• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

काठमाडौंमा १६८ थान अवैध मोबाइलसहित दुई युवक नियन्त्रणमा

काठमाडौं, काठमाडौंमा प्रहरीले ठूलो परिमाणमा अवैध मोबाइलसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार २०८२ जेठ ६ गते मंगलबार राति करिब ९ बजे काठमाडौं महानगरपालिका-३२, बालकुमारीस्थित सडक खण्डमा गरिएको चेकजाँचका क्रममा उनीहरुलाई पक्राउ गरिएको हो।

पक्राउ परेका युवकहरुबाट प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले विभिन्न ब्राण्डका गरी कुल १६८ थान अवैध मोबाइल बरामद गरेको छ। बरामद मोबाइलहरुमा भिभो ३० थान, सामसुङ २५ थान, ओप्पो १७ थान, रियलमी १६ थान, रेडमी १३ थान, आइफोन १३ थान, वनप्लस १० थान, मोटोरोला ६ थान, नोकिया ३ थान र अन्य विभिन्न कम्पनीका ३५ थान रहेका छन्।
पक्राउ पर्नेमा नुवाकोट जिल्ला, विदुर नगरपालिका-१३ घर भई हाल काठमाडौं बाफल बस्ने २४ वर्षीय शंकर श्रेष्ठ र भक्तपुर जिल्ला, भक्तपुर नगरपालिका-२ बस्ने २३ वर्षीय अर्का एक युवक रहेका छन्।
प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिई बरामद मोबाइलहरुको स्रोत र अवैध कारोबारबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।