नेकपा एमालेका महासचिव शंकर पोखरेलले हालको सत्ता गठबन्धन आगामी २०८४ को निर्वाचनसम्म निरन्तर कायम रहने दाबी गरेका छन्।
प्रेस चौतारी दाङ शाखाद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले सरकार चाँडै ढल्ने भन्ने हल्ला निराधार भएको बताएका हुन्। उनका अनुसार सत्ता साझेदार दलहरूबीच आपसी सहमति कायम रहँदासम्म सरकार टिकिरहनेछ।
महासचिव पोखरेलले विगतमा साना दलले ठूला दललाई दबाएर शासन गर्ने अभ्यासको अन्त्य गर्न एमाले र काँग्रेस मिलेर वर्तमान सरकारको नेतृत्व गरिरहेको पनि स्पष्ट पारे।
उनले भने, “जबसम्म दुई दलबीच असमझदारी हुँदैन, सरकार ढल्दैन। असमझदारी नभएको अवस्थामा सरकार परिवर्तनको कुरा गर्नै पर्दैन।”
पोखरेलले वर्तमान सत्ता गठबन्धन चुनावी नतिजाको उपज भएको उल्लेख गर्दै यो सरकार कुनै एक पार्टीको हैन, सबै दलहरूको साझा नीतिमा आधारित रहेर सञ्चालन भइरहेको बताएका छन्।