• २०८३ असार २९
  • 2026 July 13, Monday

मधेस मरुभूमिकरणबाट जोगाउन सरकार गम्भीर होस् – उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेशमा बढ्दो मरुभूमिकरण रोक्न सरकारलाई तुरुन्त कदम चाल्न आग्रह गरेका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा उनले सिँचाइ, खानेपानी र चुरे संरक्षणमा सरकार गम्भीर नहुँदा मधेसमा जलस्रोतको संकट गहिरिँदै गएको बताए।

यादवले मधेसमा डिप बोरिङ र विद्युतीय सिँचाइ प्रणालीको व्यवस्था गर्नुपर्नेमा जोड दिँदै, २४ घण्टा विद्युत आपूर्ति गर्न आग्रह गरे। साथै, उनले घट्दो भूगर्भीय पानीको तह रोक्न तत्काल कदम चाल्नुपर्ने उल्लेख गरे।

सरकार एकातर्फ “सगरमाथा संवाद”जस्ता कार्यक्रम गर्दै अर्कोतर्फ वन फडानी र भूमाफियालाई प्रोत्साहन दिने कार्य गरिरहेको भन्दै उनले यस्तो विरोधाभाषी नीति गलत भएको बताए। चुरे क्षेत्रको संरक्षण नगरे मधेस मरुभूमिकरणतर्फ जान सक्ने चेतावनीसमेत उनले दिए।