Category: ब्रेकिंग न्युज

ब्रेकिंग न्युज

  • जेन-जी काे प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल (तस्विरहरू)

    जेन-जी काे प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल (तस्विरहरू)

    भ्रष्ट्राचार र सामाजिक प्रतिबन्धको विरोधमा प्रदर्शनमा उत्रिएका जेन-जीले बानेश्वरतर्फको निषेधित क्षेत्र तोडेका छन्। यहाँ प्रहरीले ब्यारीकेड राखेर निषेधित क्षेत्र छुट्याएको थियो। तर प्रदर्शनकारीहरूले धकेलाधकेल गर्ने क्रममा ब्यारीकेड तोडेका हुन्।

    भीड नियन्त्रण गर्न प्रहरीले पानीको फोहरा प्रहार गरेको छ। त्यसक्रममा प्रदर्शनकारी र प्रहरीबीच धकेलाधकेल भएको छ भने उनीहरूले प्रहरीलाई कागज, सडकमा भेटिएका रुखका हाँगाका टुक्रा, पानीका बोत्तलले प्रहार गरेका छन्। प्रदर्शनकारीहरूले सरकारविरुद्व विभिन्न नाराबाजी गरिरहेका छन् ।

  • संसदभित्रै प्रवेश गरे जेन–जी, प्रहरीले हान्यो अश्रुग्यास

    संसदभित्रै प्रवेश गरे जेन–जी, प्रहरीले हान्यो अश्रुग्यास

    काठमाडौं । भष्ट्राचार र सामाजिक प्रतिबन्धको विरोधमा प्रदर्शनमा उत्रिएका जेन-जीहरु बानेश्वरस्थित संसद् भवनभित्र प्रवेश गरेका छन् ।

    निषेधाज्ञा तोडेर नयाँबानेश्वरको संसद भवनतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ ।

    माइतीघरमा जम्मा भएर नयाँ बानेश्वर तर्फ अघि बढेका उनीहरूले प्रहरीको घेरा तोड्दै अघि बढ्न खोज्दा प्रहरीसँग घम्साघम्सीसमेत भएको छ ।

  • रामहरि खतिवडाले लिए संसदीय सुनुवाइ समिति सभापतिको शपथ

    रामहरि खतिवडाले लिए संसदीय सुनुवाइ समिति सभापतिको शपथ

    काठमाडौं । संसदीय सुनुवाइ समिति (संयुक्त) को सभापतिमा निर्विरोध निर्वाचित भएका रामहरि खतिवडाले शपथ लिएका छन्।

    कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको हलमा सभापति खतिवडाले सभामुख देवराज घिमिरेबाट पद तथा गोपनीयताको शपथ ग्रहण लिएका हुन्।

    शपथमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख इन्दिरा रानामगर, राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेलगायत सहभागी थिए।

    कुलिङ पिरियड छेडखानीमा संसदीय विशेष छानबिन समितिले नैतिक जिम्मेवार ठहर्‍याएपछि राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट राजीनामा दिएका खतिवडा संसदीय सुनुवाइ समिति सभापति बनेका हुन्।

  • जेन जीको ऐतिहासिक विद्रोह: भ्रष्टाचारविरुद्धको नयाँ पुस्ताको निर्णायक हस्तक्षेप

    जेन जीको ऐतिहासिक विद्रोह: भ्रष्टाचारविरुद्धको नयाँ पुस्ताको निर्णायक हस्तक्षेप

    नेपाल एउटा सुन्दर, गौरवपूर्ण र विविधताले भरिएको देश हो, जहाँ हिमाल, पहाड र तराईले भौगोलिक विशेषता दिएको छ भने संस्कृतिको विविधता, भाषाको बहुलता र धर्मको सहअस्तित्वले सामाजिक सौन्दर्य थपेको छ। गौतम बुद्ध, जनक, सीता, सगरमाथा र अन्य ऐतिहासिक धरोहरहरूले नेपाललाई विश्वमै चिनाएको छ। तर, यस्ता गौरवपूर्ण सम्पदा भएका बाबजुद पनि नेपाल लामो समयदेखि भ्रष्टाचार, नातावाद, कृपावाद, राजनीतिक गुटबन्दी र असक्षम नेतृत्वका कारण जटिल समस्यामा फँसिरहेको छ। जनताले पटक–पटक राजनीतिक परिवर्तनलाई समर्थन गरेका छन् तर परिणाम स्वरूप सुशासन, पारदर्शिता र न्यायको सपना अधुरो छोडिएको छ। राज्य सञ्चालन गर्ने जिम्मेवारी पाएका दल र नेताहरूले आफ्नो व्यक्तिगत स्वार्थलाई राष्ट्र र जनताभन्दा अगाडि राखे, जसको परिणाम आजको गम्भीर संकट हो।

