Author: Hulak News

  • जेनजी आन्दोलनपछि बोल्न थाले राजनीतिक दलका नेता– माग जायज तर विध्वंस नियोजित

    जेनजी आन्दोलनपछि बोल्न थाले राजनीतिक दलका नेता– माग जायज तर विध्वंस नियोजित

    काठमाडौं । काठमाडौं उपत्यकामा सेप्टेम्बर ८ देखि सुरु भएको जेन–जी पुस्ताको ‘नेपोबेबीज’ अभियानले मुलुकलाई केही घन्टामै हल्लाइदियो । सामाजिक सञ्जालमा सुरु भएको अभियानले देशव्यापी आन्दोलनको रुप लिँदा काठमाडौंसहित देशका विभिन्न ठाउँमा प्रदर्शन, आगजनी र तोडफोडका घटनाहरु घटे । मुलुकका मुख्य संरचना सिंहदरबार, संसद भवन, सर्वोच्च अदालतदेखि राजनीतिक दलका कार्यालयहरू समेत आगजनीमा परे ।

    लगातार ४८ घन्टा चलेको आन्दोलनपछि शान्ति सुरक्षाका लागि नेपाली सेना सडकमा तैनाथ गरिएको छ । काठमाडौंसहितका विभिन्न जिल्लामा कर्फ्यू आदेश जारी छ ।

    आन्दोलनले देशव्यापी तरंग पैदा गरेपछि विभिन्न राजनीतिक दलका नेताहरू र कार्यकर्ताहरूका प्रतिक्रिया आउन थालेका छन् । पार्टीहरुको पछिल्लो अवस्थाको फिल्ड रिर्पोटिङमा एमाले पार्टीकी सदस्य प्रतिक्षा तिवारीले जेनजीको आन्दोलनको उद्देश्यप्रति समर्थन जनाएकी छन् । उनले जेनजीको मागहरू न्यायोचित रहेको बताउँदै देशभक्त युवाहरूको भावना सही भएपनि आन्दोलनमा घुसपैठ गरी देशलाई ध्वस्त पार्ने काम भएको आरोप लगाइन् ।

    उनले भनिन्, ‘देशमा व्यापक रूपमा भ्रष्टाचार र शुसासनको अभाव छ भन्ने विषय जेनजीले उठाएको आन्दोलन स्वागतयोग्य हो । तर आन्दोलनको नाममा जसरी सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोड भयो, त्यो दुःखद छ । राष्ट्रका संरचनाहरु, सार्वजनिक सम्पत्तिहरु जले । तर मलाई लाग्छ यो जेनजीको वास्तविक माग थिएन । आन्दोलनमा बाह्य शक्तिको घुसपैठ देखिन्छ ।’

    यसैगरी आन्दोलनको नाममा भएको हिंसा र तोडफोडप्रति तिवारीले गहिरो आपत्ति जनाइन् । ‘देशको संरचना, सार्वजनिक सम्पत्ति र राष्ट्रिय धरोहरहरू जलाइयो, तोडफोड गरियो—यो कुनैपनि हालतमा जायज हुन सक्दैन । आन्दोलनमा बाह्य शक्तिहरू र निहित स्वार्थ बोकेका समूहहरूले घुसपैठ गरेको स्पष्ट देखिन्छ,’ उनले भनिन् ।

    उनका अनुसार, जेनजी आन्दोलनको वास्तविक उद्देश्य राष्ट्रलाई ध्वस्त पार्नु थिएन । ‘जेनजीले त्यो किसिमको हिंसात्मक कार्य गरेका पनि छैनन् । तर उनीहरूको नाममा गलत समूहले भौतिक संरचनाहरू ध्वस्त पार्ने काम गरेका छन् । यस्तो कार्यप्रति म घोर भत्र्सना गर्छु,’ तिवारीले भनिन् ।

    तिवारीले नेपालमा सुशासन, पारदर्शिता र विकासको आवश्यकता अपरिहार्य रहेको बताउँदै आन्दोलनका मूल मागहरूमाथि सरकार र सम्बन्धित निकायले गम्भीर ध्यान दिनुपर्ने बताइन् । उनले आन्दोलनका नाममा लोकतन्त्र र संविधानलाई मासेर कुनै नयाँ व्यवस्था ल्याउन नसकिने बताइन् ।

