
केही दिनअघि फेसबुकमा भावुक स्टाटस लेख्दै आत्महत्या गरेका रिनेश घिमिरेको घटनामा संलग्न भएको आशंकामा उनकी प्रेमिकालाई प्रहरीले नियन्त्रणमा लिएको छ। ललितपुर प्रहरीले दोलखा स्थायी घर भई काठमाडौंको नयाँबजारमा बस्दै आएकी २५ वर्षीया युवतीलाई आत्महत्या दुरुत्साहनको आरोपमा पक्राउ गरेको हो।
रिनेशले आत्महत्या गर्नु अघि सामाजिक सञ्जालमा तीन तस्वीरसहित एक मार्मिक स्टाटस लेख्दै आफ्ना अभिभावकको बुढेसकालको सहारा गुमाएको पीडा र प्रेमिकाप्रतिको गुनासो व्यक्त गरेका थिए।
प्रेमिकाले दिएको प्रारम्भिक बयान अनुसार, आत्महत्याको अघिल्लो रात उनीहरू सँगै थिए र राति कोठामा केही समय विवादसहित कुटपिटसमेत भएको उनले बताइन्। “मलाई पिटेर जानुभयो, भोलिपल्ट माफी माग्नु होला भनेको केही गर्नुभएन, उल्टै यस्तो कदम चाल्नुभयो,” उनको भनाइ छ।
घटनासँग सम्बन्धित थप विवरणहरू संकलन गर्ने काम प्रहरीले जारी राखेको जनाएको छ।