    नेपालमा शासन व्यवस्था बारम्बार परिवर्तन भएको छ। प्रजातन्त्रदेखि गणतन्त्रसम्मको यात्रामा जनताले ठूलो मूल्य चुकाए पनि राज्यको प्रणाली पारदर्शी, जवाफदेही र न्यायपूर्ण बन्न सकेन। सत्तामा पुग्ने बित्तिकै नेताहरूले आफू र आफ्ना वरिपरिका मानिसको लाभलाई प्राथमिकता दिन थाले। सार्वजनिक स्रोतलाई निजी सम्पत्ति आर्जन गर्ने साधन बनाउने प्रवृत्ति संस्थागत भयो। यो प्रवृत्तिले केवल अर्थतन्त्रमा मात्र संकट ल्याएको छैन, सामाजिक मूल्य र जनताको विश्वासलाई समेत गम्भीर रूपमा नष्ट गरेको छ। न्यायालय, प्रशासन, शिक्षा, स्वास्थ्य जस्ता महत्वपूर्ण क्षेत्रहरू पनि गुटगत स्वार्थ र राजनीतिक हस्तक्षेपबाट अछुतो रहेनन्। यसरी राज्यका आधारभूत संरचनाहरूमा नै विकृति मौलाउँदै गएपछि आम नागरिकको आस्था खस्कँदै गयो।

    भ्रष्टाचार आज नेपालमा क्यान्सर सरहको समस्या बनेको छ। नेताहरू लगायत अधिकांश उच्च ओहदामा कार्यरत शक्तिशाली व्यक्तिहरूले कानुनलाई आफ्नो सुविधा अनुसार तोडमोड गर्ने, सार्वजनिक पदलाई निजी सम्पत्ति आर्जन गर्ने माध्यम बनाउने, नातागोता र चाकरीबाजलाई मात्र अवसर दिने प्रवृत्तिले मुलुकलाई खस्काउँदै लगेको छ। सामान्य जनताले कर तिर्नुपर्ने बाध्यता छ तर त्यही कर नेताहरूको विलासी जीवनमा खर्च भइरहेको छ। बजेटको बाँडफाँडदेखि नियुक्तिसम्ममा गुटगत स्वार्थ हाबी छ। यस्तो अवस्थामा योग्य र इमानदार व्यक्तिहरूलाई अघि बढ्न लगभग असम्भवजस्तै भएको छ। श्रम र सीपमा आधारित प्रतिस्पर्धात्मक समाज बन्न नसक्दा हजारौँ युवाहरू निराश हुँदै वैदेशिक रोजगारीमा पलायन हुन विवश छन्। जब देशकै युवा आफ्नो क्षमताले योगदान दिन नपाई विदेशमा पसिना बगाउन बाध्य हुन्छन्, त्यो केवल व्यक्तिगत पीडा होइन, राष्ट्रिय क्षतिपनि हो।

    यस्तो अवस्थामा नेपालका युवाहरू, विशेषगरी जेन जी अर्थात् जेन जेड पुस्ता, मौन बस्न सक्ने अवस्थामा छैनन्। सन् १९९७ देखि २०१२ बीच जन्मिएका यी युवाहरू अहिले किशोरदेखि युवावस्थासम्म पुगेका छन्। उनीहरू पहिलो डिजिटल पुस्ता हुन् जसले इन्टरनेट, स्मार्टफोन र सामाजिक सञ्जालसँगै हुर्केका छन्। उनीहरूको सोच, मूल्य र दृष्टिकोण पुराना पुस्ताभन्दा भिन्न छ। उनीहरूले न्याय, समानता, मानवअधिकार, वातावरण संरक्षण, विविधता र सुशासनलाई प्राथमिकता दिन्छन्। उनीहरू व्यक्तिगत लाभभन्दा सामूहिक भलाइ र दीर्घकालीन भविष्य निर्माणतर्फ बढी सचेत छन्। यही कारणले गर्दा उनीहरूले सुरु गरेको आन्दोलन कुनै क्षणिक असन्तुष्टि होइन, बरु लामो समयदेखि संचित पीडा र आक्रोशको विस्फोट हो।

    जेन जेडले सुरु गरेको आन्दोलन नेपालका लागि ऐतिहासिक महत्त्व राख्छ। उनीहरूले सडकमा उत्रेर शान्तिपूर्ण तरिकाले आवाज उठाएका छन्। उनीहरूको भनाइ छ—’हामी अन्तिम पुस्ता हौँ जसलाई ठग्न सकिन्छ, अब हामीलाई धोका दिन सकिँदैन।’ यस वाक्यमा एउटा पुस्ताको आत्मसम्मान, आक्रोश र भविष्यप्रतिको प्रतिबद्धता लुकेको छ। यो आन्दोलन कुनै राजनीतिक दल वा व्यक्तिको स्वार्थका लागि होइन, सम्पूर्ण राष्ट्र र भावी पुस्ताको भविष्यका लागि हो। जेन जेडले अब पुरानै शैलीको राजनीति र शासन सहने छैनन्। उनीहरूले नयाँ संस्कृतिको सुरुवात गरेका छन्, जहाँ पारदर्शिता, जवाफदेही र योग्यताको कदर अनिवार्य हुनेछ।

    नेपालमा अघिल्ला राजनीतिक आन्दोलनहरू प्रायः कुनै दल वा विचारधाराको स्वार्थमा केन्द्रित हुने गर्थे। जनतालाई संघर्षमा उतारेर सत्तामा पुगेपछि नेताहरूले फेरि उही बेथिति दोहोर्याउने गर्थे। तर, यो आन्दोलन फरक छ। यो आन्दोलन दलको स्वार्थमा होइन, राष्ट्रकै हितमा केन्द्रित छ। यसैले यसले लोकतान्त्रिक अभ्यासलाई नयाँ आयाम दिन सक्छ। यदि सफल भयो भने दीर्घकालीन रूपमा पारदर्शिता र जवाफदेहितामा आधारित शासन प्रणाली निर्माण हुने सम्भावना छ।

