मदन भण्डारीमाथि ‘चार श्रीमती छन्, सहकारी ठग हुन्’ भन्दै असाधारण हमला गरिएको थियो: ओली

काठमाडाैं । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा विचार र संगठनको आधारशिला राख्ने नेता मदन कुमार भण्डारीमाथि विगतमा अनेक आरोप लगाइए पनि देश आज पनि भण्डारीकै विचार–दर्शनको मियो समातेर अघि बढिरहेको दाबी गरेका छन्।

शनिबार काठमाडौंमा आयोजित ‘जनताको बहुदलीय जनवाद (जबज) का तीन दशक’ विषयक राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मदन भण्डारीलाई विगतमा राजनीतिक र व्यक्तिगत लाञ्छनाहरू लगाइएकाे स्मरण गरे।

“उसबेला पनि मदन भण्डारीलाई ‘फुत्त दुलोबाट निस्केर नेता हुन पाइन्छ?’ भन्ने प्रश्न उठाइन्थ्यो,” ओलीले भने, “चारवटी श्रीमती छन्, सहकारी ठग हुन् भन्ने जस्ता दुर्वाच्य आरोपहरू लगाइएका थिए, जुन असाधारण हमला थियो।”

ओलीका अनुसार, भूमिगत अवस्थामा संगठन निर्माण, संघर्षको अग्रपंक्तिमा जोखिम मोल्ने काम, र विचारको स्पष्ट दिशा तय गर्नु जस्ता क्रियाकलापले भण्डारीले पार्टीको जग बसालेका थिए। “जबज पाँचौं महाधिवेशनमा सूचीकृत भए पनि यसको आधार चौथो महाधिवेशनमा निर्माण गरिएको हो,” उनले बताए।

प्रधानमन्त्री ओलीले मदन भण्डारीको विचारमा देश नै अघि बढिरहेको दाबी गर्दै भने, “आज पनि नेपाल उहाँकै विचार सेरोफेरोमा को मियो मानेर अघि बढिरहेको छ।” विश्वव्यापी वामपन्थी आन्दोलन संकटमा परेका बेला भण्डारीले व्यवहारिक र सुस्पष्ट वैचारिक मार्ग प्रस्तुत गरेको उल्लेख गर्दै ओलीले भण्डारीलाई नेपालको राजनीतिक इतिहासमा निर्णायक मोड दिने व्यक्तित्वको रूपमा व्याख्या गरे।

उनले पार्टी विभाजनका प्रयास, महाकाली सन्धि विवाद लगायतका विषयहरूमा एमालेमाथि बारम्बार चुनौती आइरहे पनि, एमाले असाधारण शक्ति बन्‍दै यहाँसम्म आइपुगेको बताए।

Comments

One response to “मदन भण्डारीमाथि ‘चार श्रीमती छन्, सहकारी ठग हुन्’ भन्दै असाधारण हमला गरिएको थियो: ओली”