Author: Hulak News

  • त्रिविको नियमित पठनपाठन आगामी कात्तिक १० गतेसम्म बन्द

    त्रिविको नियमित पठनपाठन आगामी कात्तिक १० गतेसम्म बन्द

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी कात्तिक १० गते सम्म पठनपाठन बन्द हुने जनाएको छ ।

    बुधबार त्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालय तथा जनसमम्पर्क महाशाखाले सूचना जारी गर्दै आगामी कात्तिक ११ गतेदेखि मात्रै नियमित पठनपाठन सञ्चालन हुने जानकारी गराएको हो ।

    मुलुकमा विद्यमान असामान्य परिस्थितिको कारण यस्तो निर्णय गरिएको त्रिविले जनाएको छ ।

    सूचनामा आगामी हिउँदे बिदाबाट कटौती गर्ने गरि यही भदौ २९, ३० र ३१, आगामी असोज १, २ र ५ का साथै आगामी कात्तिक ९ गतेसम्म हुने भनिएको त्रिविको सम्पूर्ण पठनपाठन बन्द गर्ने निणय गरिएको उल्लेख गरिएको छ ।

  • जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ३० पुग्यो, १०३३ घाइते अस्पतालमा

    जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ३० पुग्यो, १०३३ घाइते अस्पतालमा

    जेनजी प्रदर्शनका कारण हालसम्म मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ । स्वास्थ्य मन्त्रालयको गराएको पछिल्लो अपडेटका अनुसार हालसम्म देशभर गरी ३० जनाको मृत्यु भएको हो ।

    आन्दोलनका क्रममा घाइते भएर १ हजार ३३ जनाले अस्पतालमा उपचार गराइरहेका छन् । मन्त्रालयका अनुसार हालसम्म ७ सय १३ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    ५५ जनालाई अन्य अस्पतालमा रिफर गरिएको छ । यस क्रममा २५३ जना नयाँ भर्ना भएका छन् ।

    देशभरमध्ये सबैभन्दा धेरै घाइतेको उपचार सिभिल अस्पतालमा भइरहेको छ । सिभिल अस्पतालमा मात्रै ४३६ जनाको उपचार भइरहेको छ । यस्तै, नेसनल ट्रमा सेन्टरमा १६१, एभरेस्ट अस्पतालमा १०९ सहित देशभरका २८ अस्पतालमा घाइतेहरूको उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।

  • सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने प्रस्ताव

    सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने प्रस्ताव

    जेनजीहरुले सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका छन् । बुधबारको जेनजीहरुको भर्चुअल बैठकमा अधिकांश जेनजीहरुले कार्कीको नाम आगामी सरकार प्रमुखका रूपमा प्रस्ताव गरेका हुन् ।
    जेनजीको प्रतिनिधिहरूले आफूहरूको प्रस्ताव कार्कीले स्वीकार समेत गरेको उल्लेख गरेका छन् ।सम्भवत: उनीहरुदले प्रधानसेनापति अशोकराज सिग्देलसँग कार्कीको नाम प्रस्ताव गर्ने छन् ।
    भर्चुअल बैठकमा बालेनको नाम उठे पनि उनी सम्पर्कमा नआएको जेनजीको प्रतिनिधिहरूले बताएका थिए ।
    जेनजीको प्रतिनिधिहरू र प्रधानसेनापति सिग्देल बिच आजै वार्ता गर्ने तयारी छ ।
  • प्रधानसेनापतिले दुर्गा प्रसाई र रास्वपा पनि स्टेकहोल्डर हो भनेपछि…

    प्रधानसेनापतिले दुर्गा प्रसाई र रास्वपा पनि स्टेकहोल्डर हो भनेपछि…

    काठमाडौं । जेन–जी आन्दोलनको तर्फबाट वार्ताका लागि सैनिक मुख्यालय पुगेकी रक्षा बमले वार्ता बहिष्कार गरेको खुलाएकी छिन्।

    उनका अनुसार प्रधानसेनापतिले राष्ट्रपतिसँग भेट्न बोलाउँदै दुर्गा प्रसाईं र रास्वपा समूहलाई समेत वार्तामा सहभागी गराउनुपर्ने प्रस्ताव गरेपछि आफूले अस्वीकार गर्ने निर्णय लिएको बताइन्।

    सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले भनिन्–

    राष्ट्रपतिसँग भेट्न बोलाएर दुर्गा प्रसाई र रास्वपा समूहसँग वार्तामा बस्नुस्, उहाँहरूपनि स्टेकहोल्डर हो भनेर स्वयम् प्रधान सेनापतिले भनेसकेपछि, जेन जीआन्दोलनका क्रममा भएको बलिदान र युगान्तकारी परिवर्तनको यात्रा तुहिने भएकाले हामी त्यस प्रस्तावलाई अस्वीकार गर्दै नेपाली सेनाको मुख्यालयबाट बाहिरिएर प्रदशनकारी जेन जी समूहसँग छलफलका निम्ति तयारी गरिरहेका छौँ ।

     

  • मेरो सबै सकियो तर विचलित भएको छैन : महेश बस्नेत

    मेरो सबै सकियो तर विचलित भएको छैन : महेश बस्नेत

    काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले जेनजी आन्दोलनका कारण आफ्नो घर जलेर ध्वस्त भएको र परिवारसहित जोखिममा परेको जानकारी दिएका छन् ।

    बुधबार सामाजिक सन्जाल फेसबुकमा लेख्दै उनले मंगलबार भएको हिंसामा उनका ७७ वर्षीय बुबा, ७२ वर्षीय आमा र राजनीति चासो नराख्ने श्रीमतीमाथि जिउँदै आगो लगाउने प्रयास भएको बताएका छन् ।

    उनले आफ्नो घर ध्वस्त भएको र दुई करोड ५० लाख रुपैयाँ ऋण बोकेको सामाजिक सन्जाल मार्फत नै जानकारी दिएका हुन् । यसमा वाणिज्य बैंक बानेश्वर शाखाबाट एक करोड, शंखधर सहकारी ठिमीबाट ६५ लाख र साना किसान सहकारी गुण्डुबाट ८५ लाख रुपैयाँ रहेको बताए ।

    बस्नेतले आन्दोलनमा भएको घुसपैठ र जेलबाट रिहा भएका अपराधीप्रति आपत्ति जनाउँदै यसले हिंसा बढाएको दाबी गरेका छन् । उनले निर्दोष रहे पीडाको मुआब्जा र घर पुनर्निर्माणको माग गर्दै दोषी भए उचित सजाय भोग्न तयार रहेको पनि बताएका छन् ।

    उनले लेखेका छन्,‘छोराछोरी, परिवार र आफन्तहरूले मलाई एक शब्द पनि नबोल्न भने । भन्छन्,‘बोल्यौ भने भेटे भने हत्या गर्छन् । म जीवनमा कहिल्यै मृत्युको भयबाट डराइन । हिजो दिनभरि र रातभरि शरणार्थी जीवन बिताइयो । तर मौन बस्न सकिनँ ।

    हाम्रो घर मात्र जलाइएको भए नलेखौ भन्ने म नै थिए । तर संसद भवन जल्यो, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, सर्वोच्च अदालत, अख्तियार भवन, प्रहरी प्रशासनका भवनहरू, निजी होटलहरू जले, भाटभटेनी, बैंकहरू लुटिए । पशुपतिनाथको मन्दिर नै जलाउने प्रयत्न भएको छ । तर त्योभन्दा भयावह त के भयो भने रवि लामिछानेसहित हजारौं गम्भीर अपराधमा संलग्न कैदीहरु जेल जीवनबाट मुक्त गरिएको छ ।

    ७७ वर्षका मेरा निर्दोष बुबा, ओपन हर्ट सर्जरी गराएकी ७२ वर्षकी आमा, राजनीति चासो नै नराख्ने मेरी श्रीमतीलाई आफ्नै घरमा आगो लगाउँदै त्यही भुंग्रोमा जिउँदै जलाउने प्रयास गरियो । हामी धेरथोर पुर्खौली सम्पत्तिका कारण सुकुम्बासी त भएका छैनौ, तर आज घरबारविहीन भएका छौँ । आमाबुबाले खुवाउने औषधि र एक जोर फेर्ने कपडा पनि झिक्न नदिई । घरभित्रका सम्पूर्ण सामग्री जलाएर ध्वस्त पारिएको छ ।