    तर, आन्दोलनलाई सफल बनाउन गाह्रो छ भन्ने कुरा पनि स्पष्ट छ। राजनीतिक दलहरूले यसलाई कमजोर पार्ने षड्यन्त्र गर्ने, बदनाम गर्ने वा आफ्नो स्वार्थमा प्रयोग गर्ने प्रयास गर्न सक्छन्। केही समूहहरूले हिंसात्मक गतिविधि गराएर आन्दोलनलाई असफल देखाउन खोज्न सक्छन्। त्यसैले, जेन जेड पुस्ताले उच्च अनुशासन, स्पष्ट रणनीति र पारदर्शी नेतृत्व कायम गर्नुपर्ने हुन्छ। आन्तरिक एकता र दीर्घकालीन सहकार्य बिना आन्दोलन कमजोर पर्न सक्छ। आन्दोलनलाई निरन्तरता दिन आस्था, धैर्य र संयम अपरिहार्य हुन्छ।

    यस आन्दोलनको अर्को महत्त्वपूर्ण पक्ष भनेको यसले पाएको व्यापक समर्थन हो। मुलुकभित्रका नागरिक मात्र होइन, विदेशमा रहेका प्रवासी नेपालीहरूले पनि यसलाई खुलेर समर्थन गरेका छन्। सामाजिक सञ्जालमार्फत अन्तर्राष्ट्रिय मञ्चमा पनि यसको चर्चा हुन थालेको छ। यसले आन्दोलनलाई थप शक्ति दिएको छ। जब युवाहरूको आन्दोलनमा बौद्धिक वर्ग, सचेत नागरिक, पत्रकार, कलाकार र प्रवासी नेपालीहरूको साथ हुन्छ, तब यसको प्रभाव अझ व्यापक हुन्छ। यो केवल सडकमा सीमित नहुने, विचार, बहस र चेतनामा समेत विस्तार हुने सम्भावना बढ्छ।

    जेन जेडको आन्दोलनले नेपालको लोकतान्त्रिक अभ्यासलाई शुद्ध बनाउन सक्छ। लोकतन्त्र केवल निर्वाचनमा मत खसाल्ने प्रक्रियामात्र होइन, बरु शासन प्रणालीमा पारदर्शिता, जवाफदेहित्ता र योग्यताको कदर गर्ने संस्कृतिमा आधारित हुनुपर्छ। विगतमा नेपालको लोकतान्त्रिक अभ्यास प्रायः केवल शक्ति संघर्षमा सीमित रह्यो, जसमा जनताको सपना दोहोरिँदै धोका पाइरह्यो। तर, यो आन्दोलनले लोकतन्त्रलाई नागरिकमैत्री, पारदर्शी र जवाफदेही बनाउन सक्छ। यसले नेतृत्वको अर्थ नै बदल्न सक्छ—नेता पद र सम्पत्तिका लागि होइन, सेवा र जिम्मेवारीका लागि हुनुपर्ने चेतना फैलाउन सक्छ।

    नेपाल आज crossroads मा छ। एकातिर भ्रष्टाचार, नातावाद, कृपावाद र लुटतन्त्रको दलदल छ भने अर्कोतिर सुशासन, पारदर्शिता र विकासको सम्भावना छ। यो सम्भावनालाई साकार पार्ने जिम्मेवारी अहिलेको पुस्ता, विशेषतः जेन जेडको काँधमा आएको छ। उनीहरूले सुरु गरेको आन्दोलन केवल क्षणिक प्रतिक्रिया होइन, यो ऐतिहासिक पुनर्जागरणको प्रारम्भ हो। यदि यो आन्दोलन सफल भयो भने नेपालमा दीर्घकालीन रूपमा न्याय, समानता, पारदर्शिता र योग्यताको कदर गर्ने संस्कृतिको विकास हुनेछ।

    यस आन्दोलनलाई सफल बनाउन सबै नागरिकको समर्थन आवश्यक छ। केवल जेन जेडले मात्र होइन, सम्पूर्ण नेपाली जनताले यसलाई आफ्नो आन्दोलन बनाउनुपर्छ। बौद्धिक वर्ग, सचेत नागरिक र इमानदार नेताहरूले सत्य पक्षमा बोल्नुपर्छ। प्रवासी नेपालीहरूले पनि आफ्ना स्रोत, विचार र अनुभवमार्फत आन्दोलनलाई बल दिनुपर्छ। यसरी मुलुकभित्र र बाहिरबाट आएको समर्थनले आन्दोलनलाई अझ सशक्त बनाउन सक्छ।

    यदि नेपालमा यो आन्दोलन सफल भयो भने भविष्यका पुस्ताले आज हामीले भोगिरहेको पीडा, अन्याय र असमानता भोग्नुपर्ने छैन। सुशासन, समानता, न्याय र योग्यताको कदर गर्ने वातावरण निर्माण हुनेछ। युवाहरू विदेश पलायन हुनुपर्ने बाध्यता घट्नेछ र उनीहरूले आफ्नै देशमा योगदान दिन सक्ने वातावरण बन्नेछ। नेपाल विश्वको नक्सामा एउटा समृद्ध, शान्त र पारदर्शी राष्ट्रको रूपमा चिनिनेछ।

