आइसिसी विश्वकप लिग-२ मा आज स्कटल्याण्डसँग खेल्दै नेपाल

आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्स सम्मिलित त्रिकोणात्मक सिरिज सोमबारदेखि स्कटल्याण्डमा सुरु हुँदैछ।

सिरिजको उद्घाटन खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। खेल फोर्थहिल डुन्डी मैदानमा नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ।

नेपालले सिरिजको दोस्रो खेल आगामी जुन ४ मा नेदरल्याण्ड्सविरुद्ध खेल्नेछ। त्यसपछि जुन ८ मा फेरि स्कटल्याण्ड र अन्तिम खेल जुन १० मा नेदरल्याण्ड्ससँग हुनेछ।

हालसम्म लिग–२ को अंक तालिकामा नेपाल १२ खेलमा जम्मा २ जितसहित आठौं स्थानमा छ। २० खेलमा २८ अंक जोडेको अमेरिका शीर्ष स्थानमा छ भने नेदरल्याण्ड्स २६ अंकसहित दोस्रो र ओमान २४ अंकसहित तेस्रो स्थानमा छन्।

स्कटल्याण्ड र क्यानडाले समान २० अंक जोडेका छन्, तर स्कटल्याण्ड चौथो र क्यानडा पाँचौं स्थानमा छन्। यिनीहरूपछि नामिबिया, युएई र अन्त्यमा नेपाल छन्।

त्रिकोणात्मक एकदिवसीय सिरिजपछि नेपालले स्कटल्याण्ड र नेदरल्याण्ड्ससँग टी–२० शृंखला पनि खेल्नेछ।

लिग–२ अन्तर्गतका खेलहरू जेठ १९ गतेदेखि सुरु हुनेछन् भने टी–२० सिरिज असार २ गतेदेखि प्रारम्भ हुनेछ।

नेपाली टोली यस प्रकार रहेको छः
कप्तान – रोहित पौडेल,
उप–कप्तान – दीपेन्द्र सिंह ऐरी,
विकेटकिपर – आसिफ शेख,
अन्य खेलाडीहरू – कुशल भुर्तेल, अनिल साह, आरिफ शेख, भीम सार्की, बसिर अहमद, गुलशन झा, ललित नारायण राजवंशी, सन्दीप लामिछाने, सोमपाल कामी, नन्दन यादव, कारण केसी, रिजन ढकाल।