    उनले चेतावनी दिँदै भनिन्, ‘हामी रोजगारी, शिक्षा, विकासका कुरा गर्दैछौं,तर आन्दोलनका नाममा लोकतन्त्र र संविधानलाई मासेर हामीले कुनै नयाँ व्यवस्था ल्याउन सक्दैनौं । लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र बनाऔं । आज राष्ट्र र राज्यका सम्पत्तिहरु र धरोहरहरु ध्वस्त भएका छन् । रोजगारीका कुराहरु गर्दैछौं, विकासका कुरा गर्दैछौं, तर यसले देशलाई १०/२० वर्ष पछाडि धकेलिदिएको छ ।’

    यसैगरी एमाले कार्यकर्ता नवराज श्रेष्ठले आन्दोलनको कारण देशले ठूलो भौतिक र संस्थागत क्षति बेहोरेको स्वीकार गरे । तर उनले यसलाई गम्भीर ‘परिवर्तनको संकेत’का रूपमा पनि हेर्नुपर्ने बताए ।

    ‘हाम्रो पार्टी कार्यालयमा महत्त्वपूर्ण कागजातहरू थिए, लाखौं कार्यकर्ताका विवरण थिए । संरचना जलेर नष्ट भयो । तर अब परिवर्तनको लहर आएको छ, यसलाई नकार्न सकिँदैन ।’

    श्रेष्ठले यस्तो आन्दोलन आउनुका पछाडि लामो समयदेखि चलखेल र शासकीय तहमा लापरवाही भएको कारण हुन सक्ने बताए ।

    ‘जेनजी प्रदर्शनको कुरा एकदमै गम्भीर छ । जेनजीहरुलाई मात्र दोष दिएर उम्किन पाउने अवस्था छैन । यो घटना हुनुभन्दा अगाडि एमाले र काङ्ग्रेसले देश चलाई रहेको अवस्था थियो । यो घटना हुनुभन्दा अगाडिदेखि नै चलखेलहरु भइरहेको थियो । त्यो अवस्था सरकार प्रमुखले बुझ्नलाई ढिलाइ गरेको जस्तो अनुभव गरेका छौं । यदि माथिल्लो तह र सुरक्षा निकायले यो विषयलाई पहिलादेखि नै गम्भीर भएर हेरेको भए सायद यति ठूलो घटना देशले भोग्नु पर्दैन् थियो होला ।’

    यसैगरी, कोशी प्रदेश कांग्रेसका प्रदेश सम्मेलन सदस्य कैलाश केसीले आन्दोलनको सुरुवाती चरणमै घुसपैठ भएको र त्यसकै कारण जनधनको ठूलो क्षति भएको बताए ।
    उनले भने, ‘सुरुमा नै नियोजित षड्यन्त्रसहित आन्दोलनलाई भड्काइएको हो । यसमा बाह्य शक्तिको पनि हात देखिन्छ । सुरक्षा संयन्त्रले पनि आफ्नो जिम्मेवारी पूरा गर्न सकेन ।’

    केसीका अनुसार कांग्रेसको पार्टी कार्यालय पूर्ण रूपमा ध्वस्त भएको छ । उनले जनसम्पत्तिमा भएको क्षतिको न्यायिक छानबिन गर्दै दोषीमाथि कडा कारबाहीको माग गरे ।

    कांग्रेस महाधिवेशन प्रतिनिधि नविन लामाले जेनजी आन्दोलनलाई आम नेपाली जनताको मुद्दा भएको बताए । उनले भने, ‘भ्रष्टाचारविरुद्धको आन्दोलन सबै नेपालीको साझा एजेन्डा हो । तर यसमा घुसपैठ गरेर आन्दोलनलाई हिंसात्मक बनाइएको छ । पार्टी कार्यालय, सार्वजनिक सम्पत्ति जलाउनु दुःखद र निन्दनीय छ ।’

    उनका अनुसार आन्दोलनमा संलग्न जेनजी युवाहरूको उद्देश्य विध्वंस नभई सुधार थियो । तर उनीहरूलाई ढाल बनाएर स्वदेशी तथा विदेशी तत्वहरूले घुसपैठ गराएको आरोप उनले लगाए ।

