Category: फिचर स्टोरी

फिचर स्टोरी

  • पशुपति क्षेत्रमा जनै फेर्ने र डोरो बाँध्नेहरुको चहलपहल (फोटो फिचर)

    पशुपति क्षेत्रमा जनै फेर्ने र डोरो बाँध्नेहरुको चहलपहल (फोटो फिचर)

    काठमाडौं । आज श्रावण शुक्लपूर्णिमा अर्थात् रक्षाबन्धन तथा जनैपूर्णिमा पर्व देशभर मनाइँदैछ । जनैपूर्णिमाको दिन वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट नाडीमा रक्षासूत्र (डोरो) बाँध्ने परम्परा छ ।

    आज बिहान पशुपति क्षेत्रमा गएर स्नान गर्ने, पुरानो जनै हटाएर नयाँ जनै लगाउने तथा नाडीमा डोरो बाँध्ने र बाँधिदिनेहरुको चहलपहल छ ।गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको डोरो र जनै लगाउँदा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।

    सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित वन, बिचलित नहोउ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ ।

    यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा छ ।

  • सन्दीपलाई भिसा नदिएको भन्दै समर्थकहरु आन्दोलित (फोटो फिचार)

    सन्दीपलाई भिसा नदिएको भन्दै समर्थकहरु आन्दोलित (फोटो फिचार)

    काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान तथा स्पिनर सन्दीप लामिछानेलाई टी–ट्वान्टी विश्व कप खेल्न जान काठमाडौंस्थित अमेरिकी दुतावासले भिसा नदिएको भन्दै उनका समर्थकहरुले विरोध प्रदर्शन गरेका छन् ।

    बुधबार काठमाडौंको माइतीघर मण्डलामा भेला भएर सन्दीपका समर्थकहरुले दुतावासलाई दबाब दिन विरोध प्रदर्शन गरेका हुन् ।लामिछानेलाई भिसा नदिए नेपालस्थित अमेरिकी राजदूतावासमा धर्ना बस्ने समेत उनीहरुको चेतावनी थियो ।

    उनीहरुले लामिछानेलाई टी–२० विश्वकपकपबाट बञ्चित गराउने सडयन्त्र भइरहेको उल्लेख गर्दै उनलाई अमेरिका पठाउन सरकारीस्तरबाट पहल हुनुपर्ने बताए ।सन्दीप लामिछाने भिसाका कारण अमेरिका उड्न नसकेपनि नेपाल क्रिकेट संघ क्यानका पदाधिकारी परिवारसहित आज अमेरिकातर्फ प्रस्थान गरेका छन् ।

  • सरकारले चियाको महत्व कहिल्यै बुझ्न सकेन : उदय चापागाइँ

    सरकारले चियाको महत्व कहिल्यै बुझ्न सकेन : उदय चापागाइँ

    म बच्चा हुँदादेखि नै इलाम घुम्न जान्थें । स्कुले शिक्षाको लागि अध्ययन गर्दाखेरि पनि म झापाको चियाबारीमा घुम्न जान्थें । आँखाको दृष्टिले भ्याएसम्म चियाबारी देखिन्थ्यो । पछि कलेज पढ्न थालेपछि आइएको परीक्षा केन्द्र चियाको जिल्ला भनेर चिनिने इलाममा नै पर्यो । परीक्षा केन्द्र भएको क्याम्पस चियाबारीको बिचमा थियो । त्यसबेला चियाको बोटहरुले ढपक्क छोपेको देख्दा चियाबारी छाडेर फर्कन मनै लाग्दैनथ्यो । वि.स. २०२८ सालतिर पहिलो पटक म इलामको चियाबारीमा पुगेको हुँ । चियाका बुट्टाहरु हेरेर म भविष्य सोच्ने गर्दथें । त्यहीबाट मोहित भएर चिया व्यवसायलाई आफ्नो कर्मको रुपमा अंगाले ।

    व्यावसायिक सिलसिलामा पछि म जर्मनी जाँदाखेरि त्यहाँ दार्जिलिङको चिया पाइने रहेछ । मेरो झापा भद्रपुर घर भएपनि बेला बेला म दार्जिलिङ पनि घुम्न गइरहन्थें । दार्जिलिङको चियाबारी पनि हेरेको थिए । फेरि म आफैं पनि चियाप्रेमी मान्छे हुँ । अनि जर्मनीमा मैंले त्यसबेला पिएको चिया आसामको रहेछ । खासमा भन्नुपर्दा ठाउँ ठाउँको चियाबारीबाट नै प्रभावित भएर म चिया व्यवसायमा लागेको हुँ ।

    झापामा चियाबारीमै लड्दै, खेल्दै हुर्किएको हुँ । तर व्यवसायका रुपमा चियाबारीमा प्रवेश गरेको चाँही आजभन्दा करिब ३० वर्ष अगाडि सन् १९९४ बाट हो । व्यवसायका रुपमा सुरु गर्दा ‘मुना चिया’ भन्ने थियो । त्यसको पसल काठमाडौंको न्यूरोडमा थियोे । त्यहाँ थरि थरिका मान्छेहर आउँथे । त्यहाँ मैंले मुना चिया र पहाडको चिया(अर्थोडक्स)को व्यवसाय गरें । व्यवसाय गर्दै जाँदा पछि मलाई चियाको विषयमा अध्ययन नै गर्ने मन लाग्यो ।

    पछि म दार्जिलिङको चियाबारे हेरे, घुमे, बुझे । त्यहाँको चिया बेलायतको महारानीले पिउनुहुन्छ भन्ने सुनेको थिए । त्यहाँ पुगेर त्यो चियाको स्वाद पनि लिए । पछि इलामतिर घुम्न जाँदा झापाको चिया र ती दुई ठाउँको चियामा खासै भिन्नता देखिन ।

    अध्ययन र उद्योग सँगसँगै
    विभिन्न समयमा जर्मनी जाने अवसर मिल्यो । ‘सिचुआन विश्वविद्यालयमा चियाबारे अध्ययन पनि गरे । अध्ययनपछि म हामी चिया उद्योगी र व्यवसायीका रुपमा उत्कृष्ट हुन सकिन्छ भन्ने निष्कर्षमा पुगें । चिया उद्यमीका रुपमा काम सुरु गरेपछि ट्रकमा चिया लोड गरेर आफैं कोलकत्ता जान्थें । त्यहाँबाट जहाजमा लोड गरेर जर्मनी पुर्याउँथे । त्यसमा हामी २० जना मन मिल्ने साथीहरु थियौं । इलामबाट कोलकत्ता र त्यहाँबाट जर्मनीमा हामीले बजार फैलायौं ।

    विश्व बजारमा गइसकेपछि गुणस्तरका सवालमा प्रशस्त प्रश्नहरु आए । जसका कारण आफैं केही नयाँ काम सुरु गर्ने लक्ष्य अनुरुप भारतको बैङ्लोरबाट प्राङारिक मल बनाउने मान्छे बोलाएर मल उत्पादनमा लागें ।मल उत्पादनका लागि पहिले मंैले किसानहरुलाई निशुल्क गाई वितरण गरे । चिया उित्पादन गर्नका लागि सुहाउँदो वातावरण तयार गर्दै गयौं । गाईको गोबर, गाईको पिसाब र अन्य विभिन्न घासपातहरुबाट मल बनाउने कामलाई निरन्तरता दियौं ।

    मैले भारतबाट बोलाएका मान्छेले नेपाली किसानका घर घरै गएर प्राङगरिक मल बनाउन सिकाइदिए । त्यही मलको प्रयोगबाट उत्पादित चिया गोर्खा टी स्टेटमार्फत विश्व बजारमा लगिरहेका छौं ।अहिले मैले उत्पादन गर्ने चिया पाँच वटा देशरुमा जान्छ । इलामको सुन्दरपानी भन्ने ठाउँमा मैले उत्पादन गर्ने चिया र त्यसको कारखाना छ । सुन्दरपानीकै ब्राण्डको नामले चिया सप्लाई हुन्छ । यसो गदागर्दै चिया बनाउनमा दक्षिण एसियामै एक नम्बरमा पर्न सफल भइसकेका छौं । चिया उत्पादन गर्नका लागि किसानलाई प्रोत्साहन गरिरहेका छौं । यद्यपी, हामी अझैपनि किसानमा निर्भर छौं तर दार्जिलिङका ठूला ठूला बगान नै छन् ।

