• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

सङ्घीय विधेयकको विरोधमा निजामती कर्मचारीको सामान्य प्रशासन मन्त्रालयमा धर्ना

काठमाडौं। सङ्घीय निजामती सेवा विधेयकमा असन्तुष्टि जनाउँदै निजामती कर्मचारीहरूले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअगाडि धर्ना दिएका छन्।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित ‘सङ्घीय निजामती सेवा विधेयक’मा कर्मचारीमैत्री नदेखिएको भन्दै उनीहरूले पुनः विरोध प्रदर्शन गरेका हुन्। कर्मचारीहरूको भनाइमा विधेयकमा समावेश केही प्रावधानहरू सेवामा रहेका कर्मचारीहरूको हितविपरीत छन्।

धर्नामा सहभागी कर्मचारीहरूले सेवा अवधि अनुसार एक तह बढुवा हुने समयसीमा ७ वर्ष होइन, ५ वर्ष हुनुपर्ने माग गरेका छन्। त्यस्तै, संघ, प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीलाई एक पटकका लागि समायोजन छनोट गर्ने अवसर दिनुपर्ने उनीहरूको माग छ।

उनीहरूले स्थानीय र प्रदेश तहका कर्मचारीहरूका लागि अन्तरप्रदेश सरुवाको व्यवस्था हुनुपर्ने, तीनै तहका कर्मचारीहरूलाई समान रूपमा निजामती सेवाको परिभाषाभित्र समावेश गर्नुपर्ने जस्ता थप मागसमेत अघि सारेका छन्। कर्मचारीहरूले विधेयक संशोधन नगरे सशक्त आन्दोलनमा जानुपर्ने चेतावनी समेत दिएका छन्।