काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेकपा एमालेको राजनीतिमा जोडिएको घोषणा गरेकी छिन् । स्व. मदन भण्डारीको ७४ औं जन्मोत्सवमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेकी हुन् ।
एमालेबाटै राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ आफूले पार्टी सदस्यता नवीकरण गरेको उनले बताइन् ।
‘फरक ढङ्गको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा (एमाले) मै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ मैले पार्टी सदस्यता नवीकरण गरेको छु,’ भण्डारीले भनिन्, ‘अब म नेकपा (एमाले) परिवारको एक सदस्यको रूपमा पुन: जोडिएको छु र यसमा म गर्व गर्दछु ।’
उनले आफ्नो कुनै ठूलो महत्वकांक्षा नरहेको पनि बताइन् ।
‘देश र जनताको हित नै मेरो ध्येय र लक्ष्य हो । जननेताले भन्ने गर्नुहुन्थ्यो— जनता भनेका भगवान हुन् । साथै उहाँले भन्नुभएको थियो— राजनीतिमा थकाई भन्ने शब्दावली हुँदैन,’ उनले भावुक सम्बोधन गर्दै भनिन्, ‘आज तपाईँहरूका बीचमा हुँदा मदनका यी भनाईहरू मैले पुन: स्मरण गर्दै यहाँ उल्लेख गरेको छु ।’