    निष्कर्षमा भन्नुपर्दा, जेन जेड पुस्ताले सुरु गरेको भ्रष्टाचारविरुद्धको आन्दोलन केवल युवाको विद्रोह होइन, सम्पूर्ण नेपाली जनताको साझा पीडा र आकांक्षाको प्रतिनिधित्व हो। यो आन्दोलनले नेपाललाई नयाँ दिशा दिने, पारदर्शिता र सुशासनमा आधारित भविष्य निर्माण गर्ने सम्भावना बोकेको छ। यो केवल आन्दोलन मात्र होइन, नेपालको इतिहासमा नयाँ अध्याय सुरु गर्ने ऐतिहासिक पुनर्जागरण हो।

    –लेखक दार्चुला बहुमुखी क्याम्पस सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक हुन् ।

     

  • तस्बिरमा हेर्नुहाेस् बानेश्वरतर्फ अघि बढेकाे जेन–जीको जुलुस

    तस्बिरमा हेर्नुहाेस् बानेश्वरतर्फ अघि बढेकाे जेन–जीको जुलुस

    भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध विरुद्ध जेन–जी पुस्ताका युवाहरु सडकमा आएका छन् । भ्रष्टाचार, नातावाद र कृपावादका कारण युवाको पलायनलगायतका कारण देखाउँदै जेनजी पुस्ताले विरोध थालेका हुन् ।

    जेनजीको प्रदर्शनलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको छ। उनीहरूले केपी तेरो पाराले दुख पायो साराले, नालायक सरकार मुर्दावाद , केपी चोर देश छोड जस्ता नाराहरु लगाइरहेका छन् ।

    हेर्नुस् तस्बिर :

  • नेपालका प्रमुख सहरहरूमा जेनजी पुस्ताको प्रदर्शन: एक ऐतिहासिक युवा आन्दोलन

    नेपालका प्रमुख सहरहरूमा जेनजी पुस्ताको प्रदर्शन: एक ऐतिहासिक युवा आन्दोलन

    नेपालका प्रमुख सहरहरूमा जेनजी पुस्ताले सरकारको सामाजिक सञ्जाल बन्द गर्ने निर्णय र भ्रष्टाचारविरुद्ध व्यापक प्रदर्शन सुरु गरेका छन्। यस आन्दोलनको मुख्य उद्देश्य अभिव्यक्ति स्वतन्त्रता र पारदर्शिता सुनिश्चित गर्नु हो।

    काठमाडाैंकाे माइतीघर मण्डलामा बिहान ११ बजेदेखि प्रदर्शन सुरु भएको छ। यहाँ हजारौं युवाहरू राष्ट्रिय झण्डा र प्लेकार्डसहित उपस्थित भएका छन्। उनीहरूले ‘Enough is Enough’, ‘Stop Corruption’, ‘We Are the Future’ जस्ता नारा लगाएका छन्।

    यसैगरी, पोखराको प्रमुख चोकहरूमा पनि प्रदर्शन भइरहेको छ। यहाँका युवाहरू वर्षा र हावाहुरीको बीचमा पनि प्रदर्शनमा सक्रिय छन्।

    त्यस्तै, नवलपरासीकाे कावासोतीमा पनि विभिन्न कलेजमा अध्ययनरत विद्यार्थी भ्रष्टाचारको विरोधमा उत्रिएका छन्। कावासोतीको मध्यविन्दु, कुमारवर्ती र लुम्बिनी कलेजमा अध्ययनरत विद्यार्थी कावासोतीस्थित महेन्द्र राजमार्गमा प्रर्दशन गरेका हुन् । पोसाकसहित आएका उनीहरुले भ्रष्ट सरकार मुर्दावाद, हाम्रो कर फिर्ता गर, भ्रष्टाचारी सार्वजनिक गर, जेन-जी आन्दोलन हाइहाई जस्ता नारा उनीहरुले लगाएका छन् ।

    यसैगरी, दाङ, बुटवललगायतका सहरहरूमा पनि जेनजी पुस्ताका सदस्यहरूले प्रदर्शन गरेका छन्। यहाँका युवाहरूले सामाजिक सञ्जालको बन्दीकरण र भ्रष्टाचारविरुद्ध आवाज उठाएका छन्।

    सरकारले २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि जेनजी पुस्तामा आक्रोश फैलिएको हो। यसले उनीहरूको सिर्जनात्मकता र अभिव्यक्तिलाई सीमित गरेको भन्दै उनीहरूले सडकमा उत्रेर विरोध जनाएका छन्। टिकटक, यूट्यूब र अन्य सामाजिक सञ्जालमा प्रदर्शनका लागि तयार गरिएका भिडियो र पोस्टहरू भाइरल भएका छन्। यसले आन्दोलनलाई थप बल र समर्थन दिएको छ।

  • माइतीघरमा जेनजीको सशक्त प्रदर्शन, पाँच सयभन्दा बढी प्रहरी परिचालन

    माइतीघरमा जेनजीको सशक्त प्रदर्शन, पाँच सयभन्दा बढी प्रहरी परिचालन

    काठमाडौँ। नयाँ पुस्ताका युवा (जेनजेड)हरुले भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयविरुद्ध माइतीघर मण्डलामा सशक्त प्रदर्शन गरेका छन् ।

