काठमाडौँ । ठमेलस्थित क्यासिनो वाल्डो र क्यासिनो प्राइडमा भएको अत्याधुनिक ‘हाई-टेक’ ठगी प्रकरणले काठमाडौँका प्रतिष्ठित पाँचतारे होटलहरूको सुरक्षा र सुराकी संयन्त्रमाथि गम्भीर प्रश्न उठाएको छ।
भारतबाट आएको एउटा ठूलो गिरोहले काठमाडौँका तीनवटा ठूला होटलमा ११० वटा कोठा बुक गरेर आपराधिक क्रियाकलाप सञ्चालन गरेको खुलासा भएपछि होटलहरूको ‘मिलेमतो वा कमजोरी’ बाहिर आएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार, गिरोहले आफ्ना ‘डमी’ खेलाडी र सहयोगीहरूलाई राख्न होटल अलोफ्टमा ४०, मेरियटमा ५० र र्याडिसनमा २० वटा कोठा बुक गरेको पाइएको छ। एउटै उद्देश्यका लागि यति ठूलो संख्यामा कोठा बुक हुँदा र त्यहाँ शंकास्पद गतिविधि सञ्चालन हुँदा पनि होटल व्यवस्थापनले प्रहरीलाई कुनै जानकारी नदिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
अलोफ्टको कोठा नं. २०८ : अपराधको ‘कन्ट्रोल रुम’
प्रहरी अनुसन्धानमा होटल अलोफ्टको कोठा नं. २०८ लाई गिरोहले मुख्य केन्द्र बनाएको खुलेको छ। भारतीय नाइके दिनेश वर्माले सोही कोठाबाट चुम्बक जडित तास र विशेष लेन्सहरू वितरण गर्ने गरेको पाइएको छ। एउटा प्रतिष्ठित होटलको कोठाभित्रै प्रतिबन्धित र ठगीमा प्रयोग हुने सामग्रीहरूको भण्डारण र वितरण हुँदासम्म होटल प्रशासन बेखबर रहनुले ‘सेटिङ’ को आशंकालाई बल पुर्याएको छ।
यो गिरोहलाई नेपालमा व्यवस्थापन गर्ने ‘बीपी ग्रुप’ का जनार्दन उप्रेती (विनोद) ले नै होटलहरूको बिल भुक्तानी गरेको खुलेको छ। करोडौँको कारोबार हुने यस्ता इभेन्टहरूमा होटलहरूले ‘नो योर कस्टमर’ (KYC) र पाहुनाको गतिविधिलाई ध्यान दिनुपर्नेमा केवल व्यावसायिक नाफाका लागि आपराधिक समूहलाई आश्रय दिएको आरोप लाग्न थालेको छ।
होटलहरूको मौनता र सुरक्षा कमजोरी
सामान्यतया ठूला होटलहरूमा शंकास्पद व्यक्ति वा समूहको आवागमन हुँदा सुरक्षा निकायलाई जानकारी गराउने प्रचलन हुन्छ। तर, ११० वटा कोठा ओगटेर बसेका भारतीय नागरिकहरू दिनभर क्यासिनोमा धाउने र कोठामा शंकास्पद उपकरण प्रयोग गर्दा पनि होटलका कर्मचारी र सुरक्षा गार्डहरूले सुइँको नपाउनुले व्यवस्थापनको लापरवाही वा मौन समर्थन देखिएको छ।
प्रहरी स्रोतका अनुसार, यी होटलहरूमा गरिएको बुकिङ, भुक्तानीको स्रोत र होटल प्रशासनका जिम्मेवार व्यक्तिहरूसँग गिरोहको सम्बन्धबारे थप सुक्ष्म अनुसन्धान भइरहेको छ।
क्यासिनोमा जितेको रकमको ९० प्रतिशत सञ्चालकले राख्ने र बाँकी १० प्रतिशत खेलाडीलाई दिने सम्झौताका साथ चलेको यो ‘इन्डियन फलास’ इभेन्टले क्यासिनो मात्र होइन, होटल क्षेत्रको छविमा पनि धक्का पुर्याएको छ। प्रहरीले पक्राउ परेका ६ जना बाहेक फरार रहेका अन्य व्यक्तिहरूको खोजीका साथै होटलका सञ्चालक र व्यवस्थापकहरूलाई समेत सोधपुछको दायरामा ल्याउने तयारी गरेको छ।
यो पनि पढ्नुहोस् ।
ठमेलका क्यासिनोमा ‘हाई-टेक’ ठगी: आँखामा लेन्स र तासमा चुम्बक ! (भिडिओसहित)