काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच हाल बालुवाटारमा भेटवार्ता भइरहेको छ। प्रधानमन्त्रीको सरकारी निवासमा जारी वार्तामा राष्ट्र बैंकको रिक्त गभर्नर पदबारे मुख्य रूपमा छलफल भइरहेको स्रोतले जनाएको छ।
प्रधानमन्त्रीका सचिवालय सदस्य रामशरण बजगाईँका अनुसार, सोमबार साँझ तय भएको भेट प्रधानमन्त्रीको अस्वस्थताका कारण हुन नसकेपछि आज भेटवार्ता भइरहेको हो।
उनले यो नियमित प्रकृतिको भेटवार्ता रहेको जानकारी दिए।सभापति देउवाले यसअघि नै गभर्नरको लागि अर्थविद् प्रा. डा. विश्व पौडेलको नाम प्रधानमन्त्री ओलीलाई सिफारिस गरिसकेका छन्।
गभर्नर चयनका लागि अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गठित सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेपछि मन्त्रिपरिषद्बाट नियुक्ति हुने प्रक्रिया तय भए पनि, समितिको बैठक हालसम्म बस्न सकेको छैन। गत चैत २४ गतेदेखि नेपाल राष्ट्र बैंकको गभर्नर पद रिक्त रहेको छ।