    स्वत:स्फूर्त रुपमा भेला भएका उनीहरुले ‘जेनजी पुस्ता चिच्याउँछ, भ्रष्टहरुलाई गिज्याउँछ’, ‘स्वतन्त्र आवाज हाम्रो अधिकार’, ‘स्टप करप्सन’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरे । कतिपय विद्यार्थी स्कुल र कलेजको पोशाकमै सडकमा उत्रिएका छन् ।

    यसअघि सामाजिक सञ्जालमा सीमित आक्रोशलाई पहिलोपटक सडकमा उतारेका जेनजेडलाई विभिन्न पेशा, व्यवसायी, कलाकार र स्वतन्त्र युवाले समर्थन गरेका छन् । उनीहरुले राजनीतिक दलका भ्रातृ संगठनलाई भने प्रदर्शनमा नआउन आग्रह गरेका छन् ।

    सुरक्षा संवेदनशीलता बढेपछि माइतीघर र नयाँ बानेश्वर क्षेत्रमा कडा सुरक्षा व्यवस्था मिलाइएको छ । काठमाडौँ प्रहरी परिसरका एक अधिकारीका अनुशार माइतीघर र बानेश्वर क्षेत्रमा सुरक्षा कडाई पारिएको छ ।

    प्रदर्शन स्थलमा ६ जना डीएसपीसहित करिब पाँच सय प्रहरी खटिएका छन् । उपत्यकाभर करिब २५ सय सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी स्रोतले जनाएको छ । प्रमुख जिल्ला अधिकारी छवि रिजालको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले प्रदर्शनको प्रकृतिअनुसार रणनीति परिवर्तन गर्ने निर्णय पनि गरेको थियो ।

    युवाहरूले सामाजिक सञ्जालमार्फत ‘नेपो बेबी’ ट्रेन्ड समेत चलाएका छन् । नेताका छोराछोरीले पदको आडमा विशेष सुविधा लिएको भन्दै उनीहरूको विरोध सुरु भएपछि नेताका निवास वरिपरि पनि सुरक्षा कडाइ गरिएको छ ।

  • ‘नेपोबेबी ट्रेन्ड’ जेनजी पुस्ताको चेतना : नेपालमा नयाँ सामाजिक आन्दोलन

    ‘नेपोबेबी ट्रेन्ड’ जेनजी पुस्ताको चेतना : नेपालमा नयाँ सामाजिक आन्दोलन

    नेपालमा पछिल्लो समय सामाजिक सञ्जालमार्फत सुरु भएको ‘नेपोबेबी’ ट्रेन्ड केवल एक डिजिटल चलन मात्र होइन, यो जेनजी (Gen Z) पुस्ताको स्वतःस्फूर्त सामाजिक चेतना र राजनीतिक सचेतनाको संकेत हो। नेताका छोराछोरी र प्रभावशाली परिवारका सन्तानहरूको विलासी जीवनशैलीलाई लिएर उठाइएको यो आवाजले नेपालमा युवा वर्गको नयाँ सोच प्रस्तुत गरेको छ।

    सामान्य नागरिकका सन्तान अझै स्वास्थ्य, शिक्षा र आधारभूत आवश्यकताबाट वञ्चित छन्, तर राजनीतिक परिवारका छोराछोरी विदेशी ब्राण्ड, महँगा गाडी र भव्य जीवनशैलीमा रमाइरहेका छन्। यही असमानताले जेनजी पुस्तामा असन्तोष र प्रश्न उठाएको छ। ‘मैले दिनरात काम गर्नुपर्छ, किनभने मैले नेताका छोराछोरीको आलिशान जीवनशैलीका लागि कर तिर्नुपर्छ’ जस्ता नाराहरूले युवाको आक्रोश प्रस्ट देखाउँछ।

    टिकटक, रेडिट र इन्स्टाग्राम जस्ता प्लेटफर्महरूमा चलिरहेको यो ट्रेन्डले जनताको वास्तविक असमानता र पारिवारिक विशेषाधिकारको उजागर गर्न मद्दत गरेको छ। अब मात्र डिजिटल आवाज नभई सोमबारदेखि सडकमा स्वतस्फूर्त आन्दोलनको घोषणा पनि गरिएको छ। यसले स्पष्ट देखाएको छ कि युवा पुस्ता केवल आलोचना मात्र होइन, सक्रिय सहभागिता र परिवर्तनका लागि तयार छ। नेपाली राजनीति लामो समयदेखि केही परिवारको प्रभुत्वमा सीमित रहँदै आएको छ।

