• २०८३ असार २६
  • 2026 July 10, Friday

देशका विभिन्न ठाउँका विद्युत् संरचनामा क्षति: प्राधिकरण

नेपाल विद्युत् प्राधिकरणले देशका विभिन्न स्थानमा केही विद्युत् संरचनाहरूमा क्षति पुगेकाले केही फिडरहरू सटडाउनको अवस्थामा राखिएको जनाएको छ। बुधबार एक सूचना जारी गर्दै प्राधिकरणले वर्तमान कठिन अवस्थाको कारण क्षतिग्रस्त संरचनाको आवश्यक मर्मत कार्य गर्न कठिनाइ भइरहेको समेत बताएको हो ।
प्राधिकरणका कर्मचारीहरू विद्युत् संरचनाको मर्मत कार्यमा खटिइरहेको भन्दै कर्मचारी र अत्यावश्यक सवारी साधनहरूको आवागमनमा सहजीकरण गरिदिन समेत प्राधिकरणले अनुरोध गरेको छ ।
“यस्तो अवस्थामा विद्युत् संरचनाको मर्मत कार्यमा खटिने अत्यावश्यक सवारी साधनहरूको आवागमनमा तथा कार्यालय सञ्चालनमा सहजीकरण गर्न सहयोग पुऱ्याई विद्युत् सेवा छिटो सुचारु गर्न आवश्यक सहयोगको लागि सम्बद्ध सबै पक्षसँग हार्दिक अनुरोध गर्दछौँ,” सूचनामा भनिएको छ ।
यदि विद्युत् आपूर्ति अनियमित भएमा २४सै घण्टा सञ्चालनमा रहने नेपाल विद्युत् प्राधिकरणको हटलाइन १९५० मा वा नजिकको नोलाइट सेवामा जानकारी गराउन प्राधिकरणले आग्रह गरेको छ ।