    चियाबाट समृद्धि टाढा छैन
    हाम्रो समाजमा चियाले मानिसलाई हानी गर्छ भन्ने भाष्य मात्र निर्माण गरिएको छ । चिया हाम्रो लागि स्वास्थ्यवद्धक छ । श्रीलंकाले त कोरोना भाइरस संक्रमण फैलिरहेको बेलामा ‘चिया खाउ कोरोना भगाऔं’ अभियान नै चलायो । चिया यति फाइदाजन छ तर हामीले चियालाई प्राकृतिक रुपमै उत्पादन, भण्डारण र सप्लाई गर्न सकियो भने नेपालको समृद्धि धेरै टाढा छैन ।

    मैंले अर्थात मेरो काराखानले उत्पादन गर्ने चिया पुरै अर्गानिक हो । तीनवटा सहकारीहरु चियाखेतीमा आवद्ध गराएका छौं । सबै किसानहरु सहकारीमा आवद्ध हुनुपर्छ । सबै चिया हामी किन्छौं । तर राम्रो बजार र बजार मूल्य दिन्छौं भनेर पनि आए तर प्रतिस्पर्धा गर्न कठिन छ । हाम्रो कारखानको चियाको जाँच र परीक्षण नै जापान अमेरिका, बेलायत, जर्मनी लगायतका देशरुबाट हुन्छ । त्यसैले मेरो चिया पुर्णतः अर्गानिक छ । यसले मलाई व्यवसायीक रुपमा विभिन्न चुनौति पनि छन् ।

    चियाको बजारीकरणमा ठुला चुनौती मैले देखेको छु । चिया किन्दै आएका उद्योगी व्यवसायीहरुले किसानलाई अर्गानिक चिया उत्पादन गर्न सहयोग नगर्ने, उचित बजार मूल्य नदिने लगायतका समस्याहरु भोगिरहेका छन् । सहयोगी चिया उद्योगीहरु एकदमै कम मात्र हुनुहुन्छ । मेरै छिमेकमा पनि चियामा विषादीहरु प्रयोग गर्नुहुन्छ । चियामा केमिकल फेर्टिलाइज, युरियाहरु प्रयोग गर्नुहुन्छ । कुनैपनि रोग लाग्यो भने स्प्रे गर्नुहु्न्छ ।

    कन्यामको चियाबारी सरकारको हो । त्यहाँ घुम्दा आँखा पोल्छ, नाक पोल्छ । विषादीका कारण त्यो चियाबारी मुनि बस्ने मान्छेहरुले विषादी मिसिएको पानी पिउन बाध्य छन् । वातावरण नै धुमिल भइसकेको छ ।मैले श्रीलंकामा दुईहप्ता हेरे, घुमे । त्यहाँ किसानहरुलाई सरकारको साथ र सहयोग छ । प्राङ्गारिक मलदेखि लिएर आवश्यक परिपुर्तीसम्म पाउने व्यवस्था छ । यद्यपी, त्यो कष्टपूर्ण र महंगो पनि छ । नेपालमा पनि सरकारले सचेतना, सहयोग गरिदियो भने भएका उद्योगहरु प्राङ्गारिक हुनेछन् । चियाले मूल्य पाउनेछ ।

    मेरो छिमेकीहरुले चियाको मूल्य बजारमा नौ सय रुपैयाँ पनि पाउँदैन । मैले आँखा चिम्लेर १२ सय पाउँछु नि । फेरि अरुले मलाई तैले त १२ सय पाउँछस भन्छन् । त्यसमा लगाएको लगानी कति छ त्यो देख्दैनन् । म किसानलाई हरियो पत्तिको एक सय सात रुपैयाँ दिन्छु । म मार्केटबाट बोनस दिलाउँछु । मेरो प्राङ्गारिकमा जति पनि प्रमाणीकरण गर्न लाउने देशका नाम लिए मैले त्यो सबै म ब्यहोर्छु ।

    यसमा सरकारले केही गर्नुपर्दैन । बाहिर पठाउने चियामा गुणस्तर राम्रो दिएमात्रै पनि पुग्छ । मैले त त्यो गरिरहेको छु । मैले मात्र गरेर त हुँदैन । हामीले यस कुरामा प्रधानमन्त्री, अर्थमन्त्री, गृहमन्त्री लगायतलाई भेटेर कन्भिन्स गराएका छौं । तर हचुवाको भरमा विषादी प्रयोग गरिरहेका छन् । तर सुविधा बराबरी दिइन्छ । यसकारण पनि चिया उत्पादनमा किसानको आकर्षण घट्दो छ । हाम्रो चियाबारीमा काम गर्नेहरुले हाम्रो ब्राण्डलाई अर्कै नाम राखिसक्यो । उनीहरुले त अब कति चिया दिन सक्छस भनेर पनि सोध्न थालिसके ।

    सरकारले एउटा नीति तथा कायक्रम बनाइदिए राहत हुन्थ्यो । यही काम मैले श्रीलंकामा गर्न पाए । त्यहाँ सुरुमा म एकदम न्यून ब्याजमा पैसा पाउँछु । पछि मैले उत्पादन गरेर बेचेको चियामा मलाई राम्रो मूल्य दिन्छ । सुरुमा मलाई २०–२५ प्रतिशत दिन्छ ।भूपि शेरचनले भनेजस्तै–‘म देशैभरी इलामै इलाम छर्न चाहन्छु’ भनेजस्तै पुरै इलामलाई अर्गानिक गर्न सक्नुपर्छ । सक्यौं भने ७० लाख किलो चिया उत्पादन हुन्छ । यतिबेला लगभग १२ देखि १५ हजार किसान आवद्ध छन् उनीहरुले राम्रो मूल्य पाउन सक्छन । देशबाट अहिले वर्षेनी ४ अर्बको चिया बाहिर जान्छ भने यसमा सरकारले ठुलो लगानी र ठुलो नीति ल्याउनै पर्दैन ।

    चिया नीतिमा सरकार गम्भीर छैन
    नेपालमा पहिले चिया नीति थिएन । वि.स. २०५७ सालमा पहिलो पटक नेपालमा चिया नीति बनेको हो । त्यतिबेलाको टी बोर्ड(चिया तथा कफि विकास बोर्ड)को अध्यक्ष भुवन पाठक हुनुहुन्थ्यो । त्यो नीति निर्माणमा मेरो पनि भूमिका छ । त्यो नीति एकदम राम्रो बनाएका थियौं । श्रीलंक र भारतको पनि अध्ययन गरेर बनाएका थियौं । त्यो नीतिलाई पछि तत्कालिन कृषिमन्त्रीमार्फत मन्त्रिपरिषदबाट पास पनि भयो । पछि लागु हुने अवस्थामा पनि गयो । चिया नीतिको दफा ४ को उपदफा ४ मा के भनेका थियौं भने चियाखेतीमा आवद्ध किसान र सरकारको ५० प्रतिशत लगानीमा चल्ने गरि चिया बोर्ड गठन गरौं भन्ने थियो । पछि राजनीति दलहरुको हस्तक्षेप गरे ।

    जसका कारण न चिया खेती लागू भयो न चिया बोर्ड नै गठन गर्न सकियो । चिया नीति बनेको २३ वर्षसम्म पनि चिया नीति लागु हुन सकेको छैन । २३ वर्ष बितिसक्दा हाम्रो अनुभवले के भन्छ भने सरकारले चिया नीतिमा काम गरेन । टी बोर्डमा चिया बारे केही जानकारी नभएका मान्छेलाई नियुक्त गर्यो । कुनैबेला मसँग इलाम जाँदा चियाको बोट देखाएर अध्यक्षले नै सोध्नुभयो–‘चिया कहाँ फल्छ ?’