    नेताका सन्तानहरूको विलासी जीवनशैलीमाथि उठेका प्रश्नहरूले राजनीतिक पारिवारिक वंशवादको अन्त्यको आवश्यकता दर्शाउँछ। नेताका सन्तान भन्दै अहिले जयवीर सिंह, श्रृङ्खला खतिवडा, स्मिता दाहाल, एन्जिला बस्नेतदेखि एकता ढकालसम्म अहिले युवाकाे नजरमा ताराे बनेका छन् । उल्लेखित यी पात्ररहरुलाई ताराे बनाउनु उचित हाेइन । तर एउटा कुरा भने स्पष्ट छ, जेनजी पुस्ता केवल भ्रष्टाचार वा व्यक्तिगत विलासिताविरुद्ध नभई सार्वजनिक स्रोत र अवसरको न्यायपूर्ण प्रयोगको माग गर्दैछ।  समाज र सरकारका लागि सन्देश स्पष्ट छ, जेनजी पुस्तालाई गाली र बेवास्ता गरेर वा सामाजिक सञ्जाल बन्द गरेर निस्तेज बनाउन सकिँदैन। उनीहरूको प्रश्न र आक्रोश देशको भविष्य र राजनीतिक सुधारमा निर्णायक शक्ति हुन सक्छ।

    यसैले आवश्यक छ, सरकार र राजनीतिक नेतृत्व युवा पुस्तासँग संवादमा सामेल होस्, पारदर्शिता र जवाफदेहिता सुनिश्चित गरोस्, र उनीहरूको आवाजलाई केवल चुनौतीको रूपमा होइन, सकारात्मक परिवर्तनको अवसरको रूपमा लिनुपर्छ। नेपोबेबी ट्रेन्ड केवल आलोचना होइन, यो नेपालका लागि सामाजिक न्याय, समान अवसर र जवाफदेहिता सुनिश्चित गर्ने अभियानको प्रारम्भ हो। युवा पुस्ताले देखाएको चेतना र सक्रियताले देशलाई अझ लोकतान्त्रिक, पारदर्शी र न्यायपूर्ण मार्गतर्फ अघि बढाउन सक्छ।

  • विश्वका यी देश जहाँ सामाजिक सञ्जाल प्रतिबन्धित छन्

    विश्वका यी देश जहाँ सामाजिक सञ्जाल प्रतिबन्धित छन्

    नेपालमा कानुनी रूपमा दर्ता हुन नआएको भन्दै सरकारले फेसबुक, युट्युब, ह्वाट्सएप लगायतका सामाजिक सञ्जाल बन्द गरेको छ। फलस्वरूप, अहिले नेपालमा फेसबुक, युट्युब, ह्वाट्सएप, इन्स्टाग्राम, टिकटक, एक्स, टेलिग्राम, स्न्यापच्याट लगायतका सामाजिक सञ्जाल चलेका छैनन् ।

    सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको निर्देशनअनुसार सेवा प्रदायक कम्पनीहरूले बिहीबार बेलुकैदेखि सामाजिक सञ्जालहरू बन्द गरेका हुन्। मन्त्रालयका अनुसार पटक पटक ताकेता गर्दा पनि कम्पनीहरूले नेपालमा दर्ता भएर कार्यालय स्थापना नगरेको, सम्पर्क व्यक्ति नतोकेको आधारमा प्रतिबन्ध लगाइएको हो।

    यस कदमसँगै सामाजिक सञ्जालमा आश्रित सञ्चार माध्यम, उद्यम तथा व्यवसाय, विदेशमा रहेका नेपालीले नेपालमा रहेका परिवारजनसँग गर्ने नियमित संवाद, विभिन्न प्रचारप्रसारजन्य गतिविधि ठप्पप्राय बन्न पुगेको छ ।

    सरकारको यस निर्णयको व्यापक विरोध भइरहेको छ । सामाजिक सञ्जाल बन्द हुँदा अधिकांश प्रयोगकर्ताहरु सरकारसँग आक्रोशित देखिएका छन् । केहीले भिपिएनमार्फत सञ्जाल चलाउने प्रयास गरिरहेका छन्।

    सरकारले भने सामाजिक सञ्जाल कम्पनीहरू नेपालमा दर्ता भई कानुनी दायित्व पूरा गर्न तयार भएमा प्रतिबन्ध तत्काल हट्ने अभिव्यक्ति दिइरहेको छ।

    नेपाल लोकतान्त्रिक मूल्यमान्यता अँगालेको खुला देश भएकाले सामाजिक सञ्जाल वा अन्य माध्यमबाट अभिव्यक्ति स्वतन्त्रता खोस्ने कार्य समाजका लागि अस्वीकार्य हुन्छ । तर विश्वमा त्यस्ता देश पनि छन् जहाँ सामाजिक सञ्जालहरू पूर्ण रूपमा प्रतिबन्धित छन् । केही देशमा भने बेला बेलामा केही महिना, साता वा दिनका लागि प्रतिबन्ध गर्ने गरिएको छ ।

    चीन

    चीनमा फेसबुक, इन्स्टाग्राम, ट्विटर (हाल एक्स्), युट्युब, ह्वाट्सएप , गुगल, स्न्यापच्याट, र रेडिटजस्ता सबै प्रमुख सामाजिक सञ्जालहरू स्थायी रूपमा नै बन्द छन्। यो प्रतिबन्ध चिनियाँ सरकारको “ग्रेट फायरवाल” अन्तर्गत गरिएको हो, जसले विदेशी सूचना नियन्त्रण गर्न मद्दत गर्दछ। यस कदमको मुख्य उद्देश्य सूचना स्वतन्त्रतामाथि नियन्त्रण राख्नु र विदेशी प्रभावबाट बच्नु हो। चीनले केही चर्चित अन्तर्राष्ट्रिय सामाजिक सञ्जालहरू, जस्तै: फेसबुक, ट्विटर र युट्युब बन्द गरेको भए पनि आफैँले विकास गरेका सामाजिक सञ्जालहरू व्यापक रूपमा प्रयोग गरिरहेको छ। चीनमा हाल विच्याट, डोउयिन, वीबो, कुवाइशोउ, क्सियाओहोंगशु लगायतका प्लेटफर्महरू लोकप्रिय छन्।