    लामाले सुरक्षा संयन्त्रको भूमिकामाथि पनि प्रश्न उठाए । ‘राष्ट्रपतिको सुरक्षा गर्न सक्ने निकायले भवनहरूको सुरक्षा गर्न नसक्नु गम्भीर कमजोरी हो,’ उनले भने ।
    यसैगरी कांग्रेस जिल्ला कार्यसमिति सदस्य राजु पाथिकले पनि आन्दोलनको मूल माग सकारात्मक भएको बताए । उनका अनुसार जेनजी आन्दोलन भ्रष्टाचार विरुद्धको आवाज थियो, जुन सबै राजनीतिक दलको साझा एजेन्डा हो । तर उनले पनि आन्दोलनमा आन्तरिक र बाह्य चलखेल भएको स्पष्ट संकेत गरे ।

    ‘सार्वजनिक सम्पत्ति जलाउनु कुनै हालतमा जायज होइन,’ उनले भने, ‘तर त्यो कार्य जेनजीका युवा विद्यार्थीले गरेका हुन् भनेर म मान्दिन । माइतीघरबाट बानेश्वरसम्म पुगेपछि हेल्मेट लगाएका, मास्कधारी समूहले आगजनी गरेका हुन् ।’

    पाथिकका अनुसार माओवादी जनयुद्धको समयमा पनि यति धेरै सरकारी सम्पत्ति जलिएको उनले देखेका थिएनन् । उनले भने, ‘देश अहिले आर्थिक रूपमा कमजोर अवस्थामा छ । संविधानको रक्षा गर्दै त्यसको सीमाभित्रबाटै समाधान खोज्नुपर्छ ।’

    नेताहरूले संसद विघटनको चर्चा नउठाउन चेतावनी दिंदै संविधानकै दायराभित्र रहेर समाधान खोज्नुपर्ने बताएका छन् । संसद विघटनले देशलाई फेरि ३० वर्ष पछाडि धकेल्न सक्ने उनीहरूको भनाइ छ ।

    राजनीतिक नेताहरूको साझा धारणा यस्तो छ कि जेनजी आन्दोलनले उठाएका मुद्दाहरू उचित र सुधारमुखी थिए । तर आन्दोलनको नाममा भएको हिंसा, तोडफोड र आगजनीले जनतासँगै राजनीतिक दलहरूलाई पनि गम्भीर प्रश्नको सामना गराएको छ । अबको प्राथमिकता संविधानको रक्षा गर्दै समस्याको शान्तिपूर्ण समाधानमा केन्द्रित हुनुपर्नेमा उनीहरूको जोड छ ।

    जेनजीले सुरु गरेको आन्दोलनले देशमा व्यापक बहस जन्माएको छ । एकातिर भ्रष्टाचार, नातावाद, शासकीय बेथिति विरुद्धको आवाज उठाउने यो आन्दोलनले युवा पुस्ताको चेतनशीलता देखाएको छ भने अर्कातिर आन्दोलनमा घुसपैठ गरी गरिएको हिंसा र तोडफोडले आन्दोलनको नैतिक धरातलमा प्रश्न उठाएको छ ।

  • नागरिक सरकारको तयारीमा शीतल निवास: तैनाथ छन् नेपाली सेना (फोटोफिचर)

    नागरिक सरकारको तयारीमा शीतल निवास: तैनाथ छन् नेपाली सेना (फोटोफिचर)

    नागरिक सरकार गठन गर्ने सन्दर्भमा राष्ट्रपति निवास शीतल निवासमा निरन्तर संवाद जारी छ । भीभीआइपीहरुको ओहोरदोहोर भइरहेकाले शीतल निवास क्षेत्रमा नेपाली सेनाले सुरक्षा व्यवस्था कडा बनाएको छ ।

     

  • सेयर बजार असोज २ गतेसम्म बन्द रहने

    सेयर बजार असोज २ गतेसम्म बन्द रहने

    काठमाडौं । सेयर बजार असोज २ गतेसम्म बन्द रहने भएको छ। नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले शुक्रबार सुचना जारी गर्दै सो जानकारी दिएको हो।

    नेपाल धितोपत्र बोर्डको स्वीकृतिमा असोज २ गतेसम्म धितोपत्रको सेयर बजार कारोबार बन्द रहने भएको हो।

    ‘धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ९० (१, घ) बमोजिम आज मिति २०८२/०५/२७ गते नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएअनुसार २०८२/०५/२९ देखि २०८२/०/०२ गतेसम्म धितोपत्रको दोश्रो बजार कारोबार बन्द रहने व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिन्छ,’ सूचनामा भनिएको छ।

