काठमाडौं । सत्तारुढ नेकपा एमालेका नेता गोकुल बास्कोटाले एमाले छाड्नेहरुप्रति व्यङग्य गर्दै खाएको थालमा चुठ्नु राम्रो नहुने टिप्पणी गरेका छन् ।
झन् गएपछि सराप्ने संस्कार वाहियात भएको उनले बताएका छन् ।
आइतबार सामाजिक सञ्जालमा बास्कोटाले लेखेका छन्, ‘आफ्नै लागि आउनेहरु आए, सके जति लाभ लिए र गए । हाइट र लाइट एमालेकै टोपी, धोती अनि गुन्यू चोली लगाएर बढाए ।’
उनले मान्छेको वास्तविक परीक्षण सजिलो, स्वार्थपूर्ति र पदीय महत्वकांक्षामा होइन, संकट, त्याग र संघर्षको समयमा हुने स्मरण पनि गराएका छन् । उनी लेख्छन्, ‘खाएको थालमा चुठ्नु राम्रो होइन, झन् गएपछि सराप्ने संस्कार वाहियात नै हो।’
आइतबार नै नेपाल प्रहरीका पूर्व प्रमुख सर्वेन्द्र खनालले सत्तारुढ नेकपा एमाले छाडेको घोषणा गरेका थिए ।
सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले भनेका छन्, ‘हजुरहरुलाई मेरो राजनीतिक स्थितिबारे अन्यौलमा परेको महसुस गरेर म यसै माध्यमबाट स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनीतिक पार्टीसँग आबद्ध छैन ।’