    इरान

    इरानमा पनि फेसबुक, इन्स्टाग्राम, ट्विटर, युट्युब, ह्वाट्सएप, टेलिग्रामजस्ता सामाजिक सञ्जालहरू प्रायः स्थायी रूपमा प्रतिबन्धित छन्। यो प्रतिबन्ध सरकारले प्रदर्शन नियन्त्रण गर्ने, पश्चिमी मूल्य मान्यताहरू रोक्ने तथा सरकारी आलोचना दबाउने उद्देश्यले लगाएको हो। कहिलेकाहीँ यी सञ्जालहरू आंशिक रूपमा खुल्ला हुने भए पनि अधिकांश समय प्रतिबन्धित नै रहन्छन्। यस्ता प्रतिबन्धपछि इरानले बेल मेसेन्जर, सुरुश, एइटा, रुबिका जस्ता आफ्नै सञ्जालहरू विकास गरी सञ्चालन गरिरहेको छ, जुन सरकारको निगरानीमा चलाइन्छ।

    उत्तर कोरिया

    उत्तर कोरियामा सबै प्रकारका विदेशी सामाजिक सञ्जालहरू पूर्ण रूपमा प्रतिबन्धित छन्। त्यहाँको इन्टरनेट प्रयोग अत्यन्त सीमित छ र सामान्य नागरिकहरूलाई बाह्य विश्वसँग जोड्ने कुनै स्वतन्त्र पहुँच छैन। प्रतिबन्धको मुख्य कारण सूचना नियन्त्रण र सरकारको पूर्ण नियन्त्रणमा समाज राख्नु हो। नेपालमा पनि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइएपछि कतै उत्तर कोरिया बनाउन लागिएको त होइन भनेर चर्चा सुरु हुन लागेको छ । उत्तर कोरियालीहरूले विश्वका चर्चित सामाजिक सञ्जाल प्रयोग गर्न पाउँदैनन्। उनीहरूले सरकारद्वारा सञ्चालित क्वाङम्याङ (ब्राइट स्टार) नामक राष्ट्रिय इन्ट्रानेटका माध्यमबाट रेड स्टार अपरेटिङ सिस्टम, राक्वोन भिडियो बैठक प्लेटफर्म, मानबाङ स्ट्रिमिङ सेवा र नाएनारा सरकारी पोर्टल जस्ता सीमित र नियन्त्रण गरिएका सञ्जालहरू प्रयोग गर्छन्। यी सबै सञ्जालहरू कडा निगरानीमा सीमित व्यक्तिहरूले मात्र सञ्चालन गरिरहेका छन् ।

    तुर्कमेनिस्तान

    तुर्कमेनिस्तानमा फेसबुक, ट्विटर, युट्युब र टेलिग्राम जस्ता सामाजिक सञ्जालहरू स्थायी रूपमा बन्द छन्। सरकारले स्वतन्त्र सञ्चार माध्यममा पूर्ण नियन्त्रण राखेको छ र विदेशी विचारधाराको प्रवेश रोक्न प्रतिबन्ध लगाइएको हो। तुर्कमेनिस्तानमा विश्वका धेरै लोकप्रिय सामाजिक सञ्जालहरू प्रतिबन्धित भए पनि सरकारद्वारा अनुमति प्राप्त घरेलु तथा सीमित नेटवर्कहरू चलिरहेका छन्। मुख्यतया, तुर्कमेनिस्तानस इलेकट्रोन मिडियाका केही सरकारी वेबसाइटहरू र सञ्चारका लागि स्थानीय प्लेटफर्महरू प्रयोगमा छन्।

    म्यानमार

    सन् २०२१ को सैनिक कु पछिको अवस्थाबाट म्यानमारमा फेसबुक, ट्विटर र इन्स्टाग्राममा लगातार प्रतिबन्ध लगाइएको छ। सरकारले विरोध प्रदर्शनहरू नियन्त्रण गर्न र आफ्नो सैन्य शासनको आलोचना रोक्न यस्ता कदम चालेको हो। यद्यपि, कहिलेकाहीँ केही प्लेटफर्महरू फेरि खुलाइए पनि स्थिर रूपमा भने खुला छैनन्।

    भारत

    छिमेकी मुलुक भारतमा सामाजिक सञ्जालहरूमा स्थायी रूपमा प्रतिबन्ध छैनन् । तर विभिन्न क्षेत्रीय घटना घट्दा अस्थायी रूपमा सञ्जाल प्रतिबन्ध गरिएको देखिन्छ। उदाहरणका लागि, नागरिकता संशोधन कानुन विरोधका बेला, जातीय दङ्गा, वा चुनावको समयमा विशेष गरी कश्मीर, मणिपुरजस्ता क्षेत्रमा फेसबुक, एक्स र इन्स्टाग्राम केही समयका लागि बन्द गरिएको थियो। सरकारले यसलाई “कानुनी व्यवस्था कायम राख्न” आवश्यक कदम बताउने गरेको छ । चर्चित चिनियाँ सामाजिक सञ्जाल प्लेटफर्म टिकटक भने केही समयअघि देखी नै भारतमा प्रतिबन्धित छ ।