    म कठोर समयको सजाय भोग्दैछु । देशलाई जीवन समर्पण गरेको अपराधका लागि । भक्तपुरको विकासका लागि अकल्पनीय योगदान गरेको अपराधका लागि दिनरात घरघर पुगेको, जनताको सुखदुःख आफ्नै मानेर समाधान गर्न खोजेको मान्छे म आज घरबारविहीन बनेको छु ।

    भूकम्पको बेला २८०० घरबारविहीनलाई राहत र पुनर्स्थापनाको अभियान चलाउँदा अस्थायी घर बनाएर वितरण गर्दा उनीहरूको भक्कानेको पीडा सुन्दै आँसु पुछेको थिएँ । आज आफ्नै आँसु देखाउन सक्दिन । जिम्मेवारीले रुनपनि अनुमति दिँदैन ।

    नाकाबन्दीको पीडामा कोभिडको लकडाउनमा हजारौं भोकाहरुलाई भोकाहरुलाई खाना खुवाएर उनीहरुको घर सम्मको जाने व्यवस्था गरेर उनीहरुको पीडामा मलम लगाएको थिए। तर म आज आफू पीडामा छु भन्न पनि नमिल्ने ठाँउमा छु । परिस्थितिको यो कस्तो बाध्यता हो ?

    मैले सांसद या मन्त्रीको कुनै जिम्मेवारी पाउनुभन्दा अगाडि १४ वर्ष पहिले बुवाले जागिरे हुँदा कमाएको सम्पुर्ण पसिनाको पैसा र केही जग्गा बेचेर बनेको त्यो घर आज धुलोमा परिणत भयो। उपत्यकाका मान्छेहरू हामी कोठाभाडामा खासै बस्दैनौँ । तर अब लामो समय हामी घरबारविहीन भएर भाडामा बस्दैछौँ ।

    अब जमिन नबेची नयाँ घर बनाउन सम्भव छैन । राजनैतिक यात्रा, छोरीको विवाह, अन्य घर व्यवहारमा भएको खर्च जोड्दा मैले २ करोड ५० लाख रुपैयाँ ऋण (बाणिज्य बैंक बानेश्वर शाखाबाट १ करोड, शंखधर सहकारी ठिमीबाट ६५ लाख, साना किसान सहकारी गुण्डुबाट ८५ लाख) बोकेको छु । तर यो सहयोगको याचना होइन ।

    भ्रष्टाचार, अपराध, राष्ट्रघात नगरी, केवल जनताको पक्षमा काम गरे तर पपुलिष्टहरूले सुन्न नचाहेको कुरा बोलेको सजाय स्वरूप मेरो घर जलाईएको र घरबार विहीन बनाइएको पिडा हो ।

    म निरह्य भएको प्रहरी प्रशासनप्रति र मनमा असंख्य माया भएर पनि सम्झाउन र फर्काउन नसकेको मेरो टोलछिमेकप्रति मेरो माया र सद्भाव अटल छ । म विचलित छैन ।

    राजनीति रहने कि नरहने त्यो अर्को पाटो हो । तर म सधैं जनताको सेवा गर्न जन्मेको मान्छे हुँ। आज घरबार गुमाए पनि, दुःख पीडा छिपाएर पनि तपाईंहरूको सेवामा उभिनेछु । जसरी चुनाव जित्दा वा हार्दा पनि म तपाईंहरूको सेवामा थिएँ, आज पनि त्यही प्रतिबद्धता दोहोर्‍याउँछु ।

    यो आन्दोलनमा मृत्यु भएका र घाइते भएका परिवारलाई त्यो अवसर प्राप्त भयो भने सकेसम्म सहयोग गर्ने प्रतिज्ञा गर्दछु ।

    मैले पहिले पनि भनेको थिएँ गलत मानिसहरूले घुसपैठ गरे भने न्भल श् को नाममा हिंसा हुन्छ। त्यो आज प्रमाणित भयो । धेरै अपराधी जेलबाट बाहिर आएका छन्। सेना सडकमा आउन बाध्य भएको छ ।

