्रेस पार्टी सुदृढीकरणमा लाग्नुपर्ने बताएका थिए ।

थापामात्र होइन अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि यही कार्यक्रममा ‘कांग्रेसले जितेर पनि हारेको’ टिप्पणी गरेका थिए । उनीहरु दुवैले यो परिस्थिति पार्टी सभापति शेरबहादुर देउवाकै कारण भएको आरोप लगाएका थिए ।

चुनावी गठबन्धनलाई धोका दिएर एमालेसहितको गठबन्धन बनाएर प्रधानमन्त्री बनेका प्रचण्डले २६ पुसमा पहिलोपटक विश्वासको मत लिइरहँदा नेपाली कांग्रेसले पनि विश्वासको मत दिएको थियो ।

राष्ट्रिय जनमोर्चा र नेमकिपाबाहेक सबले प्रचण्डलाई विश्वासको मत दिएपछि संसद प्रमुख प्रतिपक्षीविहीन बन्न पुग्यो । तर फागुन १३ गते राष्ट्रपति कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गर्ने प्रचण्डको निर्णयपछि पुस १० गते बनेको गठबन्धन भत्कियो र प्रचण्ड पुरानै गठबन्धनमा फर्किए । कांग्रेस फेरि सत्तामा गयो । १३ फागुनमा राप्रपा र १५ फागुनमा एमाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरियो ।

कांग्रेस पुनः सत्तामा गएपछि सरकारमा पठाउने मन्त्रीका बारेमा पार्टी सभापति देउवाले एकलौटी निर्णय गरेको भन्दै महामन्त्री गगन थापाले विरोध गरे । गत वर्ष २२ वैशाखमा धुम्बाराहीमा बसेको पदाधिकारी बैठकमा थापाले देउवाको कार्यशैलीप्रति आक्रामक भएर विरोध गरेका थिए ।

त्यतिबेला सरकारमा पठाउने मन्त्रीको बारेमा, पार्टी रुपान्तरण गर्नेबारेमा गगनले पार्टीसभापतिको आलोचना गरेका थिए । उनलाई अर्का महामन्त्री विश्वप्रकाश शर्माले साथ दिएका थिए ।

त्यतिबेला गगन थापा आफू नजिक रहेर काम गरिरहेका काठमाडौं क्षेत्र नम्बर ५ का निर्वाचित सांसद तथा केन्द्रीय सदस्य प्रदीप पौडेललाई स्वास्थ्यमन्त्री बनाउन चाहान्थे । तर देउवाले मोहनबहादुर बस्नेतलाई मन्त्री बनाइदिए ।

आफूहरुको कुरा नसुनिएपछि अर्का महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापतिले आफ्नो कार्यशैली परिवर्तन नगर्ने भए आफू महामन्त्री रहनुको औचित्य नभएकोले महामन्त्री पदबाट राजीनामा दिएर कार्यकर्ताकाबीच जाने चेतावनी पनि दिएका थिए ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा यसअघि नेपाली कांग्रेसले तीन पटक गरी ९ जना मन्त्री पठाएको थियो । उक्त मन्त्रीको लिस्टमा सभापति देउवाले ६ जना आफू निकटका नेताको नाम समावेश गरे ।

जसमा उपप्रधान तथा रक्षामन्त्री उपसभापति पूर्णबहादुर खड्का, अर्थमन्त्री प्रकाशशरण महत, सहरी विकास मन्त्री सीता गुरूङ, परराष्ट्र मन्त्री एनपी साउद, उद्योग मन्त्री रमेश रिजाल, स्वास्थ्य मन्त्री मोहन बस्नेत छन् । कानून मन्त्री धनराज गुरूङ, युवा मन्त्री डिगबहादुर लिम्बु र महिला तथा बालबालिका मन्त्री सुरेन्द्रराज आचार्य संस्थापनइतरका हुन् ।

यतिधेरै मन्त्री बनाउँदा पनि सभापति देउवाले महामन्त्रीहरूसँग छलफल नगरेको आरोप महामन्त्रीद्वयको छ । उनीहरुले पार्टीभित्रको शक्ति सन्तुलन मिलाउनुपर्ने र सबै कलष्टरको प्रतिनिधित्व गराएर समावेशी टिम पठाउनु पर्नेु अडान राखेका थिए । दलित, मधेशी, थारू र पिछडिएका क्षेत्रको प्रतिनिधित्व गराउनुपर्ने उनीहरूको अडान थियो । तर यी कुराहरुमा देउवाले उपेक्षा गरे ।

महामन्त्रीहरू थापा र शर्मा स्थानीय, प्रदेश र प्रतिनिधि सभा चुनावका बेला अरू दलसँग गठबन्धन गर्ने निर्णयदेखि नै सभापति देउवासँग असन्तुष्ट थिए । चुनावमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, राष्ट्रिय जनमोर्चा र लोसपालगायत दलसँग गठबन्धन गर्न नहुने र एक्लै चुनाव लड्नुपर्ने उनीहरूको राय थियो । तर पार्टीले केन्द्रीय समितिबाट निर्णय गरेर गठबन्धनमा गएको थियो ।

पछिल्ला दिनहरुमा महामन्त्रीद्वयसहित अर्का युवा नेता प्रदीप पौडेल कांग्रेस रुपान्तरणको विषयमा खुलेर बोल्दै आएका छन् । यतिमात्र होइन गठबन्धनको विषयमा उनीहरुको असन्तुष्टि निकै चुलिएको पनि थियो ।

अहिले गठबन्धन फेरिनुको कारणमा प्रधानमन्त्री प्रचण्डले कांग्रेस उपसभापित पूर्णबहादुर खड्काले महसमिति बैठकमा पेस गरी पारित भएको नीति–प्रस्तावमा माओवादी सशस्त्र द्वन्द्वको कडा शब्दमा आलोचना हुनु, महासमिति बैठकबाट महामन्त्री गगनकुमार थापाको आगामी चुनाव एक्लै लड्ने सङ्कल्प गरिएको साङ्गठनिक प्रस्ताव पारित हुनु मुख्य रहेको बताएका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१