  • प्रहरीले माग्यो जेनजी आन्दोलनको तस्विर र भिडियो

    प्रहरीले माग्यो जेनजी आन्दोलनको तस्विर र भिडियो

    काठमाडौं । नेपाल प्रहरीले जेनजी पुस्ताले गरेको आन्दोलनको तस्विर, भिडियो तथा विभिन्न सामाजिक सञ्जालका लिङ्कहरू उपलब्ध गराउन माग गरेको छ ।

    शुक्रबार एक सूचना जारी गर्दै भदौ २३ र २४ गते काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानहरूमा भएको विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा घटेका विभिन्न अप्रिय घटना, आगजनी, लुटपाट, आम सर्वसाधारणमा त्रास श्रृजना हुने किसिमका अन्य विविध घटनाहरूसँग सम्बन्धित तस्विर, भिडियो तथा विभिन्न सामाजिक सञ्जालका लिङ्कहरू उपलब्ध गराउन माग गरेको हो ।

    गोपनियता कायम राखिने उल्लेख गर्दै घटनाको अनुसन्धानका लागि सहयोग पुर्याउने उद्देश्यले भिडियो तथा फोटोहरु उपलब्ध गराउन आग्रह गरेको हो ।

  • अस्पतालबाट जेनजीहरु भन्छन्– हाम्रो सहभागिता बिना प्रक्रिया अघिबढे अर्को आन्दोलन

    अस्पतालबाट जेनजीहरु भन्छन्– हाम्रो सहभागिता बिना प्रक्रिया अघिबढे अर्को आन्दोलन

    काठमाडौं । गत सोमबारको आन्दोलनमा घाइते भएका जेनजीहरुले आफूहरुको सहभागिता बिना बार्ता गर्नुको कुनै औचित्य नभएको बताएका छन् ।

    नक्कली जेनजी बनेर बार्ताको लागि पार्टीको मान्छे पठाइएको बताउँदै उनीहरुले आफूहरुको अनुपस्थितिमा भएका कुनैपनि निर्णय मान्य नहुने बताएका हुन् ।

    आन्दोलनमा आठवटा गोली लागेर सिभिल अस्पतालमा उपचाररत रुपिन खड्काले असली योद्धाहरु सबैलाई अस्पतालमा नै रहेको बताउँदै आफूहरुको सहभागिताविना गरिएको वार्ता स्वीकार्य नहुने धारणा राखे ।

    उनले भने,‘हामी असली योद्धाहरु सबै अस्पतालमा छौं । त्यसैले वार्तामा लगेर हाम्रो माग के हो भन्ने कुरा राख्न पाउनुपर्यो । अगाडि बढेर गोली खान तयार हुनेहरु बिना वार्ता गरेर कुनै औचित्य छैन् । मर्न नडराएर गोली थापेर आएका हामी हौं । आन्दोलन केका लागि थियो त्यो हामीलाई मात्रै थाहा छ ।’

    उनले अन्य पार्टीका मानिसहरुले अहिले पार्टीभित्रकै युवा अघि सारेर प्रपञ्च मच्चाइरहेको बताउँदै उनले अहिले रियल जेनजीहरु एक हुन आवश्यक रहेको पनि सुनाए ।
    ‘अन्य पार्टीका मानिसहरुले अहिले पार्टीभित्रकै युवा अघि सारेर प्रपञ्च मच्चाइरहेका छन् । यसलाई रोकेर हामी जेनजीहरु एक हुन आवश्यक छ । नत्र भने त्यही देशका नेताहरुले देश सखाप पार्ने अवस्था आउने छन् । त्यसको लागि पनि हामी एकदमै सर्तक हुुनुपर्ने आवश्यकता छ,’उनले भने

    त्यस्तै अर्का घाइते नारायण श्रेष्ठले संसद विघटन जसरी पनि हुनुपर्ने माग गरे । संसद विघटन नभएदेखि आफूहरुले अस्पतालबाट निस्केर फेरी आन्दोलन सुरु गर्ने चेतावनी दिए ।