    अझै पनि अपराधीहरू लुटपाट गरिरहेका छन् । देशलाई माओवादी युद्ध, मधेस आन्दोलन, नाकाबन्दी, भूकम्प, कोभिडले थिलोथिलो पारे पनि हामी फेरि आर्थिक सुधार र विकासतर्फ अघि बढ्दै थियौँ ।

    तर आजको यो घटनाले फेरि देशलाई १०–१२ वर्ष पछाडि धकेलेको छ।अब जिम्मेवारी तपाईं आन्दोलनकारीहरूको हातमा छ।देशलाई बर्बादीतिर लैजानुहोस् वा बचाउनुहोस। निर्णय तपाईंको हो ।

    हामीमाथि शंका छ भने अनुसन्धान गर्नुहोस्। दोषी ठहरिए सजाय भोग्ने छौ । तर निर्दोष ठहरिए भने हाम्रो घर जलेर, जीवनभरको कमाइ खरानी भएर, परिवार असहाय भएर भोगेको यो पीडाको उपचार कसरी हुन्छ?

    मेरो घरको लकर फेला परेको भनेर हल्ला फैलाइयो। म आग्रह गर्दछु आन्दोलनका कमाण्डरहरूले पत्रकारहरूको सामु त्यो लकर खोलून् । यदि त्यहाँ एक हजार रुपैयाँ भेटिन्छ भने मलाई दोषी ठहराउनुस् ।

    आज हाम्रो परिवारसँग एक जोर कपडा र हजार रुपैयाँ रकम पनि साथमा छैन।तर मेरो विश्वास अझै बाँकी छ ।

    विभेद रहित भ्रष्टाचारमुक्त समाज, राज्य पुनःसंरचना गर्ने, नयाँ नेतृत्व ल्याउने जनताको पवित्र उद्देश्यलाई अपराधी र अन्तर्राष्ट्रिय स्वार्थी समूहले कब्जा गर्न नदिऊ।देशका लागि मेरो हार्दिक शुभकामना ।

    मेरो घर खरानी भयो, तर जनताप्रतिको मेरो माया कहिल्यै खरानी हुने छैन। देशको विकास र जनताको सेवामा सधैँ खरानी भएर खट्न तयार छु’ ।

  • खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

    खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले विमानस्थल सुचारु गर्ने निर्णय गरेको हो ।

    हवाई उडानका लागि विमानस्थल आवागमन गर्नुहुने यात्रु महानुभावहरूले आ–आफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी उडान समयको जानकारी लिई मात्र विमानस्थल आउजाउ गर्न हुन साथै यसरी आवतजावत गर्दाै आधिकारिक हवाई टिकट र परिचय खुल्ने कागजात साथमा लिई आउनुहुन समेत अनुरोध छ– विमानस्थलको सार्वजनिक सूचनामा भनिएको छ ।

  • कारागारबाट भागे टोपबहादुर रायमाझी पनि

    कारागारबाट भागे टोपबहादुर रायमाझी पनि

    काठमाडाैं । पूर्वउप-प्रधान तथा पूर्वऊर्जा मन्त्री टोपबहादुर रायमाझी पनि कारागारबाट भागेका छन्।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका रायमाझी सुन्धारा कारागारको भद्र बन्दीगृहमा थिए। रायमाझी बुधबार त्यहाँबाट भागेका हुन्।

    कारागारबाट भागेका रायमाझी सम्पर्कमा छैनन्।

    डिल्लीबजार कारागारमा रहेका कैदीबन्दीहरू पनि भाग्न खोजेका थिए। तर सेनाले उनीहरूलाई केन्द्रीय कारागार स्थानान्तरण गरिरहेको छ।

  • आक्राेश पोख्दै सर्वाेच्चका अधिवक्ता भन्छन्– पुस्ताकै न्याय मर्‍यो, आस्थाको शीर ढल्यो

    आक्राेश पोख्दै सर्वाेच्चका अधिवक्ता भन्छन्– पुस्ताकै न्याय मर्‍यो, आस्थाको शीर ढल्यो

    काठमाडौं । सर्वोच्च अदालतको भवनमा मंगलबार भएको आगजनीपछि त्यहाँ रहेका महत्वपूर्ण कानुनी फाइलहरू न्याय परिषद्को भवनमा सारिने प्रक्रिया सुरु गरिएको छ ।

