
काठमाडाैं । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली मदन भण्डारीको ७४औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन सकेर हतारिँदै बाहिरिएका छन्।
ओली शनिबार नै स्पेन भ्रमणका लागि प्रस्थान गर्ने कार्यक्रम रहेकाले सम्बोधन छोट्याउँदै उनले भने, “पाँच बजे विमानस्थल पुग्नुपर्छ।”
कार्यक्रमको अन्त्यतिर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई संकेत गर्दै ओलीले व्यंग्यात्मक शैलीमा भने, “सम्माननीय पूर्वराष्ट्रपतिज्यूले मेरो कुरा पनि सुन्दिनुहोस् भन्नु भएको थियो, तर म जानुपर्छ। सुन्नै पर्दैन, विद्याजीले राम्रै बोल्नुहुन्छ भन्ने मलाई थाहा छ। आज मात्र होइन, पहिलेदेखि नै सुन्दै आइएको हो।”
ओलीले कार्यक्रममा केही मानिसहरूले विद्या भण्डारीले बम पड्काउनुहुन्छ भन्ने भ्रम फैलाउन खोजेको आरोप पनि लगाए। उनले त्यस्ता भ्रमहरू भ्रममै सीमित हुने दाबी गर्दै भने, “विद्याजी सहभागी कार्यक्रम कसरी भाँडिन्छ? यस्तो सोच्नु गलत हो।”
उनले हालसालै पार्टी विभाजनको आशंका गरिएको प्रसंग उल्लेख गर्दै भने, “एमाले आजै फुट्ने भयो भनेर कोही प्रचारमा छन्, तर केही हुनेवाला छैन। भ्रम नपाले हुन्छ।”
ओलीको सम्बोधन हतारिएर छोटो भए पनि उनले एमाले एकताबद्ध रहेको र कुनै भ्रममा नपर्न सबैलाई आग्रह गरे।
यो पनि :
मदन भण्डारीमाथि ‘चार श्रीमती छन्, सहकारी ठग हुन्’ भन्दै असाधारण हमला गरिएको थियो: ओली