    विश्वभरका सबै देशका चियाहरु आफ्नै ब्राण्ड बनाएर विश्व बजारमा जान्छन् । तर हामी मकैबारी नाम लिएर चिया बेच्न जानु ? ब्राण्डनेम राख्नुपर्दैन ? भन्ने कुरामा म आफैंले अग्रसरता लिए । पहाडी चियाको म अध्यक्ष पनि थिए । मैले धेरै काम गरे । विदेश निर्यात गर्ने चियाको नाम ‘नेपाल टी’ भनेर पठाउने भनेर प्रस्ताव गरें । त्यो नाम पनि टी बोर्डका अध्यक्षले अस्वीकार गरिदिए । किनभने उनी चियाबारे अनभिज्ञ थिए । पटक पटक यस्तो भयो । चियाबारे जानकारी नभएकाहरुका कारण समस्या अहिलेपनि जारी छ ।

    एकताका मलाई एनओसी(नो अब्जेक्सन लेटर) दिइएन । पछि हामीले नेपाल टी क्वालिटी फरम दि हिमालय भन्ने ब्राण्ड बनायौं । त्यही ब्राण्डलाई टेकेर व्यवसाय गर्यौं । तर त्यो नीति आजसम्म पनि लागु हुन सकिरहेको छैन । अहिले जति पनि दलहरु सरकारमा जान्छन् जो कृषिमन्त्री हुन्छन् । उनीहरुले अगाडिको ढोकाबाट हुन्छ कि पछाडिको ढोकाबाट हुन्छ, त्यही बाटोबाट टी बोर्डमा पदाधिकारी नियुक्त गर्नुहुन्छ । हामी सहि बाटो हिड्न सकेनौं । चिया व्यवसायीसँग सम्बन्धित छ वटा संगठनका साथीहरु मिलेर यसो गर्न पाइदैन भनेर कृषिमन्त्रीलाई भनेका छौं । अनि हामीले अब पनि चिया नीति अनुसार काम गर्नुभयो भने टि बोर्डलाई नै बहिस्कार गर्छौं भनिसकेका छौं । हामीले सहि बाटोमा लाने प्रयास गर्दैछौं ।

    विश्व बजारमा फड्को
    नीजि क्षेत्रका कारण विश्व बजारमा नेपाली चियाले ठूलो फड्को मारिसक्यो । विश्वका विभिन्न देशरुले सहभागी हुनेक्रम जारी छ । केही समारोहमा त नेपालले गोल्ड मेडल पाएको छ । मेरो आफ्नै कारखानाले गोल्ड मेडल पायो । अब हामीलाई विश्व बजारमा कसैले पनि चुनौती गर्न सक्दैन । मैले विश्वका सबै मुलुकसँग वार्ता गरेर हामीलाई चुनौति दिन सक्नुहुन्न पनि भनिसकेको छु ।

    विश्वमा भेटिएका चिया व्यवसायीहरुलाई सगरमाथाको बेसक्याम्पमा लगेर चियाको स्वाद चखाउँछु भन्यौं । चखायौं पनि । अहिले विभिन्न देशका पत्रकार र व्यवसायीहरुले त्यस्ता समारोहहरु अझै गरौं भनिरहेका छन् । तर कसरी गर्ने ? अहिले प्रदेश एक सरकारले चिया अन्तरक्रियाका लागि दुई करोड ५० लाख रुपैयाँ छुट्याएको छ भन्ने सुन्यौं । त्यसको जिम्म फेरि एनआएनएलाई दिएछ । त्यो गैरआवासीय संस्थाले अन्तर्राष्ट्रिय बारहरुसँग समन्वय गरेर अन्तरक्रिया गर्नसक्छ ? हामीले उहाँहरुलाई हाम्रो अनुभव पनि लिएर गर्न सुझाव दिएका थियौं । आउँदो जेठमा त्यो कार्यक्रम हुने भनिएको छ । हेरौं कसरी गर्नुहुन्छ ।

    चिया खेतीको बारेमा सहकार्यका लागि भारतलगायतका छिमेकी राष्ट्रहरु पनि तत्पर देखिएका छन् । पहिले एकचोटी भारतसँग सहकार्य समेत भएको थियो । तर त्यो सम्झौताको फाइल सिंदरबारमै अड्किएछ । पछि हामीले खोज्दा फाइल नै हराएछ । अब फाइल हराएपनि भारतले प्रक्रिया अगाडि बढाइसकेको छ । छिट्टै चियाखेती विश्वमै ब्राण्ड हुनेछ भन्ने आशा लिएका छौं । तर हाम्रो ८० प्रतिशत बजार भारत हो । भारतले अब

    चिया लिएर जाने ट्रकबाट नमुना लिएर त्यसको परीक्षणको नतिजा नआउञ्जेलसम्म नलिने नीति अपनाएको छ । यसकारण नेपालमा रहेका चिया उद्योगहरु बन्द हुने अवस्थामा छन् । यसका लागि सरकारले तादरुकता देखाउन जरुरी छ ।
    चिया व्यवसायीहरुको सरकारसँग कहिल्यै पनि सहकार्य हुन सकेन । नेपालका विभिन्न सरकारहरुले चिया खेतीलाई प्राथमिकता दिएको भएपनि अहिलेका सरकारले त्यति प्राथमिकतामा राखेको पाइँदैन । अहिलेको अवस्थामा झन राम्रो व्यवस्थाको कल्पना गरेका थियौं तर हामे अनुभवले के भन्छ भने सरकारबाट हामीले साथ र सहयोग पाएनौं ।

    हाम्रो आर्थिक कुटनीति कमजोर छ । श्रीलंकाले आफ्नो राजदुतलाई नै चिया बेच्न अनुमति दिन्छ । आफ्नो राष्ट्रिय दिवसमा पनि चिया उपहार दिन्छ । हाम्रो नेपालमा पनि ३० भन्दा बढी देशका दुतावासहरु छन् । उहाँहरुसँग सहकार्य गर्नुपर्दछ । चिया व्यवसायलाई पर्यटनसँग जोड्न सकियो भने अपार सम्भावना छन् । मैले यसलाई पनि सँगै लिएर अघि बढेको छु ।(नेपाल न्यूज बैंकले चिया उद्योगी एवम व्यवसायी उदय चापागार्इँसँग गरेको कुराकानीमा आधारित ।)

  • आमाको मृत्यु भएपछि ४ महिने शिशुसहित बालबच्चाको बिचल्ली

    आमाको मृत्यु भएपछि ४ महिने शिशुसहित बालबच्चाको बिचल्ली

    मुगु । सोरु गाँउपालिका–६, पुरुमुरु गाउँमा २४ वर्षको उमेरमै आमाको मृत्यु भएपछि उनका कलिला बालबच्चाको बिचल्ली भएको छ । गाउँमा फैलिएको सिजनल भाइरल ज्वरोको प्रकोपले गत साता २४ वर्षीया कुसुम ढोलीको ज्यान लियो । आमा बितेपछि कलिला छोराछोरीको भविष्य अन्धकारमा धकेलिएको छ ।

    उनका एक छोरा र दुई छोरी थिए । उनकी कान्छी छोरी रजना भर्खरै ४ महिनाको मात्रै हुँदैछिन् । वर्षका आधा दिन भारत गएर मजदुरी गरेर ल्याएर जिउने ढोली परिवार अहिले महाविपत्तिमा फसेको छ ।

