ताप्लेजुङ दुर्घटना : दोषी बिजुलीको तार कि राज्यको अक्षमता ?

काठमाडौं । सोमबार बिहान पूर्वी नेपालको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभराबाट एक मार्मिक खबर आयो। ताप्लेजुङ सदरमुकामबाट दर्शनार्थी लिएर पाथीभरा जाँदै गरेको मे १ भ ३०११ नम्बरको बोलेरो जिप फुङलिङ नगरपालिका–१० को सेवारो चोकमा लत्रिएको विद्युत् तारमा अल्झिएपछि गाडीमा आगलागी भई चार जनाको ज्यान गएको छ।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी भीमबहादुर दाहालका अनुसार दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन्।मृत्यु हुनेमा ललितपुरकी १६ वर्षीया आध्या आचार्य, झापाका ७० वर्षीय विनोद पौडेल, उनकी ६९ वर्षीया पत्नी सरिता पौडेल र गाडी चालक ४२ वर्षीय दुर्गा भट्टराई छन्। घाइते भएकी ४५ वर्षीया सबिना आचार्य र उनका १० वर्षीय छोरा भविमय आचार्यलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ।यद्यपि दुर्घटनाको प्राथमिक कारण विद्युत् तार देखिए पनि घटनास्थलको अवस्था हेर्दा हिलाम्य र अप्ठ्यारो सडक पनि प्रमुख कारणमध्ये एक हो। दुर्घटनास्थलमा गाडी दलदलजस्तो हिलोमा गाडिएको देखिन्छ।जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाका अनुसार जिप बिहान ३ बजेतिर हिँडेको थियो, त्यति बेलाको हुस्सु, पानी र हिलाले स्थिति झन् जोखिमपूर्ण बनाएको अनुमान गरिएको छ।

१५ वर्षदेखि अधुरो १० किलोमिटरको यात्राफुङलिङदेखि सुकेटारसम्मको सडक कालोपत्र भए पनि सुकेटार–काफ्लेपाटी खण्ड भने वर्षौंदेखि अधुरो छ। डेढ दशकअघि ट्र्याक खुलेको यो खण्ड अझैसम्म पनि सुधार नहुँदा यात्रीले हिउँदमा धुलो र वर्षामा हिलो झेल्दै पाथीभरा जानुपर्ने बाध्यता छ।कालोपत्रका लागि कन्टेक प्रालिले २०७८ पुसमा सम्झौता गरे पनि २०८० असारसम्म सक्नुपर्ने काम अझै अलपत्र छ। जिल्ला समन्वय प्रमुख लामाले राज्यको पर्याप्त ध्यान नपुगेको र ठेकेदारको गैरजिम्मेवारीले समस्या झनै बढेको बताएका छन्।सडक विभागअन्तर्गत तमोर करिडोर (सुभाङखोला–दोभान–ओलाङचुङ्गोला) योजनाका प्रमुख अमिन्द्र खड्काका अनुसार कामले चालु आर्थिक वर्षदेखि गति लिएको छ। “यो वर्ष देउरालीसम्म ग्राभेल गर्ने योजना छ, बाँकी काम अर्को वर्ष सक्ने गरी तयारीमा छौं,” खड्काले भने।

केबुलकारको बहस, तर आधारभूत पूर्वाधार प्राथमिकताबाहिरपाथीभरा क्षेत्रमा केबुलकार आवश्यकताबारे बहस भइरहे पनि अत्यावश्यक सडक सुधार प्राथमिकतामा नपरेको देखिन्छ। हरेक वर्ष ३ लाखभन्दा बढी श्रद्धालु पाथीभरा पुग्छन्, तर उनीहरूले यातायात सुविधाको चरम अभाव झेल्नुपरेको छ।स्थानीय जिप र व्यक्तिगत सवारीसाधनबाट पुग्ने तीर्थयात्रीका लागि असुरक्षित र असहज सडक अहिले पनि दुःखद दुर्घटनाको प्रमुख कारक बन्ने क्रम रोकिएको छैन।त्यसैले, आगामी दिनमा पाथीभरा क्षेत्रको पूर्वाधार विकासलाई बहसको विषय मात्र नराखी प्राथमिकतामा राख्नु अत्यावश्यक देखिन्छ — नत्र श्रद्धा यात्रा नै जोखिमको यात्रामा परिणत हुने खतरा रहन्छ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१