    जेनजी पुस्ताहरुको आन्दोलनले सर्वोच्च अदालतमा आगो लगाइएको घटनाले न्याय क्षेत्रलाई ठूलो क्षति पुर्‍याएको छ । सर्वोच्च अदालतका अधिवक्ता भरत कुमार घिमिरेले गहिरो पीडा व्यक्त गरे ।

    उनले भने, ‘न्याय मर्यो, पुस्ताकै न्याय मर्यो, शताब्दिकै न्याय मर्यो । आस्थाको धरोहर ढल्यो, आस्थाको शीर ढल्यो । सर्वोच्च अदालत अन्तिम न्याय दिने संस्था हो । अब त्यो भग्नावशेष अवस्थामा पुगेको छ । हाम्रो पुस्तालाई अध्यारोतर्फ धकेलिएको छ ।’

    सर्वोच्च अदालतकी अर्की अधिवक्ता मञ्जु दासीले पनि न्यायालयमा भएको विध्वंसप्रति आक्रोश व्यक्त गरिन् ।

    उनले भनिन्, ‘हामी भ्रष्टाचारबाट आक्रान्त थियौं । त्यसबाट मुक्ति चाहन्थ्यौं । तर यो मुक्ति होइन, यो त न्यायको हत्या हो । हाम्रो धरोहर र सम्पदामाथिको यो प्रहार स्वीकार्य छैन ।’

    मंगलबार जेनजी पुस्ताहरुको आन्दोलनले सर्वोच्च अदालतको पूरै भवन जलाएका थिए । तर जेनजी भनिएका आन्दोलनकारीहरुले प्रदर्शनमा घुसपैठ भएको र आगजनी भएको बताउँदै आएका छन् ।

  • गंगा दाहालको घरमा जलेको अवस्थामा एक शव फेला

    गंगा दाहालको घरमा जलेको अवस्थामा एक शव फेला

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालको घरमा एक जना व्यक्तिको शव फेला परेको छ ।

    प्रदर्शनकारीहरूले मंगलबार ललितपुर महानगरपालिका–२६ स्थित सुनाकोठीमा रहेको दाहालको घरमा आगजनी गरेको थियो ।

    जलेको अवस्थामा एक जना पुरुषको शव फेला परेको र उनको पहिचान हुन बाँकी रहेको प्रहरी स्रोतले जनाएको छ ।

  • देशका विभिन्न ठाउँका विद्युत् संरचनामा क्षति: प्राधिकरण

    देशका विभिन्न ठाउँका विद्युत् संरचनामा क्षति: प्राधिकरण

    नेपाल विद्युत् प्राधिकरणले देशका विभिन्न स्थानमा केही विद्युत् संरचनाहरूमा क्षति पुगेकाले केही फिडरहरू सटडाउनको अवस्थामा राखिएको जनाएको छ। बुधबार एक सूचना जारी गर्दै प्राधिकरणले वर्तमान कठिन अवस्थाको कारण क्षतिग्रस्त संरचनाको आवश्यक मर्मत कार्य गर्न कठिनाइ भइरहेको समेत बताएको हो ।
    प्राधिकरणका कर्मचारीहरू विद्युत् संरचनाको मर्मत कार्यमा खटिइरहेको भन्दै कर्मचारी र अत्यावश्यक सवारी साधनहरूको आवागमनमा सहजीकरण गरिदिन समेत प्राधिकरणले अनुरोध गरेको छ ।
    “यस्तो अवस्थामा विद्युत् संरचनाको मर्मत कार्यमा खटिने अत्यावश्यक सवारी साधनहरूको आवागमनमा तथा कार्यालय सञ्चालनमा सहजीकरण गर्न सहयोग पुऱ्याई विद्युत् सेवा छिटो सुचारु गर्न आवश्यक सहयोगको लागि सम्बद्ध सबै पक्षसँग हार्दिक अनुरोध गर्दछौँ,” सूचनामा भनिएको छ ।
    यदि विद्युत् आपूर्ति अनियमित भएमा २४सै घण्टा सञ्चालनमा रहने नेपाल विद्युत् प्राधिकरणको हटलाइन १९५० मा वा नजिकको नोलाइट सेवामा जानकारी गराउन प्राधिकरणले आग्रह गरेको छ ।