    श्रीमतीकोे मृत्युपछि शोकमा डुबेका उनका श्रीमान् अझैसम्म अर्ध बेहोसीमै छन् । उनी केही बोलेनन् । ‘अरूलाई त बनिबुतो गरेर हुर्काउँला, त्यो अन्न खानै नथालेको ४ महिनाको बच्चालाई के खुवाएर बचाउने भनेर सोच्न सकेको छैन,’ कुसुमका जेठा ससुरा सलबहादुर ढोलीले भने ।

    सलबहादुर आफैँ पनि बिरामी छन् । उनका भाइबुहारी पनि ज्वरोले थलिएका छन् । रोग र शोक एकैपटक झेलिरहेको परिवारलाई पोषिलो आहार र उपचारको खाँचो छ । तर बिहान बेलुकाको दुई छाक जुटाउन समेत कठिन हुने स्थितिमा गुज्रिरहेको छ ।

    ‘घरमा दुई छाक टार्नै धौ–धौ छ । मजदुरी गरेर खान्थ्यौँ, तीन नातीनातिना हुर्काउनका लागि हामी बाबुछोरा भारतमा मजदुरी गर्न गएका थियौ । आउँदा बुहारी वितिसकेकी रहिछन् । यी नाति नातिना अब के गरेर पालौ,’ बुहारीको निधनपछि भारतबाट फर्किएका ससुरा गोबी ढोलीले भावुक हुँदै भने । उनले थपे, ‘अहिले रोग र भोकको विपत्ति एकैपटक आयो, ठुलाले जे खाए पनि हुनेरहेछ, यी कलिला बालबच्चालाई के खुवाएर बचाऔँ ?’

    घर खर्च जोहो गर्न घरमा श्रीमती र सुत्केरी बुहारीलाई छोडेर गत मंसिरमा गोबी ढोली छोरालाई लिएर मजदुरी गर्न भारत पुगेका थिए ।

    तर दुई महिना नबित्दै घरमा बिपत्ति आइलाग्यो । सबै जना बिरामी परेको खबर पाएपछि उनीहरू घर फर्किए, तर घर आइपुग्दा बुहारीको श्वास रोकिसकेको थियो ।

    गाउँभरि नै भाइरल ज्वरोको प्रकोप छ । ‘घरैभरि बिरामी छन् । मान्छेको बिचल्ली छ,’ मृतक कुसुममा जेठा ससुरा सलबहादुरले भने, ‘वल्लोघर पल्लोघरका नानीहरुले दुध खुवाएर त्यो बच्चालाई बचाएका छन् । कसलाई के भनौँ ? कसरी मागौँ ?’

    ढोली परिवारलाई परेको विपत्तिमा वडा, गाउँपालिका वा कुनै पनि सरकारी निकायको नजर परेको छैन ।

    झण्डै एक महिनासम्म निरन्तर ज्वरो आउने, रुघाखोकी, श्वास फेर्न गाह्रो हुने, टाउको दुख्ने, नाकमुख सुख्खा हुने जस्ता लक्षण देखिएर बिरामी परेकी कुसुमको गत साता जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । भाइरल ज्वरो फैलिँदा गाउँमा कुसुमसहित अन्य दुई जनाको समेत मृत्यु भएको छ भने अहिले पनि सयौँ जना बिरामी छन् ।

  • वर्षा र हिमपात नहुँदा सुक्दै हिउँदे बाली

    वर्षा र हिमपात नहुँदा सुक्दै हिउँदे बाली

    मुगु । हिमाली जिल्ला मुगुलगायत जुम्ला, हुम्ला डोल्पा र कालीकोटमा यस वर्ष अपेक्षित रुपमा वर्षा र हिमपात भएको छैन । यसले गर्दा कृषकले लगाएका जै, गहुँ लगायत अन्य हिउँदे बाली सुक्दै गएका छन् ।

    मौसमको प्रतिकूलताले बाली उत्पादनमा नकारात्मक असर परेपछि कृषकहरु आउँदो बर्ष भोकै परिने हो कि भन्ने चिन्तामा छन् ।

    ती क्षेत्रमा खेतीयोग्य जमिन भिरालो भएकाले सिँचाई पर्याप्त हुँदैन । आकाशे पानीको भरमा रहेका मुगु जिल्लाको खमाले, लमेरा, कोटिला, मुर्मा, सेरी, जाम, पिना, मुन्दु, शोभा, रोवा, बाम, लुम, मह, माग्री, सकम्री, सोरुकोट, धैनकोटलगायत चार दर्जनभन्दा बढी गाउाका किसान चिन्तित छन् ।

     

    लगाएका अन्न बाली सुकेर पहेँला भइसकेका छन् । गत वर्षहरुमा कात्तिक, मंसिर, पुस महिनामा हिउँ परेर सेताम्मे हुन्थ्यो । तर यसपालि पानी नपरेको साथै हिमपात पनि नभएपछि जै, गहुँ, लगायत बालीमा असर परेको हो ।

    यो वर्ष पुस महिनाको तेस्रो साता भइसक्दा पनि हिमपात र वर्षा नहुँदा सबै हिउँदे अन्न बाली सुकेर जान थालेको छायाँनाथ रारा नगरपालिका वडा नम्बर ९ मुर्माका बालकृष्ण रोकाया बताए ।

    पानी नपर्दा पशुचौपायालाई चरिचराउका लागि समेत समस्या भएको छ । चिसोको कारण हावा चल्ने गरेको साथै सुख्खा खडेरीको कारण मानिसमा पनि रुघा खोकी, टाउको दुख्ने, छातीमा समस्या आउने जस्ता समस्या देखिन थालेको छायाँनाथ रारा नगरपालिका–४ का जसबहादुर भामले बताए ।

    मुगुमा रहेको खेतीयोग्य जमिनमध्ये ३ हजारभन्दा बढी हेक्टरमा हिउँदे अन्न बाली जै, गहुँ लगायत लगाउने गरिएको छ । सबैभन्दा बढी भूभाग खेतीका लागि आकासे पानीको भरमा छन् ।

    केही भागमा सिँचाई गरेर खेती गर्ने भए पनि अधिकांश भागको खेती प्रभावित भएइको छ । गर्त वर्षहरुमा मंसिर महिनादेखि नै हिउँ पर्ने भएको समस्या नभएको तर यसपालि भने फरक अवस्था रहेको जिल्ला कषि बिकास कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख प्रचण्ड नकाल देवकोटाले बताए ।

     

  • हमासको कब्जामा रहँदाको अनुभव : बेस्सरी भकुर्दै खान दिने, कीरा र जुम्राले टोकेर झिमिक्क गर्न नपाइने

    हमासको कब्जामा रहँदाको अनुभव : बेस्सरी भकुर्दै खान दिने, कीरा र जुम्राले टोकेर झिमिक्क गर्न नपाइने

    काठमाडौं । अक्टोबर ७ मा प्यालेस्टाइनी समूह हमासले बमबारी सुरु गर्दै इजरायलमा हमला सुरु गर्यो । हमासले २० मिनेटको समयमा एकैसाथ ५ सय भन्दा बढी बम खसाल्दा इजरायल भग्नावशेषमा परिणत भयो । हमासको आतंककारी हमलमा परि हजारौं जनाको मत्यु हुनुका हजारौं घाइते र केही वेपत्ता भए ।

    इजरायलमा हमासले आक्रमणसँगै शिशुदेखि वृद्ध मानिसहरूलाई बन्धक बनाइएको थियो । अहिले हमासले झण्डै एक सय जनालाई बन्धकमुक्त गरेको छ । तर, धेरै बेपत्ता छन् । प्यालेस्टाइनी लडाकु संगठन र गाजाका अन्य समूहहरूले युद्धरत रूपमा कब्जा गरेको अनुमान गरिएको छ ।

    हमासले आफ्नो कब्जाबाट रिहा गरेका केही नागरिकले बन्धनमा रहेको बखतका अनुभव साटेका छन् । बन्धक रहेका मानिसहरु अँध्यारोमा चुपचाप बस्न बाध्य छन् । थोरै रासन मात्र खुवाइने उनीहरुले बताएका छन् । यसका साथै किरा र जुम्राको हैरानी समेत खेप्नु परेको छ ।