    ‘मलाई पनि रवरको गोली लागेको थियो । हाम्रो खास माग भनेको संविधानसहित सबै परिवर्तन हुनुपर्छ भन्ने हो । त्यसकै लागि छातीमा गोली खाइ खाइ लडेका थियौ । अहिले न्यूज हेर्दा जेनजी भनौदाहरुले संविधान ठिक छ, हामीले गल्ती बोल्यौ भन्दैछन् ।

    उनीहरुलाई जेनजी मान्दैनौ । विद्रोह गर्न तयार छाैँ । यो संसद विघटन हुनुपर्छ । यो तपाईहरुले गलत निर्णय गर्नुभएको छ । आन्दोलन अझै रोकिदैन । अस्पतालबाट निस्केपछि अझै आन्दोलन हुन्छ र संसद विघटन हुनैपर्छ ।

    उनले भने,‘उहाँ(सुशीला कार्की) नै आएपनि त्यसमा विमति छैन । तर संसद विघटन भएर प्रत्यक्ष रुपमा जनताबाट प्रधानमन्त्रीलाई भोट हाल्नुपर्छ । यो हाम्रो ठुलो माग हो । त्यसकै लागि लडेका हौं । यही संविधानलाई मान्नलाई होइन् । शान्तीपूर्ण आन्दोलन भइरहेको थियो, धेरै युवाहरु जुटेका थियौं । पहिलो दिनको आन्दोलनमा सबै जेनजीहरु नै थियौ । तर पुलिसको दमन सुरु भएपछि हिंसा भड्किएको थियो । मान्छे नै मारिएपछि अवस्था विग्रिएको हो ।’

    त्यस्तै उनले मंगलबारको आन्दोलनमा सबै जेनजीहरुमात्र सहभागी भएर अन्य पार्टीको संलग्न नभएको बताए । सिंहदरवार जलाउने जेनजीको कुनै उद्देश्य नरहेको उनी बताउँछन् ।

    ‘भोलिपटकको आन्दोलनमा जेनजी मात्र थिएनन् । सिंहदरवार जलाइयो, त्यो जलाउने हाम्रो उद्देश्य थिएन । सिंहदरवार जलाउन आन्दोलन गरेको होइनौं । रवि लामिछने निकाल्न हामीले आन्दोलन गरेका हैनौ । यो हेक्का रहोस् ।’

    उनले आफूहरुलेसँग जेनजीहरुले अहिलेसम्म केही सुझाव नलिएको बताउँदै कुनै पार्टीमा नलागेको निष्पक्ष युवा नेतृत्वमा ल्याउन सुझाव दिए ।

  • रविसहितका कैदीहरूलाई नख्खु कारागारले भन्यो– तत्काल आत्मसमर्पण गर

    रविसहितका कैदीहरूलाई नख्खु कारागारले भन्यो– तत्काल आत्मसमर्पण गर

    काठमाडौं । नख्खु कारागार प्रशासनले फरार भएका रवि लामिछानेसहितका सबै कैदीलाई तत्काल सम्पर्कमा आउन भनेको छ । आज एक सार्वजनिक अपिल जारी गर्दै कारागार प्रशासनले भदौ २४ गते फरार भएका सम्पूर्ण थुनुवा र बन्दीलाई अविलम्ब कारागार प्रशासनको सम्पर्कमा आउन भनेको हो ।

    प्रशासनले फरार अवस्थाको निरन्तरता रहँदा कानुनले तोकेको सजाय थप कडाइका साथ कार्यान्वयन हुने समेत चेतावनी दिएको छ । साथै, त्यस अवस्थामा भविष्यमा प्राप्त हुन सक्ने सुविधा, कानुनी अधिकार तथा सामाजिक पुनर्स्थापनाको पक्रियामा समेत गम्भीर प्रतिकुल असर पर्न सक्ने चेतावनी कारागार प्रशासनको छ ।

    कारागार प्रशासनले तत्काल सम्पर्कमा नआउने तथा आत्मसमर्पण नगर्ने बन्दीलाई कारागार ऐन २०७९ र अन्य प्रचलित कानुन बमोजिम कारबाही हुने समेत स्मरण गराएको छ ।

    गत भदौ २४ गते जेनजी प्रदर्शनका दौरान नख्खुसहित देशभरका कारागारबाट हजारौँ कैदीबन्दीहरु फरार भएका छन् । नख्खु जेलबाट रास्वपा सभापति रवि लामिछानेसहित १४ सय कैदी बन्दी बाहिरिएका थिए । नख्खु कारागार प्रशासनको यस सूचनासँगै अब उनी पनि पुन कारागार फर्किनुपर्ने भएको छ ।

