प्रहरी झुक्याएर सिंहदरबार पुगेका थिए राजेन्द्र लिङ्ग्देन ! कार्यकर्ता भन्थे– ‘सस्पेन्स’ छ

काठमाडाैं । निषेधित क्षेत्र तोड्ने निर्णयबाट सुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आन्दोलनमा अन्ततः राप्रपाका केही पदाधिकारीहरु पक्राउ परे । पक्राउको केही घण्टामै गिरफ्तार गरिएका नेताहरु रिहा भए । र यसरी , उग्र बन्ने अनुमान गरिएको राजावादीहरुको वैशाख ७ गतेको आन्दोलन सकियो ।

४ वैशाखमा बसेको कार्यसम्पादन समिति बैठकले सरकारले तोकेको निषेधित क्षेत्र तोड्ने निर्णय गरेपछि राप्रपाले नयाँ बानेश्वर, बालुवाटार र भद्रकाली क्षेत्रलाई प्रदर्शनस्थल बनाएको थियो । राप्रपाले प्रशासनसँग पनि अनुमति लिएको थिएन । जसका कारण गृह मन्त्रालयले विज्ञप्ति नै जारी गरेर निषेधित क्षेत्र तोडे सरकारका तर्फबाट कडा प्रतिकार हुने बतायो ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा निषेधित क्षेत्र तोडिने भनिए पनि घटनाक्रम अन्ततः अर्कै दिशामा मोडियो र फिल्मी शैलीमा निषेधित क्षेत्रमा उनीहरु पक्राउ परे । अध्यक्ष राजेन्द्र लिङ्देन र पार्टीका अन्य कार्यकर्ता सिंहदरबार परिसरबाट पक्राउ पर्दै गर्दा यता बानेश्वरमा राप्रपाका करिब एक हजार कार्यकर्ता नारावाजी गरिरहेका थिए ।

हामी पनि आन्दोलनमै सरिक एक कार्यकर्तासँग कुराकानी गर्दै थियौँ । हामीले निषेधित क्षेत्र तोड्ने कुरा के हुँदैछ भनेर उनलाई प्रश्न गर्याैँ , उनले निषेधित क्षेत्र तोडिन्छ भनिन् ।
हामीले कसरी ? भन्यौँ
उनले अहिले भन्न नमिल्ने तर केही बेरमा समाचारबाट थाहा पाउने बताइन् ।
हामिले भन्नु न कसरी तोडिँदै छ , भनेर पुनः प्रश्न तेर्स्यायाैँ उनले यो कुरा सस्पेन्स रहेको र अहिले बोल्न नमिल्ने बताइन् ।
त्यसको केही मिनेटमा नै हामीले सिंहदरबार परिसरबाट राप्रपाका केही केन्द्रीय नेता पक्राउ परेको थाहा पायौँ ।
ती कार्यकर्ताले भनेको सस्पेन्स त यस्तो पो रहेछ ।

शनिबार राप्रपाको सचिवालयबाट केन्द्रीय सदस्यहरूको ह्वाट्सएप समूहमा एउटा सूचना पोस्ट गरियो— ‘बिजुली बजार पुलमा भेला हुने, नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोड्ने र यो नेतृत्व अध्यक्ष लिङ्देनले गर्ने’। तर राजेन्द्र लिङ्देन त बानेश्वर नै आएनन् ।

अब लिङ्देन किन आएनन् , यो कुरा स्वयं लिङ्देनलाई थाहा होला । तर उनले सञ्चारकर्मीलाई भने सिंहदरबार भित्रै प्रहरीले घेरा हालेका कारण आउन मिलेन भनेर जानकारी गराए । तर,आन्दोलनको दिन एका विहानै लिङ्देनले फेसबुकमा ‘हामी सीमित नेताहरू मात्रै सहभागी हुनेछौँ’ भनी लेखेपछि भने कार्यकर्ताबीच अन्योल छायो ।