    यस्तो छ हमासमले बन्धक बनाएकाहरुको अवस्था

    हमासले गाजा क्षेत्रमा बन्धक बनाएकाहरुलाई रेडक्रस र अन्य मानवीय समूहहरूसँग भेट्न अनुमति दिइएको छैन । परिणामस्वरुप बन्धकका आफन्तहरूले गाजामा रहेका आफ्ना प्रियजनहरूलाई के भइरहेको भन्ने थाहा पाउन सकिरहेका छैनन् ।

    इजरायल र हमासबीचको सम्झौता अनुसार रिहा भएका अधिकांश महिला, बालबालिका र विदेशी कामदार रहेका छन् । बन्धकहरू विभिन्न स्थानहरूमा र विभिन्न समूहहरूको कब्जामा रहेको आशंका गरिएको छ ।

    सबै बन्धकहरूलाई एकै किसिमले व्यवहार नगरिएको बताइएको छ। यद्धपी रिहा भएका हरेक नागरिकले आ–आफ्नै भोगाई बोल्दै आएका छन् ।

    अस्थायी युद्धविराम सम्झौताले हालसम्म ८१ इजरायली, २३ थाई नागरिक र एक फिलिपिनोसहित १०५ नागरिकलाई हमासको बन्दीबाट मुक्त गरेको छ । इजरायलले गाजामा करिब १३७ बन्धकहरू अझै बाँकी रहेको विश्वास गरेको छ ।

  • तिब्बतसँग जोडिएको दोलखाको लप्चीवासीको दुखेसोः हाम्रा दुःख कसैले बुझेन

    तिब्बतसँग जोडिएको दोलखाको लप्चीवासीको दुखेसोः हाम्रा दुःख कसैले बुझेन

    रामेछाप । ‘हामी आफ्नै देशभित्र विदेशी जस्ता भयौं, हाम्रो कुरा सरकारले सुन्दैन, हामीलाई सरकारले केही सहयोग गर्दैन ।’

    चीनको तिब्बतसँग सिमाना जोडिएको दोलखाको दुर्गम गाउँ लप्चीका पेम्बा शेर्पाको गुनासो हो यो ।

    दोलखाको विगु गाउँपालिका–१ मा पर्ने उत्तरी विकट तिब्बती सिमानामा रहेको लप्ची लामाबगरबाट दुई दिनको कठिन यात्रापछि पुगिन्छ । लप्चीमा १३ घरधुरी छन् ।

    लप्चीवासीको मुख्य पेसा याक र चौँरी पालन हो । लप्चीवासीका वर्षको ६ महिना तिब्बतका खर्कमा बित्छन् । बाँकी ६ महिना लप्ची लगायतका नेपालका विभिन्न चौँरीखर्कमा ।

    किसान नेपाली याक–चौँरी ६ महिना तिब्बतको चौँरी खर्कमा गोठ राखेर बस्छन् । तिब्बतको खर्कमा बस्दा एउटा याक–चौँरीको वार्षिक दुई घोर्मु कर तिर्नु पर्छ ।

    नेपालतर्फ लप्ची, लालुङ, ताक्पालेमु लगायत स्थानमा चौँरी गोठ राखिन्छ । थाङजेमुबाट तल नुमलाङ भ्यालीसम्म गोठ आउँदा ६ महिना नेपालपट्टि बित्छ । नुमलाङ पुस–माघमा बढी हिउँ पर्दा जाडो छल्ने ठाउँ हो ।

    उक्त क्षेत्रको सबैभन्दा तलको भूभाग हो गौरीशंकर संरक्षण क्षेत्रमा पर्ने लप्ची । त्यही लप्चीमा १३ घर नेपाली कठिन जीवनयापत गरिरहेका छन् । जंगली भालुले केही खेती लगाउन दिँदैन । ‘घरमा रहेको रासन, अन्नपात समेत सबै भालुले खाइदिन्छ, घर भत्काएर बास नै उठाइदिन्छ, राम्रो घर कसैको छैन’, पेम्बाले दुःख सुनाए ।

    गाउँमा रासन पुर्याउन निकै कठिन छ । दुई दिनको अप्ठेरो बाटो बोकेर रासन पुर्याउनु पर्छ । त्यही पनि भनेको बेला मान्छे पाइँदैन ।

    राज्यले दिने कुनै सेवा छैन लप्ची गाउँमा । गाउँमा विद्यालय छैन, लप्चीका बालबालिकालाई पढाउन गुम्बा मार्फत काठमाडौं, सिक्किम र तिब्बतका लामा पाठशालामा पठाइन्छ ।

    गाउँमा टेलिफोन छैन, मोबाइलको टावरले काम गर्दैन । विद्युत छैन, अँध्यारोमा नै बस्नु पर्छ । स्वास्थ्य सेवा छैन, जटिल बिरामी भयो भने मृत्यु पर्खनुको विकल्प छैन ।

    ‘भालुले घर भत्काएर बिजोक बनाउँदा पनि राज्यले सहयोग गर्दैन’ शेर्पाले भने ‘भालुले आतंक मच्चाएर सबैको घरगोठ भत्काएर बिजोग छ, गौरीशंकर संरक्षण क्षेत्रले क्षतिपूर्ति र राहत दिँदैन, घोडा, चौँरी जंगली चितुवाले त्यति नै नोक्सान र्पुयाउँछ, त्यसको पनि क्षतिपूर्ति पाइँदैन, घरको सामान आफू जता गयो त्यतै लानु पर्छ, नत्र भालुले चोरिहाल्छ’, उनले भने ।

    नेपालपट्टिबाट सामान लैजान बाटो निकै कठिन भएको शेर्पाले बताए । अहिले चीनको नाका बन्द भएको कारण लप्चीवासीलाई बाँच्नै गाह्रो भएको छ ।

    लप्चीवासीका कुटुम्ब तिब्बततिरै छन् । लप्चीवासीको मुख्य बजार तिब्बतको कुटी बजार हो । उक्त बजार केही समय खुले पनि अहिले बन्द छ ।

    लप्चीमा राम्रो गुणस्तरको चौँरी र याक उत्पादन हुन्छ । त्यस्तै घोडा पनि त्यतिकै राम्रा उत्पादन हुन्छ । तर त्यहाँसम्म पुग्ने बाटो बिकट भएका कारण अन्यत्र बिक्री हुन सकेका छैनन् ।

  • वाइल्डलाइफ फोटोग्राफर अफ द इयर : भूतको अनुहार कि माछा ?

    वाइल्डलाइफ फोटोग्राफर अफ द इयर : भूतको अनुहार कि माछा ?

    काठमाडौं । यो तस्बीर हेर्दा के देख्नुहुन्छ ? तस्बीरमा महासागरबाट अचानक निस्केको ठूलो र दरलाग्दो अनुहार देखिएको छ ।

    तर तपाईँले साँच्चै के हेर्दै हुनुहुन्छ, त्यो एउटा ‘स्टारगेजर माछा’ हो, जुन भूमध्यसागरको बलौटे भुइँमा देखिएको छ ।

    यो तस्बीर इटालीका पियट्रो फोर्मिसले खिचेका हुन् र यो वर्षको ‘वाइल्डलाइफ फोटोग्रगाफर अफ द इयर’मा धेरैले प्रशंसा गरेका थिए ।

    फोर्मिसका अनुसार सामान्यतया यस्तो तस्बीर प्रतिस्पर्धाका लागि खिचिदैन । उनले यो तस्बीर प्रतिस्पर्धाका लागि किन पठाए भने उनलाई यो धेरै मन प¥यो । तर कुनै प्रशंसा पाउने आशा गरिएको थिएन ।

