नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्ना पूर्वमित्र डा. बाबुराम भट्टराईसँग पार्टी एकताको सम्भावनालाई प्रस्टै रूपमा अस्वीकार गरेका छन्। हालै पूर्वी रुकुममा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले बाबुरामलाई “सबैभन्दा कम दिमाग भएको डाक्टर” भन्दै कडा टिप्पणी गरेका छन्।
उनले पार्टी एकता विषयमा चिन्तित कार्यकर्ताहरूलाई सम्वोधन गर्दै मूल माओवादी पार्टीले निरन्तर एकताको प्रयास गरिरहेको बताएका थिए। प्रचण्डका अनुसार महासचिव देव गुरुङ, उपाध्यक्ष पम्पा भुसाल, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायतका नेताहरू एकता प्रक्रियाबाटै पार्टीमा फर्केका छन्। उनले विप्लव नेतृत्वका शिक्षकसहित हजारौं कार्यकर्ता पार्टीमा फर्किएको दाबी गरे।
प्रचण्डले बाबुराम भट्टराईसँगको सम्बन्धबारे बोलेका थिए, “गोर्खामा हामीले सहकार्य गर्यौं, तर पछि उहाँले मार्क्सवाद, कम्युनिस्ट पार्टी भन्ने नाम नै अस्वीकार गर्नुभयो। अब त्यसो भए हामी किन उहाँकै लागि मर्न जाने?” उनले थपे, “बाबुरामले प्रतिक्रियावादीहरूसँग हातेमालो गर्नुभएको छ, आज त उहाँलाई तिनले पनि पत्याउँदैनन्।”
उनले एकता सैद्धान्तिक, विचार र दृष्टिकोण मिलेकै आधारमा हुनुपर्ने भन्दै अन्धा रूपमा गरिएको एकता भाँडभैलो मात्रै हुने बताए। एमालेसँगको अघिल्लो एकता उदाहरण दिँदै उनले भने, “त्यो एकता कहाँ टिक्यो र?”
प्रचण्डले हुलाकी अभियान, गंगानारायण श्रेष्ठ लगायत कार्यकर्ताको पुनरागमनजस्ता पक्षलाई सकारात्मक उदाहरणका रूपमा प्रस्तुत गरे। साथै उनले सत्तारुढ दलहरू कांग्रेस, एमाले, पूर्व माओवादी समूह र अन्य दलहरू माओवादीलाई एक्ल्याउने प्रयासमा लागेको दाबी गर्दै भने, “तर गोर्खा उपचुनावमा हामीले सबैलाई हराएर देखायौं।”
उनले अन्त्यमा पार्टीभित्र भाँडभैलो गर्ने, भ्रम सिर्जना गर्ने तत्वहरूबाट सतर्क रहन कार्यकर्तालाई आग्रह गरे। “हामी बलियो हुँदैछौं, त्यसैले दुश्मनको लगानी पनि बढ्दैछ,” भन्दै प्रचण्डले पार्टी एकता सुदृढ बनाउन आह्वान गरे।