• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

हुम्लाको तिलगाउँमा धमिलो खोलाको पानी पिउन बाध्य स्थानीय, बाढीले खानेपानी संरचना नष्ट

काठमाडौं।  हुम्लाको नाम्खा गाउँपालिका–६ तिलका बासिन्दा पछिल्लो समय खोलाको धमिलो पानी पिउन बाध्य छन्।

जेठ १ गते राति हिमताल भासिएर आएको लेदोयुक्त बाढीले गाउँको खानेपानी संरचना पूर्ण रूपमा क्षति पु‍र्‍याएपछि स्थानीयहरू नजिकैको गुनछुसा खोलाको धमिलो पानीमै निर्भर हुनुपरेको हो।

स्थानीय कन्जोक फुर्व लामाले बाढीले गाउँका खानेपानीका पाइपलाइन र धाराहरू बगाएको जानकारी दिए। ‘कतिबेला पानी धमिलो आउँछ, कतिबेला केही सफा जस्तो देखिन्छ, तर पिउन त पर्यो,’ उनले भने।

सोही गाउँकी सोनाम साङमु लामाले झण्डै एक सातादेखि खोलाको धमिलो पानी पिउनुपर्ने अवस्था रहेको बताइन्। लगातार धमिलो पानी पिउनु परेकाले बस्तीमा स्वास्थ्य समस्या देखिन सक्ने चिन्ता समेत उनले व्यक्त गरिन्।

जेठ १ गतेको बाढी र पहिरोका कारण तिलगाउँमा घर, पुल, लघु जलविद्युत् आयोजना लगायत संरचनामा ठुलो क्षति पुगेको छ। जोखिम बढेपछि तिलगाउँका १८ परिवार घर छाडेर अस्थायी रूपमा पालमुनि बसेका छन्।

यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इञ्जिनियर दिनेश भट्टले मंगलबार एक कार्यक्रममा तिलगाउँमा खानेपानी मर्मतका लागि आवश्यक पाइप सामग्री पठाइसकिएको जानकारी दिएका छन्।