    ‘म धेरै खुसी छु, त्यो समारोह आउने दिनहरू गन्दैछु । मलाई लाग्छ, मेरो सबैभन्दा महत्वपूर्ण समय देख्दैछु, म साथीहरूलाई भन्नेछु, उनीहरू मेरा नायक हुन् र फोटोग्राफीको शीर्ष स्थानमा रहन्छन् । म धेरै खुशी छु र यसलाई वर्णन गर्न सक्दिन ।’

    ‘वाइल्डलाइफ फोटोग्राफर अफ द इयर’ प्रतियोगिताको समग्र विजेताहरूको घोषणा आगामी अक्टोबर १० मा हुने पुरस्कार समारोहमा गरिनेछ । प्रतियोगितामा वर्षभर प्रवेश गरेका हजारौंबाट छनोट गरिएका १०० तस्बीरहरू आगामी अक्टोबर १३, शुक्रबार प्राकृतिक इतिहास सङ्ग्राहलयमा प्रदर्शनी गरिनेछ र त्यसछि विश्वभर लगिनेछ ।

    ‘एट्लान्टिक स्टारगेजर’ माछा, जसको ल्याटिन नाम ‘युरानेस्कोषमा स्क्वाबर’ हो किनभने तिनीहरूका आँखा माथितिर टाँसिएको हुन्छ । तिनीहरू पनि सिकारीहरू हुन् । शिकार समात्न तिनीहरू आँखा र मुख मत्रा देखिनेगरी बालुवा मुनि लुकेर बस्छन् । जुन फोर्मिसको फोटोमा देख्न सकिन्छ ।

    फोर्मिसले भने, ‘यो भूडू मास्क वा मानव अनुहार जस्तो देखिन्छ र ती प्रजातिहरू जुन मलाई धेरै मनपर्छ, ठूला आँखा र मुख भएका ती प्रजातिहरूको अनुहार मनवको जस्तै देखिन्छ । यो सुन्दर जनावर हो ।’

    फ्ल्यासमा केन्द्रित प्रकाश, ढिलो शटरस्पीड प्रयोग गरेर नीलो पानीमा ‘स्टारगजर’को तस्बीर लिन सफल भएको वर्णय गर्दै फोर्मिसले भने । ‘मेरो लागि यो झरना जस्तै हो, त्यसपछि तपाईँ पछाडिबाट यो डरलाग्दो अनुहार देख्नुहुन्छ । मैले केही फरक तस्बीरहरू लिएँ, तर मलाई यो मनपर्छ,’ उनले भने ।

    फोर्मिसका बुबा फोटोग्राफर हुन् । बुबाले उनलाई डाइभिङमा लगेर गए । त्यसपछि उनको जीवन परिवर्तन भयो । त्यसपछि पानी मुनिको फोटोग्राफीमा फार्मिस लगभग पागल बन्न पुगे । उनले भने, ‘पानीमा जानु र सुन्दरताको तस्बीर लिनुलाई म विशेषाधिकार प्राप्त गरे जस्तै महसुस गर्छु ।’

  • कसरी रोहिंग्या ‘कक्स बजार’ पुगे ? रोहिंग्या भन्छन्– फेसबुकले जिम्मेवारी लिनुपर्छ

    कसरी रोहिंग्या ‘कक्स बजार’ पुगे ? रोहिंग्या भन्छन्– फेसबुकले जिम्मेवारी लिनुपर्छ

    म पश्चिम म्यानमारको ‘न्गा येन्ट चेन्ज’ भन्ने गाउँबाट आएको हुँ । त्यहाँ मेरो सुखी र शान्त बाल्यकाल बित्यो । मेरो बुबाको चलेको पसल थियो । म मेरा बाआमा र छ जना भाइबहिनीसँग आँप, नरिवल र केराको रूखले घेरिएका फराकिलो घरमा बस्थ्यौं । कहिलेकाही हात्तीहरू हाम्रो गाउँ घुम्थे र फर्किएर जङ्गल जान्थे ।

    म बालक हुँदा यहाँ हाम्रो जीवनमा कुनै साम्प्रदायिक हिंसा थिएन । हामी मुस्लिम रोहिंग्या र उनीहरू बौद्धमार्गी भए पनि हाम्रा छिमेकीसँग कुनै ठूलो समस्या थिएन ।

    उदाहरणका लागि रखाइन गाउँमा मेरा धेरै साथीहरू थिए । प्रायः हामी गाउँको बीचमा रहेको खेल मैदानमा भेट्थ्यौं र ‘चिन्लोन’ भन्ने यहाँको चर्चित बल खेल्थ्यौं । हामी सँगै धेरै रमाइलो गर्थौं ।

    अब, त्यो रमणीय जीवन, आशा र आनन्द रहेन, मात्र दूरको सम्झना ।

    विगत ६ वर्षदेखि म्यानमारको सेनाले रोहिंग्या गाउँहरूमा ‘क्लियरेन्स अपरेसन’ सञ्चालन गर्न थालेदेखि म बंगलादेशको ‘कक्स बजार’ नामक शरणार्थी शिविरमा बस्दै आएको छु । यो संसारको यस्तो ठूलो बस्ती हो, जहाँ करिब एक लाख मानिसहरू रहेका छन् । उनीहरू बाँस र त्रिपालबाट बनेका स–साना आश्रयमा बसिरहेका छन् । यहाँ मेरो दैनिक जीवन सङ्घर्षमय छ । हामीसँग पर्याप्त पिउने सफा पानी र खाना छैन ।

    यहाँ आगलागी भएको छ, यहाँ हत्या भएको छ । हामी यहाँ सुरक्षित महसुस गर्न सक्दैनौं ।

    हामी कसरी यहाँ पुग्यौं ?

    म फेसबुकलाई आरोप लगाउँछु, यसको मूल कम्पनी मेटा हो । यो सबै पछाडिका व्यक्ति मार्ग जुकरबर्ग हुन् । म्यानमारका सेनाले हामीलाई नरकसम्म पु¥याउने अवस्था सिर्जना गरेको दोष उनलाई जान्छ । सामाजिक सञ्जाल कम्पनीले आफ्ना पृष्ठहरूमा रोहिंग्या विरोधी भावनाहरू फैलाउन अनुमति दियो । यसको एल्गोरिदमले असन्तुलनलाई बढवा दियो, जुन हिंसामा परिणत भयो ।

    पक्कै, म्यानमारमा रोहिंग्या र रखाइन समुदायबीच तनावको इतिहास छ । तर, मेरो व्यक्तिगत भोगाइमा फेसबुक र स्मार्ट फोन नहुँदासम्म कुनै दिन पनि हाम्रा जनताबीच शत्रुता थिएन । यी सामाजिक सञ्जालले राजनीतिज्ञहरू, कट्टरपन्थीहरू र अवसरवादीहरूलाई हाम्रा जनता विरुद्ध घृणा प्रचार गर्न सहयोग गरेको छ ।

    सन् २०१२ मा म ११ वर्षका हुँदा पहिलोपटक फेसबुक घृणाको औजार हुनसक्छ भन्ने भन्ने महसुस गरे । रोहिंग्याको एक समूहले बौद्ध बालिकालाई बलात्कार गरी हत्या गरेको आरोप लागेको थियो । मेरो जानकारीमा त्यो जघन्य अपराध अझै समाधान भएको छैन । तर, प्रमाणको अभाव हुँदा मानिसहरूलाई हाम्रो समुदायमाथि दोष लगाउन रोक्न सकिएन । फेसबुकमा हाम्रा मानिस विरुद्ध घृणायुक्त भाषण सामान्य जस्तै भयो । त्यही समयदेखि रखाइनका छिमेकीहरूसँग हाम्रो न्यानो सम्बन्ध चिसिन थाल्यो ।

    केही वर्षपछि सन् २०१६ को अन्त्यमा फेसबुकद्वारा फैलिएको रोहिंग्या विरोधी भावना वैधानिक हुँदै गयो । हाम्रो जीवनमा यसको प्रत्यक्ष असर पर्न थाल्यो ।

