काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले सभापति शेरबहादुर देउवाको नाममा राजसंस्थासम्बन्धी भ्रमपूर्ण प्रचार भइरहेको भन्दै आपत्ति जनाएको छ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार विज्ञप्ति जारी गर्दै देउवाले राजसंस्थाबारे कुनै अभिव्यक्ति नदिएको स्पष्ट पार्दै देउवाको नाम जोडेर फैलाइएको समाचार कपोलकल्पित र भ्रामक रहेको बताएका छन्।
विज्ञप्तिमा भनिएको छ, “२०६२/०६३ को जनआन्दोलनबाट प्राप्त संघीय, समावेशी लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको संरक्षण र सुदृढीकरणमा सभापति देउवाको नेतृत्व निरन्तर सक्रिय रहँदै आएको छ।”
कांग्रेसले राजसंस्था पुनःस्थापनाको सन्दर्भमा देउवाको समर्थन रहेको भनी सार्वजनिक गरिएका समाचारहरूलाई “मनगढन्ते, भ्रामक र पत्रकारिताको मर्मविपरीत” भएको भन्दै तीप्र आलोचना गरेको छ।
पार्टीले देउवाले नबोलेको कुरा प्रचार गर्नु अनैतिक कार्य भएको उल्लेख गर्दै यस्ता गलत सूचनाले जनता भ्रमित नहुन अपिलसमेत गरेको छ।कांग्रेसले आन्दोलनमार्फत प्राप्त सबै लोकतान्त्रिक उपलब्धिको संरक्षणमा दृढ प्रतिबद्धता दोहोर्याउँदै यस्ता प्रचारप्रति विश्वास नगर्न आम जनसमुदायलाई आग्रह गरेको छ।