    फरार पूर्व राज्यमन्त्री सञ्जय टकलासहित केहीलाई प्रहरीले काभ्रेको मंगलटारबाट पक्राउ गरेको छ ।

  • प्रधानमन्त्री बन्न तयार छु, तर संसद विघटन अनिवार्य छ : महावीर पुन (कुराकानीसहित)

    प्रधानमन्त्री बन्न तयार छु, तर संसद विघटन अनिवार्य छ : महावीर पुन (कुराकानीसहित)

    काठमाडाैं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा सामाजिक अभियन्ता महावीर पुनले आफू देशको प्रधानमन्त्री बन्न तयार रहेको तर मन्त्री पद भने स्वीकार नगर्ने स्पष्ट पारेका छन्। उनले हालको राजनीतिक संकट समाधानका लागि संसद विघटन अनिवार्य रहेको ठोकुवा समेत गरेका छन्।

    सामाजिक सञ्जाल तथा सार्वजनिक वृत्तमा प्रधानमन्त्रीका लागि आफ्नो नाम सिफारिस भइरहेको सन्दर्भमा हुलाक सञ्चारसँगको कुराकानीमा पुनले भने, ‘प्रधानमन्त्री बनाइदियो भने बन्ने हो के। अरु त बन्दैन, मन्त्री-सन्त्री केही बन्दैन।’ उनले प्रधानमन्त्री भए मात्रै देशका लागि बृहत् काम गर्न सकिने र सबैलाई मिलाएर लैजान सकिने तर मन्त्रीको भूमिका सीमित हुने भएकाले आफू उक्त पदमा नजाने प्रष्ट पारे।

    पुनले हाल देशमा देखिएको युवा आन्दोलन र राजनीतिक संकटको सम्पूर्ण दोष पुराना नेताहरूलाई दिएका छन्। उनले नेताहरूको भ्रष्टाचार, लोभ र पद नछोड्ने प्रवृत्तिका कारण देशमा विकृति मौलाएको बताए। ‘नेताहरू साह्रै भ्रष्टाचारी र लोभी पापी नभएको भए यो आन्दोलन सुरु हुनै थिएन,’ उनले भने, ‘नेताहरूले चाकडी प्रथालाई बढावा दिएकाले भ्रष्टाचार बढ्यो र त्यसैको परिणामस्वरूप आन्दोलन जन्मियो।’

    संकटको निकासका लागि सबै पक्ष मिलेर छलफल गर्नुपर्नेमा उनको जोड छ। ‘सबै मिलेर निकास खोज्नुपर्छ। एउटा राष्ट्रिय सरकार गठन गर्नुपर्‍यो,’ उनले भने। उनले आन्दोलनकारीहरूलाई समेत सामेल गराएर निष्कर्षमा पुग्नुपर्ने बताए।

    वर्तमान राजनीतिक विवादको जडका रूपमा रहेको संसदबारे पुनको धारणा स्पष्ट छ। ‘संसद विघटन गर्नैपर्छ,’ उनले भने । उनका अनुसार, पुरानो संविधान र संरचनाको आधारमा नयाँ समाधान खोज्न सकिँदैन। उनले विश्व इतिहासमा कुनै पनि क्रान्ति वा आन्दोलन विद्यमान कानुन र संरचनाको दायरामा रहेर सफल नभएको तर्क गरे।

    कुराकानीका क्रममा पुनले आफू किताब बेच्नका लागि ताप्लेजुङ जाँदै गरेको जानकारी पनि दिए।

  • संविधानभित्रबाटै निकास खोज्न सभामुख र राष्ट्रिय सभा अध्यक्षको आग्रह

    संविधानभित्रबाटै निकास खोज्न सभामुख र राष्ट्रिय सभा अध्यक्षको आग्रह

    सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले संविधानभित्रबाटै निकास दिन आग्रह गरेका छन् ।

    शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै दुवैले देशमा विद्यमान विषम परिस्थितिमा जनतामा निहित सार्वभौमसत्ता‚ नागरिक स्वतन्त्रता‚ भौगोलिक अखण्डता‚ राष्ट्रिय एकता र स्वाधीनतालाई शिरोपर गर्दै संवैधानिक प्रक्रियाबाटै निकास दिन राष्ट्रपति रामचन्द्र पौडेलले पहल गरिरहेको भन्दै विधिको शासन र संविधानवादबाट बाहिर जानुहुँदैन भन्नेमा आफूहरू दृढ रहेको उल्लेख गरेका हुन्।

    ‘विधिको शासन र संविधानवादबाट बाहिर जानु हुँदैन भन्नेमा हामी दृढ छौँ,’ उनीहरूले भनेका छन्।

    दुवै जनाले आन्दोलनरत पक्षका मागहरू सम्बोधन गर्दै अझ उन्नत, समृद्ध र बलियो लोकतन्त्रका लागि प्रतिबद्ध हुन सबैलाई अपिल समेत गरेका छन्।

  • जेनजी आन्दोलनमा देशभरका होटलहरुमा २५ अर्बको क्षति

    जेनजी आन्दोलनमा देशभरका होटलहरुमा २५ अर्बको क्षति

    गत सोमबार र मंगलबारको जेनजी आन्दोलनका क्रममा देशभरका होटलहरुमा करिब २५ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको छ । होटल एसोसिएसन अफ नेपाल (हान) को प्रारम्भिक तथ्यांकअनुसार देशभरका कम्तीमा २५ वटा होटल, रिपोर्ट, लज र रेस्टुरेन्टमा सो मूल्य बराबरको क्षति पुगेको हो ।

    हानका अनुसार सबैभन्दा धेरै काठमाडौँ र पोखराका होटल व्यवसायमा क्षति पुगेको छ। त्यसपछि भैरहवा, बुटवल, धनगढी, झापा, दाङ, बर्दिबासलगायतका क्षेत्रका होटल व्यवसायहरूमा क्षति पुगेका छन् ।

    यसरी क्षति पुगेका होटलहरुमध्ये करिब ६० प्रतिशतले मात्र बीमाबाट आंशिक क्षतिपूर्ति पाउने सम्भावना रहेको छ। अन्यको हकमा भने क्षतिपूर्ति पाउने सम्भावना समेत नरहने अवस्था रहेको हानको भनाई छ ।

    होटल व्यवसायमा भएको क्षतिबाट करिब २ हजार बढी कामदारहरूको रोजगारी गुमेको हानले जनाएको छ ।

  • ३६ पुग्यो जेन-जीको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या

    ३६ पुग्यो जेन-जीको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या

    काठमाडौं । जेन-जीको दुई दिने प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार बिहानसम्म सुरक्षाकर्मी र प्रदर्शनकारी गरी ३६ जनाको मृत्यु पुष्टि भएको छ । सबैभन्दा धेरै ट्रमा सेन्टरमा ८ जनाको मृत्यु भएको छ । यस्तै, सिभिल अस्पतालमा ६ जना, एभरेष्ट अस्पताल र फ्रन्टलाइन अस्पतालमा ३–३ जनाको मृत्यु भएको छ ।

    काठमाडौं मेडिकल कलेज सिनांमगल र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ २ जनाको मृत्यु भएको छ भने त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको छ । त्यस्तै उपत्यका बाहीर भेरी अस्पताल नेपालगञ्जमा ५, रामेछाप अस्पतालमा २, बिर्तासिटी र बी एण्ड सी अस्पतालमा झापामा १ १ जनाको मृत्यु भएको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

    प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारी गरी १ हजार ७ सय ६० जना घाइते भएका थिए । जसमध्ये १ हजार ३ सय ३० जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने ३ सय २१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

    मन्त्रालयका अनुसार ७२ जनालाई अस्पतालहरुले अन्यत्र रेफर गरेका छन् । सिभिल अस्पतालमा २१ जनाको शल्यक्रिया गरिएको छ भने राष्ट्रिय ट्रमा सेन्टरमा ११ जना, ग्राण्डी अस्पतालमा ९ जना, काठमाडौं मोडेल अस्पतालमा १ जना, किर्तिपुर बर्न अस्पतालमा ३ जना र नारयणी अस्पतालमा ३ जना गरी जम्मा ५० जना घाइतेको शल्यक्रिया गरिएको छ ।

    शल्यक्रिया गरिएका मध्ये ५ जनाको गम्भिर अवस्थामा ट्रमा सेण्टरको आइसियुमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।