    मेरा बुबा र केही अन्य आर्थिक रूपमा कमजोर भएका रोहिंग्याहरूलाई प्रहरी स्टेसनमा आक्रमण गरेको झुटो आरोप लगाइयो र ठूलो जरिवाना तिराइयो । मेरो काका अबुसुफियान र उनका छोरा बुशलाई जरिवाना नतिरेको भन्दै पक्राउ गरियो र बिना मुद्दा जेल चलाइयो ।

    त्यतिखेरसम्म फेसबुकमा रोहिंग्याका बारेमा घृणित र स्लामविरोधी पोष्ट र सन्देशहरू सामान्य भइसकेका थिए । मैले ‘देश बचाउन’ र अवैध ‘बंगालीहरू’लाई बाहिर निकाल्नका लागि एकजुट हुन आह्वान गरेको छु । विशेषगरी एक घृणित सन्देशले भन्यो, ‘अवैधहरूको जन्मदर उच्च छ । यदी हामीले यसलाई निरन्तरता दियौं भने छिट्टै हाम्रो देशको राष्ट्रपतिले दाह्री राख्नुपर्नेछ ।’ मेरो रखाइन साथीहरूसँग चिनलोन खेल्ने दिनहरू साँच्चै सकियो ।

    मैले यी सन्देशहरू फेसबुकलाई रिपोर्ट गरे, यहाँका अधिकारीहरूले केही गरेनन् । ती यथार्थ घृणित पोस्टहरू र सन्देशहरूले –के (फेसबुक) सामाजिक मापदण्ड उलङ्घन गर्दैनन् ?

    केही समयपछि हत्या सुरु भयो ।

    यो सन् २०१७ अगस्ट २५ देखि सुरुवात भएको हो ।

    म त्यतिबेला १५ वर्षको मात्र थिए । राम्रो विद्यार्थी थिए, वकिल बन्ने आशा थियो ।

    यो दिन बिहान म मेरो म्याट्रिकको परीक्षाका लागि चाँडै उठेको थिएँ । अचानक गोलीको आवाज सुने । उनीहरू गाउँको प्रहरी चौकीबाट आएका थिए । के गर्ने थाहा नभएपछि घरमै बस्यौं । करिब तीन घण्टासम्म गोलीको आवाज चल्यो । त्यतिन्जेल सेना पनि आइसकेको थियो ।

    अन्ततः हामी बाहिर निस्क्यौं । स्थानीय बजारका पसले मोहम्मद शोमीम मारिएका थिए । मैले उनको शव सडकमा लडिरहेको देखेको छु ।

    गाउँमा छापा मार्दा सुरक्षाकर्मीहरूले विस्फोटक पदार्थ पनि राखेका थिए । उनीहरूले गोप्यरुपमा काम गर्दा हामीलाई खतराका बारेमा थाहा थिएन । हुसेन अहमद नामका एक गाउँलले बम विस्फोट गराए । ठूलो आवाजसहित विस्फोटन हुँदा मेरो आँखा अगाडि नै उनको मृत्यु भयो ।

    सबै जना डराए र धेरै जंगलमा लुक्न गए । केही परिवार भोलिपल्ट बंगलादेशतर्फ जान थाले, तर हामीले घरमै बस्ने निर्णय गरौं ।

    केही समयमै सेनाले बाँकी सबै गाउँलेहरूलाई रेड क्रिसेन्ट अफिस नजिकैको मैदानमा भेला हुन आदेश दियो, हामी गएनौं । हामीलाई थाहा थियो, यदी हामी गयौं भने उनीहरूले पक्का मार्नेछन् । अन्य गाउँहरूमा रोहिंग्याहरूलाई उनीहरूले मारिरहेका सुनेका थियौं ।

    हामीसँग विकल्पहरू समाप्त भइसके र म्यानमारमा सुरक्षा खोज्ने कुनै सम्भावना छैन भन्ने महसुस गर्दै हामीले पनि पैदलै बंगलादेशतर्फ जाने निर्णय गरौं । बाटोमा हामीले उजाड गाउँहरूका सडक र धानबारीमा अनगिन्ती लाशहरू देख्यौं । धेरै जसो घरहरूमा आगो लगाइएको थियो । चिसो वर्षाका समयमा हामीले जङ्गल र पहाड पार गरौं । हामीले धेरै दिन खान पाएनौं । १५ दिनपछि हामी बंगलादेश पुग्यौं ।

    मेरो गाउँमा गोली चलेको ठीक वर्षपछि आज खचाखच भरिएको ‘कक्स बजार’ शरणार्थी शिविरमा बसिरहेको छु । म अझै पनि घर खोज्छु । एउटा फरक जीवनको सपना देख्छु, जहाँ म मेरो गाउँ फर्केर मेरो शिक्षा जारी रख्न सकुँ ।

    म वकिल बन्ने सपना त्याग्न इन्कार गर्छु, तर युवा रोहिंग्याका लागि शिविरबाट भाग्ने अवसर धेरै कम छन् । हामीसँग शिक्षाको अधिकार छैन ।

    फेसबुकले हामीलाई यहाँ ल्यायो । बारम्बार चेतावनी दिए पनि हामी रोहिंग्याहरू मात्र होइन, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले पनि गलत सूचना र गृणा फैलाउने भाषण रोक्न कुनै कदम चालेनन् । यो कार्यका लागि उसले जिम्मेवारी लिनुपर्छ र हामीलाई हाम्रो जीवन सही बाटोमा ल्याउन मद्दत गर्नुपर्छ ।

    जुकरबर्ग र फेसबुक चलाउन मद्दत गर्नेहरूले ‘कक्स बजार’मा आएर हामीलाई भेट्नुपर्छ । उनीहरूले शिविरमा एक रात बिताउनुपर्छ र हामी कस्तो अवस्थामा छौं भनेर हेर्नुपर्छ । उनीहरूले मलाई र मेरा मानिसहरूलार्य के गरे भनेर बुझ्न सक्नुपर्छ । उनीहरूले हामीलाई मद्दत गर्नका लागि केही गर्न प्रोत्साहित गर्न सक्नुपर्छ ।

    फेसबुकले नरसंहारमा ज्यान गुमाएकाहरूलाई फिर्ता ल्यान सक्दैन । बाँचेकाहरूलाई उनीहरूले म्यानमारमा पुनःस्थापना गराउन मद्दत गर्न सक्दैन । तर जुकरबर्गले अझै पनि हामीलाई मद्दत गर्न सक्छन् । कक्स बजारका युवाका लागि शैक्षिक कोष खडा गर्न सक्छन् । हामीलाई आफ्नो र जनताको उज्ज्वल भविष्य निर्माण गर्न मद्दत गर्न सक्छन् । उसको कम्पनीले हाम्रा मानिसहरूलाई दिएको हानीलाई ध्यानमा राख्दै यत्ती त गर्न सक्नुपर्छ ।

  • भारतबाट मुर्रा भैँसी, अमेरिका र अष्ट्रेलियाबाट घाँस !

    भारतबाट मुर्रा भैँसी, अमेरिका र अष्ट्रेलियाबाट घाँस !

