‘उपहार’की पूजा भन्छिन्– ‘चरित्रमा जोखिम नै मोलेको हो’

काठमाडौं । यही शुक्रबारबाट रिलिज हुने फिल्म ‘उपहार’मा अभिनेत्री पूजा शर्मा ‘पूजा’ नामक चरित्रमा देखिँदैछिन् । पूजाका अनुसार फिल्ममा गाउँबाट सहर झरेकी युवतीले गर्ने संघर्ष वरपर उनको चरित्र घुमेको छ ।

‘काठमाडौंमा बाँच्न र पैसा कमाउनका लागि कस्तो काम गर्दा रहेछन् भन्ने चरित्र मैले निभाएकी छु । मैले अहिलेको पुस्ताले भोगेको जीवनलाई निर्वाह गरेकी छु । फिल्ममा पूजाले जस्तोसुकै काम गरेर भए पनि पैसा कमाउनुपर्यो भन्ने सोच राख्छे । तर उसमा आफूले गलत काम गरिरहेको छु र गलत काम गर्नुहुँदैन भन्ने सोच पनि हुन्छ’, पूजा भन्छिन् ।

पूजाका अनुसार निर्माण पक्षले अन्य अभिनेत्रीलाई ‘पूजा’ चरित्र निभाउन प्रस्ताव गरेको थियो । तर कोही पनि अभिनेत्री ‘पूजा’ चरित्रमा सहमत नभएपछि उनी आफैं यो भूमिका निभाउन अघि सरिन् ।

‘बेनिशा हमाललाई यो कथा सुनाउँदा उसले ‘दिदी यो कथा मलाई सुहाउँदैन’ भनेपछि मैले यो चरित्र निभाएँ । खासमा बेनिशाको क्यारेक्टर मैले गर्न लागेको थिएँ । तर बेनिशाले ‘पूजा’को चरित्र नगर्ने भएपछि अन्ततः मैले नै निभाएँ’, पूजाले भनिन्, ‘एउटा कलाकार भएपछि जुनसुकै चरित्र निभाउनुपर्छ । यो मेरो लागि नयाँ चिज हो भन्ने मलाई भयो । मैले चरित्रमा जोखिम नै मोलेको हो ।’

फिल्ममा पूजाको सहकार्य अभिनेता शिशिर राणासँग छ । ‘मेरो अपोजिटमा शिशिर राणा हुनुहुन्छ भन्ने थाहा पाएपछि मलाई यो चरित्र निभाउन सहज भयो । किनकी उहाँ मेरा लागि अभिभावक हो र पहिलादेखि पनि सहकार्य गरेकाले मलाई सजिलो भयो’, उनले भनिन् ।
पूजाका अनुसार उनले समाजमा आफ्नो चरित्र भएको मान्छे धेरै देखेकी छन् । उनले ती मान्छेहरुलाई यस्तो काम गर्नुहुँदैन भनेर सल्लाह पनि दिने रहिछ्न।

रेखा फिल्मस् र कपनगढी सिनेमा प्रालिको व्यानरमा रेखा थापा प्रस्तुतकर्ता रहेको फिल्ममा ज्ञानेन्द्र देउजाको निर्देशन छ । फिल्ममा रेखा थापा, पुजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल, आशा भुुषाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्यायलगायतको अभिनय छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१