काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधिसभा सदस्य माधव सापकोटाले संघीय निजामती सेवा विधेयकअन्तर्गतको कुलिङ पिरियडमा भएको छेडखानीमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको भूमिका रहस्यमय देखिएको बताएका छन् ।
आज (मंगलबार) संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले कुलिङ अफ पिरियडमा भएको छेडखानी मानवीय त्रुटी नभएको समितिको निष्कर्ष रहेको बताए । सापकोटा कुलिङ अफ पिरियडमा भएको छेडखानी छानविन गर्न बनेको संसदीय विशेष समितिका सदस्य हुन् ।
‘राज्यव्यवस्था परामर्श समितिका कर्मचारी, विज्ञहरूसँग छलफल गर्दा पनि सभापति रामहरि खतिवडाको कार्यशैली रहस्यमय देखिन गएको छ। त्यसैले सभापतिले आफ्नो पदीय जिम्मेवारी निर्वाह गर्न नसकेको समितिको ठहर छ,’– सापकोटाले भने, ‘प्रथम दृष्टिमै हस्ताक्षरकर्ताहरु सभापति र सचिव दुवै जनाले यसको जिम्मेवारी लिनुपर्छ र नैतिक रुपमा उहाँहरुले यसलाई स्वीकार गर्नुपर्छ । त्यो भनेको सभापतिको जिम्मेवारी ठीक ढंगले पूरा गर्न नसकेपछि के गर्ने भन्ने कुरा त स्पष्ट छ नि ।’
साथै, पदीय जिम्मेवारी पूरा गर्न नसकेकाले अब सभापति खतिवडा पदमा बसिरहनु उपयुक्त नहुने उनको भनाइ छ । उनले भने, ‘समितिले सर्वसहमतिका साथ सभापति र सचिवले आफ्नो पदीय जिम्मेवारीअनुसार भूमिका निर्वाह गर्न नसकेको निष्कर्ष र ठहर नै छ । यसरी हेर्दा आफ्नो जिम्मेवारी पूरा गर्न नसकेकाले त्यही जिम्मेवारीमा निरन्तरता दिने कि नदिने भन्ने कुरा त आम रुपमा प्रश्न होला ?