• २०८३ असार १८
  • 2026 July 02, Thursday

बहुविवाहसम्बन्धी धारणा स्पष्ट गर्न कानून मन्त्रीलाई तोसिमाको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. तोसिमा कार्कीले पुरुषलाई बहुविवाहको अधिकार दिने गरी कानुन बन्न लागेको भन्ने हल्लाले समाजमा भ्रम र खैलाबैला मच्चिएको भन्दै सरकारको आधिकारिक धारणा माग गरेकी छन्।

मंगलबार उनले कानून, न्याय तथा संसदीय मामिला मन्त्रीलाई भेटेरै यसबारे तत्काल स्पष्ट पार्न मागसहित पत्र बुझाएकी हुन्। सामाजिक सञ्जाल र सञ्चारमाध्यममा ‘बहुविवाहलाई कानुनी मान्यता दिन लागियो’ भन्ने चर्चाले आम नागरिकमा भ्रम फैलाएको र महिला अधिकारकर्मीहरू आमरण अनसनमा समेत बसिरहेको अवस्थाप्रति गम्भीर हुँदै डा कार्कीले सरकारले यस विषयमा ढिलासुस्ती गर्न नहुने बताएकी छन्।

‘पुरुषले बहुविवाह गर्न पाउने सम्बन्धी कानुन निर्माण हुँदै भन्ने विषयले सामाजिक सञ्जाल र सञ्चारमाध्यम तातेको छ, खैलाबैला मच्चिएको छ,’ उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘सरकारले यस्तो गम्भीर विषयमा कत्ति पनि ढिलासुस्ती नगरी यथाशीघ्र र आजै जवाफ दिनुपर्छ।’

उनले मन्त्रीलाई बुझाएको पत्रमा हालको मुलुकी अपराध संहिता, २०७४ ले बहुविवाहलाई दण्डनीय अपराध मानेको स्मरण गराउँदै यस्तो संवेदनशील विषयमा गलत सन्देश प्रवाह हुनुले सामाजिक सद्भावमा असर पार्ने उल्लेख गरेकी छन्। उनले पत्रमार्फत नागरिकको उत्तरदायित्व र विधिको शासनप्रति विश्वास व्यक्त गर्दै मन्त्रालयलाई यथार्थ जानकारी तत्काल सार्वजनिक गर्न अनुरोध गरेकी छन्।