आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत डन्डीमा सोमबार सम्पन्न खेलमा नेपालले स्कटल्याण्डमाथि १ विकेटको ऐतिहासिक र रोमाञ्चक जित हात पारेको छ।गएराती सम्पन्न खेलमा स्कटल्याण्डले दिएको २९७ रनको ठूलो लक्ष्य पछ्याउँदै नेपालले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। खेलको अन्तिम बलअघि जित निकाल्न सफल भएको नेपालका लागि जितको नायक बनेका छन् स्टार अलराउन्डर करण केसी, जसको विस्फोटक ब्याटिङले टिमलाई निकै कठिन परिस्थितिबाट जितसम्म पुर्याएको थियो ।
करणले आठौं नम्बरमा ब्याटिङ गर्दै ४१ बलमा ३ चौका र ४ छक्कासहित ६५ रनको अविस्मरणीय इनिङ खेले। जब टिम संकटमा थियो, त्यतिबेला उनले आत्मविश्वासका साथ रन जोड्दै टिमलाई जित नजिक पुर्याएका थिए। यसबाहेक ओपनर कुशल भुर्तेलले ४४ बलमा अर्धशतक पुरा गरे भने गुलशन झाले ३० बलमा ४२ रनको योगदान दिए। गुलसनको इनिङ्सले पनि नेपाललाई जितको निकै नजिक पुर्याएको हो ।
त्यद्तै कप्तान रोहित पौडेलले ३७ र भीम सार्कीले ४० रन बनाए।
यसअघि स्कटल्याण्डले ५० ओभरमा ७ विकेट गुमाउँदै २९६ रन बनाएको थियो। चार्ली टियरले ८० रन, फिनले म्याक्रेथले ५५ रन, र कप्तान बेरिङटनले ४० रनको योगदान दिए। नेपालका बलरहरूमध्ये करण केसी, रिजन ढकाल, र सोमपाल कामीले समान २–२ विकेट लिए।
जितसँगै नेपाल लिगको अंक तालिकामा सातौँ स्थानमा उक्लिएको छ। करण केसीको साहसी इनिङले न केवल खेलको रुख मोड्यो, तर नेपाली क्रिकेटको आत्मविश्वाससमेत थप बढाएको छ। नेपालले अब आफ्नो दोस्रो खेल जुन ४ मा नेदरल्यान्ड्ससँग खेल्नेछ।