    नुवाकोट । ‘सामान्य भैँसी भारु एक लाखमै पाउन सकिन्छ तर मुर्रा जातको भैँसीको मूल्य बीएमडब्लु कारको मूल्यभन्दा धेरै हुन्छ। अर्थात् पूर्ण नश्लको मुर्रा भैँसी किन्न भारु एक करोडभन्दा बढीसम्म तिर्नुपर्ने हुन्छ।’

    भारतीय अनलाइन ‘एबीपीलाइभ डटकम’ले सन् २०२२ डिसेम्बर १५ मा मुर्रा जातका भैँसीबारे यस्तै भावमा एक आलेख प्रकाशन गरेको थियो। अरु धेरै लोकप्रिय भारतीय सञ्चारमाध्यमले मुर्रा भैँसीबारे सामग्री प्रकाशन तथा प्रसारण गरिरहेका हुन्छन्।

    पछिल्लो समयमा नेपाली सञ्चारमाध्यममा पनि मुर्रा भैँसीको विषयले स्थान पाउन थालेको छ। गत जेठको दोस्रो साता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को औपचारिक भारत भ्रमणका अवसरमा भएका विभिन्न सम्झौताहरूका विषयसँगै भारतले नेपाललाई १५ मुर्रा राँगो उपलब्ध गराउने भन्ने विषयले महत्त्व पायो।

    यो विषय नेपालको सङ्घीय संसद्मासमेत चर्चा पायो। हाँसोमजाकको विषय पनि बन्यो तर कृषिप्रधान नेपालका लागि उन्नत जातको मुर्रा भैँसीको नश्ल सुधार अत्यावश्यक छ।

    देश-विदेश बुझेका कृषिका जानकारहरूका लागि यो महत्त्वको विषय हो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै पालामा भारतसँग उक्त जातका भैँसी माग भएको थियो भने प्रधानमन्त्री दाहालको उक्त भ्रमणका अवसरमा उपलब्ध गराउने समझारी भएको थियो।

    एक वर्षअघि भारतको राजस्थानमा भएको एक मेलामा एक हजार पाँच सय किलोग्राम, छ फिट उचाइ र १४ फिट लम्बाइ भएको भैँसीको मूल्य एक करोड भारु कायम गरिएको सन्दर्भ अहिले पनि भारतीय सञ्चारमाध्यमले उल्लेख गर्ने गरेका छन्। मुर्रा भैँसी वजनदार मात्र होइन, देख्दा पनि आकर्षक हुन्छन्। यिनले एकपटकमा कम्तीमा २५ लिटरसम्म दूध दिन सक्छन्।

    व्यावसायिक पशुपालनका लागि भारत र नेपालजस्ता मुलुकका लागि यो एक प्रकारको वरदान नै हो। केवल व्यावसायिक पशुपालनको सोच, उचित लगानी, वातावरण र किसानी मेहनत भने आवश्यक पर्छ।

    नुवाकोटको बेलकोटगढी नगरपालिका-११ तिगाउँस्थित कँडेल कृषि फार्म प्रालिमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणअगावै विभिन्न माध्यमबाट मुर्रा जातका भैँसी उपलब्ध भइसकेको थियो। औपचारिक माध्यमबाट भारतदेखि मुर्रा भैँसी ल्याउन अनुमति र विविध प्रक्रिया पूरा गर्नुपर्छ।

    सो फार्मले भारतका सीतामढी, दिल्ली र हरियाणलगायतका स्थानबाट नेपालका सीमावर्ती भैरहवालगायतका क्षेत्रमा अनौपचारिक माध्यमबाट ल्याएर पालन गरिएका भैँसी नेपाली व्यवसायीबाट किनेर ल्याएको हो। हाल एक भैँसीले दैनिक २८ लिटरसम्म दूध दिन्छन्। ती भैँसीमा मुर्राको कति प्रतिशत नश्ल छन् भन्ने आधारमा वर्गीकरण हुने गर्छ।

    पूर्ण मुर्रा भैँसी निकै महँगो पर्छ। सो फर्मले प्रति भैँसी दुई लाख रुपैयाँदेखि १० लाख रुपैयाँसम्ममा ल्याएको हो। अहिले फार्मको राँगो स्थानीय अरु मानिसका भैँसीलाई लगाउन पनि प्रयोग गरिन्छ। यसबाट यसको नश्ल क्रमशः नश्ल सुधार हुन सहयोग मिल्नेछ।

    ‘मैले कसरी व्यावसायिक कृषिपालन गर्न सकिन्छ भन्नेबारेमा अध्ययनका क्रममा मुर्रा भैँसीबारे थाहा पाएर राँगो मगाएको हुँ’, फार्मका अध्यक्ष गोपीप्रसाद कँडेलले भने, ‘प्रधानमन्त्री प्रचण्ड भारत जाँदा १५ मुर्रा राँगो ल्याउने कुरा सकारात्मक हो। यसको नश्ल देशभर फैलाउन र दूध उत्पादनमा आत्मनिर्भर हुन आवश्यक छ। यसरी काम गर्न सकियो भने युवा रोजगारीका नाममा खाडीमा भौतारिन पनि पर्दैन।’

    उच्च शिक्षाका लागि बेलकोटबाट २०४६ सालमा काठमाडौं छिरेका कँडेलले सुरुमा कागज उद्योग स्थापना गरेका थिए भने पछि नेपालमै पहिलोपटक सिसाको हस्तकला उद्योग स्थापना गरे। आयात-निर्यातको व्यवसायका क्रममा परिवारसहित सन् २००८ मा संयुक्त राज्य अमेरिका पुगेर दुई वर्ष बसे।

    त्यसपछि उनी नेपालमै केही गर्नुपर्छ, युवापुस्तालाई पनि प्रेरण दिनुपर्छ भन्ने सोचका साथ स्वदेश फर्किए। सौर्य ऊर्जा र ग्यास उद्योगमा समेत लगानी गरेका कँडेलले फार्ममा विदेशबाट काठ मगाएर आफू बस्नका लागि पर्यावरणीय काठघर पनि निर्माण गरेका छन्। उनले कोल्डस्टोर र डेरी फार्म स्थापनाको लक्ष्य लिएका छन्।

    कृषि र पशुपालनसहित विषादिरहित खानाको अभियानमा जोडिएका महत्त्वपूर्ण व्यावसायिक सम्मान (सीआइपी) प्राप्त कँडेलले कँडेल कृषि फार्ममा पछिल्लो समयमा उक्त लक्ष्यमा सघाउन कृष्ण दाहाललाई साझेदार बनाएका छन्। कुल ५० रोपनी जग्गामा रहेको र चार वर्षअघि स्थापित फार्ममा हाल एक राँगोसहित १० भैँसी, १० गाई छन्। एक गिरी गाई पनि छ।

    फार्मले कोरियाली गाई पनि मगाउने तयारी गरिरहेको छ। गाई भैँसी थपेर दैनिक पाँच सय लिटर दूध उत्पादन गर्ने लक्ष्य लिइएको कँडेलले बताए। यहाँका गाईभैँसीका लागि पोषिलो घाँस खुवाउन फार्मले अमेरिकी घाँस रेड नेपिएर (रातो घाँस), अष्ट्रेलियाको हरियो घाँस (नेपिएर) खेतबारीमा लगाएको छ। हेर्दा उखुजस्तो देखिने यी घाँस रोप्न, हुर्काउन र काट्न सजिलो हुन्छ। फर्ममा हालसम्म करिब डेढ करोड रुपैयाँको लगानी भइसकेको छ।

    कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता प्रकाश कुमार सञ्जेलले भारत सरकारसँग ल्याइने १५ मुर्रा राँगोका लागि पशुसेवा विभागका महानिर्देशकको संयोजकत्वमा कार्यदल गठन भएको र उक्त टोलीले भारतका सम्बन्धित सरकारी फार्ममा गई प्राविधिक परीक्षणपश्चात राँगो ल्याइने बताए। ती राँगोलाई कृषि अनुसन्धान परिषद् (नार्क)लगायत स्थानमा राखेर बीर्य सङ्कलन गरी क्रमिकरूपमा भैँसीहरूमा कृत्रिम गर्भाधान गराइने र पहिलो वर्षमा डेड लाख भैँसीलाई गर्भाधारण गराइने योजना रहेको बताए।

    नेपाल र भारतबिचको खुला सिमानाका कारण हालसम्म के-कति यस्ता भैँसी या अनौपचारिक माध्यमबाट भित्रिएका छन् भन्ने विवरण मन्त्रालयमा नरहेको प्रवक्ता सञ्जेलले बताए। औपचारिक संयन्त्रबाट स्वास्थ्य परीक्षण र प्रमाणपत्रबिना ल्याउने अनुमति पनि नभएको उनको भनाइ छ। रासस