    पाकिस्तान

    पाकिस्तानमा राजनीतिक अशान्ति वा विरोध प्रदर्शनको समयमा फेसबुक, ट्विटर, युट्युब, र इन्स्टाग्राम जस्ता प्लेटफर्महरूलाई अस्थायी रूपमा ब्लक गरिएको उदाहरणहरू छन्। विशेषतः सन् २०२३ र २०२४ मा इमरान खानविरुद्धका आन्दोलनहरूका बेला पाकिस्तानमा सामाजिक सञ्जाल प्रतिबन्ध गरिएको थियो ।

    श्रीलङ्का

    सन् २०२२ को सरकार विरोधी आन्दोलनका क्रममा दक्षिण एसियाली मुलुक श्रीलङ्काले फेसबुक, इन्स्टाग्राम, र ह्वाट्सएपलाई केही समयका लागि प्रतिबन्ध लगाएको थियो। सरकारले सार्वजनिक रूपमा असन्तोष फैलन नदिन यस्तो निर्णय गरेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जानकारी गराएका थिए ।

    रुस

    रुसले सन् २०२२ मा युक्रेनसँगको युद्ध सुरु भएपछि फेसबुक र इन्स्टाग्रामलाई “अतिरेकवादी संस्था” घोषणा गर्दै प्रतिबन्ध लगाएको हो। रुसमा ट्विटरमाथि पनि नियन्त्रण लगाइएको छ। यस किसिमका प्रतिबन्धले सूचना प्रवाहमा बाधा ल्याउने र विरोधीका आवाजलाई दबाउने गर्छ भन्ने जनबुझाइ रहेको छ।

    बङ्गलादेश

    दक्षिण एसियाली मुलुक बङ्गलादेशमा पनि केही समय अगाडी भएको छात्र आन्दोलन र चुनावताका पनि सामाजिक सञ्जालहरू ब्लक गरिएका थिए। बङ्गलादेशमा यस्ता प्रतिबन्ध अल्पकालीन भए पनि पछिल्लो समय नियमित रूपमा दोहोरिइरहेको देखिन्छ ।

    टर्की

    टर्कीमा आतङ्कवादी आक्रमण वा विशेष राजनीतिक घटना भइरहेका बेला फेसबुक, युट्युब, र ट्विटर केही समयका लागि रोक्ने गरिएको छ। सरकारको भनाइलाई मान्ने हो भने यो कदम अफवाह रोक्नको लागि गरिन्छ, तर यसलाई अभिव्यक्ति स्वतन्त्रता माथिको आक्रमणका रूपमा टर्कीका जनताले विश्लेषण गर्छन् ।सन् २०१९ मा चुनावपछिको हिंसापछि इन्डोनेसियाले फेसबुक र ह्वाट्सएपको सेवा आंशिक रूपमा बन्द गर्‍यो। अफवाह फैलन नदिन यस्तो कदम चालिएको हो भनेर सरकारले जवाफ दिएको थियो ।

    साउदी अरब

    साउदी अरबमा सामाजिक सञ्जालहरू पूर्ण रूपमा प्रतिबन्धित छैनन्, तर सबै सञ्जालहरू सरकारद्वारा तीव्र निगरानीमा राखिन्छ । ह्वाट्सएप, स्काइप र फेस टाइमजस्ता सञ्जालहरू भने ब्लक गरिएका छन्।

    युएई

    युएईमा पनि सामाजिक सञ्जाल खुला भए पनि ह्वाट्सएप कल, स्काइप र फेस टाइमजस्ता सेवाहरू प्रयोग गर्न रोक लगाइएको छ।

    भियतनाम

    भियतनाममा सामाजिक सञ्जाल प्रयोग गर्न पाइन्छ । तर सरकारले यसको कडा निगरानी गरिरहेको छ र सरकारको आलोचना गर्ने सामग्री तुरुन्त हटाउन लगाउँछ।

  • काठमाडौंमा जेन–जीलाई शान्तिपूर्ण प्रदर्शनको अनुमति

    काठमाडौंमा जेन–जीलाई शान्तिपूर्ण प्रदर्शनको अनुमति

    जेन–जी समूहले काठमाडौंको माइतीघर–नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय पुगेपछि प्रशासनले उनीहरूलाई निषेधित क्षेत्र बाहेक अन्य स्थानमा शान्तिपूर्ण प्रदर्शन गर्न अनुमति दिएको छ।

    काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजालले जेन–जीका प्रतिनिधिहरू प्रशासन कार्यालयमा आएको पुष्टि गर्दै, “उहाँहरू भोलिको प्रदर्शनका लागि आउनुभएको थियो। निषेधित क्षेत्र बाहेक शान्तिपूर्ण प्रदर्शन गर्न अनुमति दिएका छौं,” भन्ने जानकारी दिए।

    सरकारद्वारा सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध, देशमा फैलिएको भ्रष्टाचार, तथा नेताहरू र उनीहरूका सन्तानको भड्किलो जीवनशैलीप्रति विरोध जनाउँदै जेन–जी समूहले सोमबार प्रदर्शन गर्ने घोषणा गरेका छन्।