नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख तथा ‘उज्यालो नेपाल’ अभियानका अगुवा कुलमान घिसिङ अहिले बहराईन, दुबई, ओमान र कतारमा रहेका नेपालीहरुसँग भेटघाटमा व्यस्त छन्। असार १८ गतेदेखि सुरु भएको यो भ्रमणलाई आगामी राजनीतिक यात्रा र तयारीसँग पनि जोडेर हेरिएको छ।
ओमानस्थित नेपाली राजदूत डोलनाथ अर्यालले ओमानमा आयोजित दिवाभोजमा नागरिक अभिनन्दन गर्दै नेपाली समुदायलाई घिसिङसँग प्रत्यक्ष भेटघाट गराएका छन्। भेटघाटका क्रममा युवाहरुले उठाएका समस्या, विदेशमा रहेका नेपालीको अवस्था र उनीहरुको भोगाइलाई नजिकबाट बुझ्ने प्रयास भइरहेको छ।
नेपालमा लोडसेडिङ अन्त्य गरी ‘उज्यालो नेपाल’को नेतृत्व गरेका घिसिङ पछिल्लो समय सक्रिय राजनीति प्रवेश गर्ने तयारीमा रहेको चर्चा चलेको छ। यसपटकको मध्यपूर्व भ्रमणलाई पनि सम्भावित राजनीतिक यात्राअघि जनमत विशेषगरी वैदेशिक रोजगारमा रहेका युवाहरुको मत बुझ्ने अवसरका रूपमा हेरिएको छ।
भ्रमण तालिकाअनुसार बहराईन, दुबई हुँदै घिसिङ हाल ओमानमा छन्। ओमानको कार्यक्रम सकिएपछि कतार हुँदै नेपाल फर्किने तालिका छ। विदेशमा बसेर देशका लागि योगदान गरिरहेका लाखौं नेपालीसँग प्रत्यक्ष संवाद र हौसला आदानप्रदान गर्ने यो प्रयासले उनको राजनीतिक यात्रालाई थप ऊर्जा दिने अपेक्षा गरिएको छ।