आइतबार बिहान लिङ्देनले पार्टीको विधानले नचिन्ने एउटा उच्चस्तरीय समितिको बैठक बोलाए, जहाँ निषेधित क्षेत्र तोड्न तीन टोली बनाइयो । बालुवाटारमा विक्रम पाण्डे, बिजुली बजारमा लिङ्देन र भद्रकालीमा अर्को टोली । तयअनुसार १ बजे लिङ्देनले नेतृत्व गर्ने भनिएको बानेश्वर क्षेत्रको प्रदर्शनमा कार्यकर्ताहरू १२ बजेदेखि नै जम्मा हुन थाले । उपाध्यक्ष बुद्धिमान तामाङ, विक्रम पाण्डे, राजेन्द्र गुरुङ जस्ता नेताहरू उपस्थित भए तर लिङ्देन भने २:१५ सम्म पनि देखिएनन् ।

कडा घाममा पनि उत्साहपूर्वक नाराबाजी गरिरहेका कार्यकर्ताहरू अध्यक्षकै आगमन पर्खिरहेका थिए । केही समूहले समय समयमा प्रहरीको बार तोड्न पनि खोजिरहेका थिए । अन्ततः उनीहरू लिङ्देनको प्रतीक्षामा माइतीघरतिर लागे ।

त्यही बेला खबर आयो– अध्यक्ष लिङ्देन, बुद्धिमान तामाङ र ज्ञानेन्द्र शाही सिंहदरबारमा पक्राउ परेका छन् । दीपक सिंह भने प्रहरीको नजरबाट फुत्किएर बिजुली बजार क्षेत्र पुगेका थिए । उनलाई पछाडीबाट प्रहरीले खेदिरहेको थियो भने उनीसँगै भएका राप्रपा युवा कार्यकर्ताहरुले उनलाई सुरक्षा दिइरहेका थिए ।

लिङ्देन सिंहदरबार पुगेर प्रदर्शन गर्नु र गिरफ्तार हुनु अधिकांश कार्यकर्ताहरूको नजरमा अनपेक्षित रहस्य बन्न पुग्यो । तर केही कार्यकर्ताहरुलाई भने यो बारेमा पहिले नै जानकारी भएकाे जस्ताे थियाे । उनीहरु सुरुवात देखिनै निषेधित क्षेत्र तोडिनेमा ढुक्क थिए । आन्दोलनमा संवाद गर्ने क्रममा राप्रपा प्रदेश सांसद उद्दव पौडेलसमेत निषेधित क्षेत्र टोडिनेमा ढुक्क थिए ।

यो सबै घटनाक्रम हेर्दा राप्रपाले बानेश्वर लगायतको सार्वजनिक ठाउँको निषेधित क्षेत्र टोड्ने भनेर भ्रम फैलाएको देखिन्छ । सङ्ख्याको कुरा गर्दा आइतबार पुग–नपुग २ हजारभन्दा धेरै आन्दोलनकारी थिएनन् । त्यसैले राप्रपाले निषेधित क्षेत्र तोड्नका लागि प्रयाप्त मान्छेको उपस्थिति नहुने देखेपछि यो हतकण्डा अपनाएको हुनसक्छ ।

पछिल्ला दिनहरुको घटनाक्रम नियाल्दा, विभिन्न किसिमका हतकण्डा गर्दै राप्रपा समाचारमा भने छाइरहन खोजिरहेको छ । आइतबार एकभन्दा धेरै ठाउँमा प्रदर्शन गरेर निषेधित क्षेत्र तोड्ने घोषणा गरेको राप्रपाले आन्दोलन गरिरहेका शिक्षकहरूको समय सार्ने भन्दा अरू केही गरेन । मानिसहरूको उपस्थिति एकदमै कम देखियो । यही भेउ पाएर सडकमा पुग्नु भन्दा सिंहदरबारमा नै हतकण्डा गर्नु राजेन्द्र लिङदेनहरूलाई बाध्यता परेको हुनसक्छ ।अन्ततः उनीहरूले त्यही गरे । पक्राउ परे र उनिहरुले चाहेजस्तो समाचार पनि बन्यो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१